काठमाडौं, ८ माघ : थाइल्यान्डमा यसै साता सुरु हुने चौथो संस्करणको एसिसी महिला च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको कप्तान रुविना क्षेत्रीले बताएकी छिन् । प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नु एकदिनअघि आइतबार राजधानीमा आयोजित बिदाइ कार्यक्रममा रुविनाले ब्याटिङमा सुधार हुनु, टोलीको आत्मविश्वास उच्च हुनु र टोलीमा अलराउन्डरको प्रभाव हुनु नेपालले उपाधिको दाबी गर्ने आधार भएको बताइन् । ‘यसपटक हामीले एक महिनाभन्दा बढी समय अभ्यास गर्यौँ । हाम्रो यसअघिको समस्याका रूपमा रहेको ब्याटिङमा हामी केन्द्रित रह्यौँ । पुवुद दशानायके सर र जगत टमटा सरले आएर सिकाउनुभयो,’ यसअघि सिनियर महिलामा नेपाललाई एकपटक कप्तानी गरिसकेकी रुविनाले भनिन्, ‘धेरै अभ्यास गरेर ब्याटिङ सुधार गरेका छौँ । साँच्चै भन्ने हो भने शतप्रतिशत सुधार भएको छ, ब्याटिङमा यस प्रशिक्षणले । प्राविधिक रूपमा हामी धेरै माथि पुगेका छौँ ।’
यस टोलीलाई प्रशिक्षण गरिरहेका प्रशिक्षक जमिल अन्सारीले विगतका त्रुटिलाई प्रमुख प्रशिक्षक पुवुदुको सहयोगमा सच्याएको बताउँदै नेपालले उपाधि जित्नेमा आफू आशावादी रहेको बताए । यस प्रतियोगिताको विजेता महिला टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश गर्नेछ ।
समूह चरणमा नेपालले हङकङ, मलेसिया, भुटान र युएईविरुद्ध खेल्नेछ । अर्को समूहमा चीन, थाइल्यान्ड, सिंगापुर, कुबेत, इरान र कतार रहेका छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । थाइल्यान्डमा यसअघि नेपालले धेरैवटा महिला क्रिकेट प्रतियोगिता खेलेर उपाधि पनि जितेका कारण त्यहाँ खेल्न सजिलो हुने रुविनाले बताइन् । नेपालले सिनियर महिला क्रिकेटमा अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
सन् २००७ मा नेपाल महिला क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा यस प्रतियोगितामा सहभागी भएको थियो, जसमा नेपाल उपविजेता बनेर बलियो सम्भावना देखाउन सफल भयो । तर, पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
नेपालको दोस्रो जित
ढाका : दोस्रो दक्षिण एसियाली बास्केटबल (सावा) च्याम्पियनसिपमा नेपालले दोस्रो जित हात पारेको छ । आइतबार धनमुन्डी जिम्नेजियममा भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ९४–४२ ले हराउँदै सानदार विजय दर्ता गर्यो ।
यो जितसँगै नेपाललाई कम्तीमा कांस्यपदक पक्का भएको छ । सोमबार आयोजक राष्ट्र बंगलादेश र माल्दिभ्सबीचको खेलले नेपालले रजत र कांस्यमध्ये के जित्ने भन्ने निक्र्योल गर्ने नेपाली बास्केटबल टिमका प्रमुख प्रशिक्षक दिनेश नकर्मीले बताए । (एजेन्सी)
प्रतिक्रिया