सामुदायिक वनमा भेटिए दुर्लभ वन्यजन्तु

rainoचितवन, २८ पुस । पश्चिम चितवनको दुई सामुदायिक वनमा गरिएको प्राविधिक सर्वेक्षणमा निकै दुर्लभ तथा लोपोन्मुख जीवजन्तु फेला परेका छन् । नेपालमै पहिलोपटक सामुदायिक वनमा क्यामेरा ट्रयापिङ विधिबाट वन्यजन्तु र चराचुरुंगीको गणना गर्दा यी दुर्लभ जीवजन्तु फेला परेका हुन् ।

पश्चिम चितवनको सेतीदेवी र ज्ञानेश्वर सामुदायिक वनमा गरिएको सर्वेक्षणमा पाटेबाघ, लोपोन्मुख एकसिंगे गँैडा र विभिन्न सरिसृप फेला परेको शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । सो अवसरमा प्रकृतिका साथीहरू नामक संस्थाका निर्देशक राजु आचार्यले ०६९ साल भदौ र पुसमा १५/१५ दिन गरी १ महिना अध्ययन गरिएको बताए । यस क्रममा १९ प्रजातिका स्तनधारी, १२५ प्रजातिका चरा, २८ प्रजातिका पुतली, २ थरीका भ्यागुता, २ थरीका सर्प, १ थरीको अजिंगर, ३ प्रजातिका छेपारा, दुर्लभ गैँडा र पाटे बाघ, गिद्धलगायत भेटिएको जानकारी दिए ।
जिल्ला वन कार्यालय र दुई सामुदायिक वनको आर्थिक सहयोगमा सो संस्थाले क्यामेरा ट्रयापिङ, दूरबिन, टेलिस्कोप, मरेका जीवजन्तुको सिनो, पदचिह्न आदिको सहाराले यी जीवजन्तुको गणना गरेको थियो । ‘हामी त निकै अचम्ममा परेका छौँ,’ निर्देशक आचार्यले भने, ‘यति धेरै जीवजन्तु सानो वन क्षेत्रमा भेटिएला भनेर हामीले सोचेकै थिएनौँ ।’
अनुसन्धानकर्ता संस्थाका वन वातावरणविद् प्रेम न्यौपानेले आफूहरूले कल्पना गरेभन्दा बढी जीवजन्तु भेटिएकाले आगामी दिनमा समेत अनुसन्धानको खाँचो रहेको औँल्याए । जिल्ला वन कार्यालय चितवनका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाले ठूलो संख्यामा जीवजन्तु रहेको यस ब्लकमा आधिकारिक संख्या पत्ता लगाउन जरुरी रहेकाले अध्ययनका लागि सहयोग गरेको जानकारी गराए । सरकार संरक्षित क्षेत्रमा यसरी दुर्लभ वन्यजन्तुले वासस्थान बनाउनु राम्रो रहेको भन्दै उनले संरक्षणको पाटोमा राज्यलाई विशेष कदम चाल्न सजिलो भएको औँल्याए ।
कार्यक्रममा अनुसन्धानकर्ताले जिल्ला वन कार्यालय र दुई सामुदायिक वनका अध्यक्षलाई अध्यनन प्रतिवेदन हस्तान्तरण गरेका थिए । सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले यहाँ घुम्न आउनेलाई वन्यजन्तु र चराचुरुंगीका प्रजातिबारे बताउन सक्ने जानकारी दिए ।
ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष कृष्णप्रसाद पुडासैनीले यो अध्ययनबाट आफूहरू अझ उत्साही भएको र आगामी दिनमा सबैको सहयोग लिएर पर्यापर्यटनको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए । उनले यो क्षेत्रलाई संरक्षण गर्न अब अझ चुनौती थपिएको बताउँदै सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए ।
पश्चिम चितवनको यी दुई सामुदायिक वनको १ हजार हेक्टर क्षेत्रफलमा मात्रै २५ देखि ३० वटा गैँडा, पाटेबाघ, बँदेल र अन्य सरिसृप भेटिएपछि संरक्षणकर्मी यसपछि थप हौसिएका छन् । अध्ययनका लागि २ सामुदायिक वनमा ३२ वटा क्यामेरा जडान गरिएको थियो । ०३७ सालपछि यी दुई वन वृक्षरोपण गरेर हुर्काई स्थानीय समुदायलाई हस्तारण गरिएको थियो ।
फोटो : क्यामेरा ट्रयापिङ गरी बेलुका साढे ६ बजे देखिएको बाघ र दिउँसो भेटिएको गँैडा

प्रतिक्रिया