सारापोभाको कीर्तिमानी यात्रा

Maria-Sharapova
मेलवर्न : पाँच ‘गेम’ मात्र गुमाएर साविक उपविजेता तथा विश्व नम्बर दुई मारिया सारापोभा वर्षको पहिलो टेनिस ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा कीर्तिमान रच्दै क्वार्टरफाइनल प्रवेश गरेकी छिन् । चारवटा ग्रान्डस्लाम विजेता २५ वर्षीया यी रसियनले चौथो चरणमा बेल्जियमकी किस्र्टेन फ्लिप्केन्सलाई ६–१ र ६–० ले पराजित गरिन् ।
यसअघि यस प्रतियोगितामा स्टेफी ग्राफले सन् १९८९ मा सुरुका चार चरणमा आठ गेम गुमाएर कीर्तिमान रच्दै क्वार्टर फाइनल पुगेकी थिइन् । आफ्नो पहिलो खेलमा कुनै गेम नगुमाइ विजयी भएकी सारापोभाले दोस्रोमा सातवटा ग्रान्डस्लाम विजेता भेनस विलियम्सको यात्रा ६–३ र ६–१ ले टुंग्याएकी थिइन् ।
सन् १९८५ पछि पहिलोपटक कुनै पनि ग्रान्डस्लामको महिलातर्फ पहिलो खेलमा गेम नगुमाई विजयी हुने खेलाडीका रूपमा सारापोभाले इतिहास बनाइन् । सन् २००८ को अस्ट्रेलियन ओपन संस्करणकी विजेता सारापोभाले गत वर्ष फ्रेन्च ओपन जितेकी थिइन् ।
सेमिफाइनल प्रवेशका लागि अब उनले आफ्नै देशकी एकातेरिना माकारोभाको सामना गर्नेछिन् । गत संस्करणमा सारापोभाले क्वार्टरफाइनलमै माकारोभालाई पराजित गरेकी थिइन् । चौथो चरणमा माकारोभाले यसपटक पाँचौँ वरीयताकी एन्जेलिक कर्बरलाई हराइन् ।
महिला एकलतर्फका अन्य खेलमा विजयी हुँदै चिनियाँ खेलाडी लि ना र अग्निएस्का राड्वान्सका क्वार्टरफाइनलमा आपसी भेट पक्का गरे । राड्वान्स्काले लगातार १३औँ जित हात पार्ने क्रममा अना इभानोभिकलाई पराजित गरेकी हुन् । पुरुष एकलतर्फका खेलमा स्पेनिस खेलाडीद्वय डेभिड फेरर र निकोलास अल्मार्गो क्वार्टरफाइनल पुगे । (एजेन्सी)

प्रतिक्रिया