काठमाडौं : बंगलादेशमा मंगलबार सम्पन्न दक्षिण एसियाली बास्केटबल (सावा) च्याम्पियनसिपमा नेपालले कांस्य पदक जितेको छ । ढाकाको धनमुन्डी जिम्नेजियममा भएको च्याम्पियनसिपको अन्तिम खेलमा आयोजक राष्ट्र बंगलादेशले माल्दिभ्सलाई ६९, ५४ ले पराजित गर्दै स्वर्णपदक हात पार्यो । पाकिस्तान दोस्रो भयो ।
च्याम्पियनसिपमा अपराजित हुँदै बंगलादेशले अन्तर्राष्ट्रिय बास्केटबलमा पहिलो उपाधि हात पारेको हो । नेपाल पहिलो सावा च्याम्पियनसिपमा पनि तेस्रो भएको थियो । दिल्लीमा भएको मिड एसियन छनोट खेलमा पनि नेपाल तेस्रो भएको थियो ।
च्याम्पियनसिपमा बंगलादेश नेपाल, भुटान, माल्दिभ्स र पाकिस्तानलाई पराजित गर्दै अंक तालिकामा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा आएको पाकिस्तानले भने बंगलादेशससँग मात्र पराजय बेहोरेको थियो । नेपालले खेलेको चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्यो । नेपालले माल्दिभ्स र भुटानलाई हराएको थियो भने बंगलादेश र पाकिस्तानविरुद्ध पराजय सामना गरेको थियो ।
नेपाली टोलीका प्रशिक्षक दिनेश नकर्मीले बंगलादेश र पाकिस्तानले उचाइको फाइदा लिएको बताए । उनले भने, ‘नेपाली टोलीले टेक्निकल खेल देखायो तर उचाइले अप्ठ्यारो बनायो ।’
तेस्रो संस्करण नेपालमा
सावा च्याम्पियनसिपको तेस्रो संस्करण नेपालमा हुने भएको छ । ढाकामा बसेको सावाको बैठकले सन् २०१४ मा हुने आगामी संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेको नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिए ।
उनले भने, ‘सबै सहभागी राष्ट्रले अब सावा च्याम्पियनसिप नेपालमा हुनुपर्छ भनेर प्रस्ताव राखेपछि बैठकले तेस्रो सावा च्याम्पियनसिप आयोजना गर्ने जिम्मा नेपाललाई दिएको हो ।’
काठमाडौंमा हुने च्याम्पियनसिपका लागि खेलाडी छनोट देखि अन्य प्राविधिक तयारीमा संघ जुटी हाल्ने लामाले बताए । उनले २०१४ को फ्रेब्रुअरीभित्र तेस्रो सावा च्याम्पियनसिप गर्ने गरी तयारी थाल्ने बताए । च्याम्पियनसिपको मिति आयोजकले तोक्न पाउने प्रावधान रहेको छ ।
यसैगरी सन् २०१३ भित्र नेपालमा नै सावा रेफ्री कोर्स हुने भएको छ । सावाको बैठकले सन् २०१३ भित्र सावा रेफ्री कोर्ष गर्नका लागि नेपाललाई जिम्बा दिएको हो । अध्यक्ष शेर्पाले सेप्टेम्बरतिर काठमाडौंमा रेफ्री कोर्स गर्ने जानकारी दिए । (सौस)
प्रतिक्रिया