आर्मी विजयी, एपिएफ रेलिगेसनबाट जोगियो

Nepal-Armyकाठमाडौं, ९ माघ : नेपाल आर्मी क्लबले दशरथ रंगशालामा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा सरस्वती युथ क्लबविरुद्ध सोमबार प्रभावशाली जित हात पारेको छ भने सशस्त्र प्रहरीको एपिएफले आफूलाई ए डिभिजनमै सुरक्षित राखिरहन सफलता हासिल गरेको छ । कजितसँगै आर्मी क्लब लिग तालिकामा ३२ अंकसहित पहिलो स्थानमा रहेको थ्री–स्टारपछि दोस्रो स्थानमा उक्लिएको छ । खेलको एकमात्र गोल राजु तामाङले ७८औँ मिनेटमा गरेका थिए ।

सिंगल चरणको पन्ध्रौँ तथा अन्तिम म्याच खेलेका दुवै टोलीमध्ये आर्मी १५ खेलबाट २८ अंकसहित लिग तालिकामा दोस्रो स्थानमा पुगेको हो । सरस्वती २३ अंकका साथ आठौँ स्थानमा छ । यससँगै आर्मी सुपर एट चरणमा सुरक्षित अवतरण गरेको भए पनि सरस्वतीले भने सरस्वतीले भने सुपर एटमा पुग्नका लागि अब जावलाखेल र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीचको खेलनतिजा कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
पुलिस टोली जावलाखेलविरुद्ध बराबरी अथवा पराजित भएमा सरस्वती क्लब सुपर लिगका लागि छनोट हुनेछ । तर, जावलाखेललाई पराजित गर्न सकेमा भने पुलिस टोली हेड टु हेडका आधारमा सरस्वतीलाई पछि पार्दै सुपर एटमा प्रवेश गर्नेछ ।
सोमबारको दोस्रो खेलमा एपिएफले लिगमा अस्थिर प्रदर्शन गर्दै आइरहेको फ्रेन्ड्स क्लब कोपुन्डोलविरुद्ध १–१ गोलले बराबरी गर्‍यो । अग्रता त फ्रेन्ड्सले डोडोजको गोलमार्फत २८औँ मिनेटमै लिइसकेको थियो लगत्तै दुई मिनेटपछि नै विक्रम लिम्बूले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए ।
खेल बराबरीमा सकिए पनि फ्रेन्ड्स १५ खेलबाट २५ अंकसहित सातौँ स्थानमा छ भने त्यति नै खेलबाट १६ अंक जोड्न सफल एपिएफ १२औँ स्थानमा छ । यो नतिजासँगै रेलिगेसनमा पर्ने तेस्रो टोली जावलाखेल र मध्यपुर युथ एसोसिएसनमध्ये एक हुने भएका छन् । जावलाखेलको १४ अंक छ भने मध्यपुरको १३ अंक छ ।
रेलिगेसनको खतरामा रहेका दुवै टोलीको बाँकी एक मात्र खेल तुलनात्मक तवरले बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्नुपर्ने छ, जसमा जावलाखेलले नेपाल पुलिसविरुद्ध र मध्यपुरले हिमालयन शेर्पाविरुद्ध भिड्नु पर्नेछ । बुधबार हुने खेलमा हिमालयनलाई पराजित गरेमा मध्यपुर रेलिगेसनमा परेर बी डिभिजन झर्नु पर्ने छैन तर पराजित भएमा भने मध्यपुरको समय फेरि एकपटक पछाडि फर्किने छ ।
सम्भावना त्यत्तिमै सकिँदैन । मध्यपुर र हिमालयन शेर्पाबीच खेल ड्र हुन गएमा मध्यपुरले पुलिस र जावलाखेलबीच हुने खेलको नतिजा कुर्नु पर्ने हुन्छ । त्यस खेलमा पुलिस विजयी भएमा हेड टु हेडका आधारमा जावलाखेल रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्नेछ । तर, रेलिगेसनमा नपर्नका लागि जावलाखेललाई खेल ड्र गरे पुग्छ । अर्कोतिर, जावलाखेल र मध्यपुर दुवैले आफ्ना अन्तिम खेल जितेर तीन–तीन अंक हासिल गरेको अवस्था आइलाग्यो भने हेड टु हेड रुलका आधारमा एपिएफसित अंक बराबरी भए पनि मध्यपुर हजारौँ प्रशंसकलाई निरास पार्दै मध्यपुर रेलिगेटेड हुनेछ । तर, मध्यपुर गठ्ठाघरका एक नियमित फुटबल दर्शक सुजन खतिवडा भन्छन्, ‘हामी मध्यपुरलाई ए डिभिजनमै खेलिरहेको हेर्न चाहन्छौँ ।’

प्रतिक्रिया