डिआइजी नै बनिन् सौता

Bimala-Thama-DIGकाठमाडौं, ८ माघ । अरूलाई न्याय दिलाउने नेपाल प्रहरीकी नायब महानिरीक्षक (डिआइजी) विमला थापा नै कानुनविपरीत सौता पसेको खुलासा भएको छ । तीन सन्तानका बाबु केपी शर्मासँग ०४७ सालमा गोप्य रूपमा विवाह गरेकी उनले २२ वर्षपछि पनि ‘यो विषयमा मलाई थाहा छैन’ भन्ने प्रतिक्रिया सौर्यलाई दिइन् ।

डिआइजी थापा अहिले धापासीस्थित पाँचतले घरमा पतिसँगै बस्दै आएकी छन् । शर्माकी जेठी श्रीमती भने सामाखुसीस्थित पुरानै घरमा आºना सन्तानसहित बस्छिन् । डिआइजी थापाले पहुँचकै कारण शर्मालाई जेठी श्रीमतीसँग भेट्नसमेत नदिने गरेको स्रोतको दाबी छ ।
थापा अहिले पनि प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा प्रमुख छिन् । इन्स्पेक्टर हुँदा उनले शर्मासित प्रेम–विवाह गरेकी थिइन् । उनीहरूको विवाह हुँदा शर्माको जेठीपट्टिबाट तीन सन्तान भइसकेका थिए ।
उनीहरू दुबै पहिले सामाखुसीमै बस्थे । सुरुमा थापाले शर्मालाई ‘दाइ’ भन्थिन् । स्रोतका अनुसार थापा दाइ–भाउजूको नाता लगाएर शर्माको घरमा आउजाउ गर्थिन् । दुवैबीच प्रेम बसेपछि उनीहरूले ०४७ सालमा गोप्य विवाह गरेका थिए ।
उनीहरूको प्रेम हुँदा शर्मा तत्कालीन शाही नेपाली वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानतर्फ ‘स्टेवर्ड’ पदमा कार्यरत थिए । थापा असइ हुँदादेखि नै शर्मासँग चिनजान थियो । स्रोतका अनुसार तालिमका बेला पनि थापालाई भेट्न शर्मा महाराजगन्जस्थित तालिम केन्द्र पुग्ने गर्थे । शर्मा विभिन्न उपहारसहित तालिम केन्द्र पुग्न थालेपछि दुईबीचको सम्बन्ध प्रगाढ बन्दै गएको थियो । थापा प्रहरीमा ३० चैत ०४० मा असइमा प्रवेश गरेकी थिइन् ।
इन्स्पेक्टर भएपछि थापा शर्मासँग टाढिन पनि खोजेकी थिइन् तर शर्माको ढिपीले उनीहरूको सम्बन्ध अघि बढेको थियो । त्यसपछि उनीहरूले गोप्य विवाह गरेका थिए ।
शर्माले जेठी श्रीमतीसँग सम्बन्धविच्छेद नगरेकाले केही वर्ष उनीहरूले विवाह गोप्य राखेका थिए । थापाबाट सन्तान
जन्मिएपछि भने उनीहरूको विवाहबारे साथीभाइले थाहा पाएका थिए । शर्माको थापातर्फबाट पनि दुई सन्तान छन् ।
बहुविवाहको कारबाहीमा परिने डरले थापाले विवाह बन्धनमा बाँधिएको धेरै वर्षपछि मात्रै वैवाहिक जीवन सार्वजनिक गरेकी थिइन् । प्रहरीमा वरिष्ठ अधिकारीको प्रभावकै कारण उनी सौता (शर्माकी जेठी श्रीमती) अदालतमा मुद्दा हाल्न डराएको स्रोतको दाबी छ । शर्माले अहिलेसम्म पनि जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छैनन् ।
बहुविवाह गर्नेलाई कारबाही हुने कानुनी व्यवस्था छ । अधिवक्ता प्रवीण प्रधानका अनुसार मुलुकी ऐनमा विवाहवारी महलले श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने र जाने दुवैलाई बराबर कारबाही हुन्छ । ‘श्रीमती हुँदाहुँदै अर्को विवाह गर्नेलाई कानुनले फौजदारी महलअन्तर्गत राखेको छ, यस महलअन्तर्गत घटनामा संलग्नलाई न्यूनतम दुई वर्ष कैद हुन्छ भने २ लाख रुपियाँसम्म जरिवाना हुन सक्छ,’ अधिवक्ता प्रधानले भने ।
प्रधानका अनुसार मुलुकी ऐनको जारी महलअनुसार त पोइल जाने महिलाको विगतमा अर्कै श्रीमान् छ भने पनि जारी उठाउन पाइने कानुनी व्यवस्था छ । ‘यस्ता मुद्दा फौजदारी मुद्दा भएकाले सम्बन्धित व्यक्तिले उजुरी नहालेको खण्डमा जो–कोहीले पनि उजुरी हाल्न सक्छ,’ उनले भने ।
डिआइजी थापा विवाहबारे खुल्न चाहिनन् । बहुविवाहबारे जिज्ञासा राख्दा उनले आफूलाई केही जानकारी नभएको बताइन् । ‘म विराटनगरमा छु, यसबारे मलाई केही जानकारी छैन,’ उनले भनिन् ।
डिआइजी थापाझँै प्रहरीमा सौताका रूपमा भित्रिने उच्च तहका अधिकृतमा एसपी गीता उप्रेती र डिएसपी गंगा पन्त पनि पर्छन् ।

प्रतिक्रिया