फेरि बढ्यो निगमको नोक्सानी

nepal_oil_corporation_काठमाडौं, ५ माघ । नेपाल आयल निगमको मासिक नोक्सानी फेरि बढेको छ । भारतीय आयल निगम (आइओसी) ले १६ जनवरीमा पठाएको पेट्रोलियमको नयाँ मूल्य सूचीअनुसार निगमको मासिक नोक्सानी ३३ करोड १० लाख रुपियाँ पुगेको हो ।

नयाँ मूल्य सूचीअनुसार १५ दिनअघिको तुलनामा निगमको नोक्सानी करिब १० करोड रुपियाँले बढेको छ । १५ दिनअघि (एक जनवरीमा) निगमको नोक्सानी २३ करोड २८ लाख रुपियाँमा झरेको थियो । १६ जनवरीको मूल्यअनुसार सबैभन्दा बढी नोक्सानी एलपी ग्यासमा रहेको निगमले जनाएको छ । एलपी ग्यासमा मात्र प्रतिसिलिन्डर ६ सय ४ रुपियाँ ८ पैसा तथा कुल नोक्सानी ७२ करोड ४९ लाख रुपियाँ रहेको छ । यस्तै, डिजेलमा प्रतिलिटर एक रुपियाँ २१ पैसा र कुल नोक्सानी ७ करोड ८१ लाख रुपियाँ रहेको निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपियाँ ९६ पैसा नाफा छ । यस्तै, मट्टितेलमा प्रतिलिटर १३ रुपियाँ ८५ पैसा, आन्तरिक उडानको हवाई इन्धनमा २४ रुपियाँ ९० पैसा, अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा प्रतिलिटर २९ रुपियाँ ६३ पैसा नाफा रहेको निगमले जनाएको छ । साथै, पेट्रोलमा कुल नाफा १३ करोड ५३ लाख, मट्टितेलमा ५ करोड ५४ लाख, आन्तरिक उडानको हवाई इन्धनमा ७ करोड ४७ लाख र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा कुल नाफा २० करोड ७४ लाख रुपियाँ रहेको निगमले जनाएको छ ।
विगतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य गिरावट आए पनि अहिले मूल्यवृद्धि रहेकाले घाटा बढ्दै गएको जनाएको छ । निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवाल महँगोमा ल्याइएको पेट्रालियम सस्तोमा बेच्दा घाटा बढ्दै गएको बताउँछन् । अघिल्लो महिना निगमको मासिक नोक्सानी भने ५२ करोड ८९ लाख रुपियाँ थियो ।
आइओसीले एक डिसेम्बरमा पठाएको मूल्यअनुसार ग्यासमा प्रतिसिलिन्डर ६ सय ५६ रुपियाँ ६२ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपियाँ ५२ पैसा घाटा रहेको थियो । सो मूल्य सूचीअनुसार अघिल्लो महिना ग्यासको कुल नोक्सानी ७८ करोड ७९ लाख र डिजेलमा २२ करोड ८८ लाख रुपियाँ पुगेको थियो ।

प्रतिक्रिया