चट्याङमा परेर दुईको मृत्यु

chtyangकाठमाडौं, ५ माघ । कैलाली र डोटीमा चट्याले लागेर दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा १२ जना सर्वसाधारण घाईते भएका छन् ।
कैलाली जिल्लामा चट्याङले लागेर आज दिउँसो ३६ वर्षीया भुकुली बिकको मृत्यु भएको छ । टीकापुर नगरपालिका–९, एकता शिविर बस्ने जगतबहादुर बिकको घरमा दिउँसो करीव २ बजे अचानक चट्याङ परेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उता, डोटी जिल्लामा पनि नेपाली सेनाका लेसनायक गणेश तिरुवाको चट्याङ लागेर मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–१३ स्थित नेपाल टेलिभिजनको टावर डिउटीमा खटिएका भैरब दल गणका लेसनायक २७ वर्षीय तिरुवालाई पनि आज विहान करीव ९ बजे चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते उनको जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा मृत्यु भएको हो ।
यता, म्याग्दी जिल्लामा आज विहान चट्याङ लागेर १२ जना घाईते भएका छन् । घाईते मध्ये २९ वर्षीय हिमबहादुर किसान सार्कीको अवस्था गम्भीर छ ।
बावियाचौर–३, खुम्लीयास्थित बिजुलीको पोलमा आज विहान साढे ७ बजे चट्याङ परेको थियो । चट्याङले वरीपरी बस्ने १२ जना स्थानीयलाई घाइते बनाएको हो । घाईतेको जिल्ला अस्पताल बेनीमा उपचार भईरहेको छ ।
यता, बाजुरा जिल्लामा पनि चट्याङ लागेर चौपाया मारेका छन् । कुलदेवमाढी–२ वस्ने दीपबहादुर खातीको गोठमा बिहीबार राति चट्याङ लागेर गाई र भैँसी मरेका छन् । गोठमा आगलागी भएर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया