सिरियामा विद्रोहीलाई वार्ताको आह्वान

Syriyaबेरुत : सिरियाली सरकारले हतियार बिसाएर वार्तामा आउन विद्रोहीहरूलाई आह्वान गरेको छ । विदेशमन्त्री वालिद अल मोआलेमले सरकारी टेलिभिजनलाई आइतबार दिएको अन्तर्वार्तामा यस्तो आह्वान गरेका हुन् ।
सिरियामाथि विदेशी हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्ने आफूहरूको नीति रहेको उनले बताए । विद्रोहीले समेत उच्चस्तरीय राष्ट्रिय वार्तामा भाग लिनसक्ने र उनीहरूलाई कार्यकारी शक्तिसहितको नयाँ मन्त्रिमण्डलमा सामेल गरिने जानकरी विदेशमन्त्री वालिदले दिए । सिरियाली सरकारले केही दिनदेखि विद्रोहीलगायत अन्य नागरिक शक्तिसँग वार्ता गर्ने चासो देखाएको छ । यसलाई ‘सिरियाली जनप्रतिनिधि चयन कार्य’को संज्ञासमेत दिइएको छ । हतियार बोक्ने युवा समूहलाई लक्ष्य गरी वार्तामा आउन मन्त्री वादिलले आह्वान गरेको र नयाँ सिरिया निर्माणका लागि विपक्षीसमेतको साझेदारी आवश्यक रहेको उनले जिकिर गरेका छन् ।
अन्तर्वार्ताका क्रममा उनले कतार, साउदी अरब र टर्कीले सिरियाली विद्रोहीलाई आर्थिक सहयोग गरेको आरोपसमेत लगाए । त्यस्तै, अमेरिकाले आतंककारी संस्थाको संज्ञा दिएका अलकायदासँग आबद्ध जबाहत अल नुर्रा नामक चरमपन्थी संगठनले विश्वका २७ मुलुकबाट आतंकवादी जम्मा गरी सिरियाभित्र लडाएको समेत आरोप लगाए ।
गत महिना सिरियाली राष्ट्रपति बसर अल असदले विद्रोहीहरूलाई ‘आतंकवादी’ र ‘विदेशी दलाल’को संज्ञा दिँदै उनीहरूसँग कुनै प्रकारको सम्झौता नहुने बताएका थिए । साथै, असदले सिरियाली संकट समाधानका लागि शान्ति योजनासमेत प्रस्ताव गरेका थिए । सिरियामा मेलमिलापका लागि सम्मेलन आयोजना गर्न सकिने उल्लेख गरे पनि उनले ‘सिरियालाई धोका दिने’हरूलाई भने सम्मेलनमा सहभागि हुन नदिइने प्रस्ट पारेका थिए । सिरिया अहिले युद्धमा रहेको उल्लेख गर्दै उनले दुई/चार सिरियालीलाई हातमा लिएर विदेशीले सिरियाविरुद्ध आरम्भ गरेको युद्धको डटेर प्रतिरोध गर्न देशवासीसमक्ष आह्वान गरेका थिए ।
राष्ट्रपति असदको कडा अभिव्यक्तिबाट विद्रोही थप रुष्ट भएका बेला विदेशमन्त्री वालिदले वार्ताका लागि विद्रोहीलाई आह्वान गरेका हुन् । तर, विद्रोहीहरूले संकट समाधानका लागि वार्ताअघि राष्ट्रपति असदले पद त्याग गर्नुपर्ने सर्त तेस्र्याउँदै आएका छन् । त्यसैले विदेशमन्त्रीको आह्वानप्रति व्रिद्रोही पक्ष सकारात्मक हुने सम्भावना नरहेको अनुमान गरिएको छ ।
राष्ट्रसंघका अनुसार सिरियामा आरम्भ भएको राष्ट्रपति असदविरोधी आन्दोलन र सशस्त्र विद्रोहमा हालसम्म ६० हजारको मृत्यु भइसकेको छ । अमेरिका, युरोपेली युनियन, अरब लिगलगायतले विद्रोहीको पक्षमा मत जाहेर गर्दै आएका छन् भने इरान, चीन र रुसले भने असदको पक्ष लिँदै आएका छन् । तर, केही समययता रुसले पनि सिरियामा असदको विकल्पमा जान सकिने खालको भनाइ राख्न थालेपछि असदमाथिको अन्तर्राष्ट्रिय दबाब चुलिएको छ । (एजेन्सी)

प्रतिक्रिया