राष्ट्रिय एकता दिवसको महत्त्व

राष्ट्रलाई सिंगो, संग्लो, सार्वभौम र अक्षुण्ण राख्न कुनै एक कालखण्डमा जन्मिएका ऐतिहासिक व्यक्तित्वको खाँचो पर्छ । विश्वका प्रत्येक मुलुकको इतिहासमा राष्ट्रनिर्माताको अहं भूमिका उल्लेख भएको पाइन्छ । नेपालको इतिहासमा त्यस्ता व्यक्तिका रूपमा पृथ्वीनारायण शाहको नाम आउँछ । वास्तवमा यो राष्ट्रनिर्माण गर्ने श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ । तत्कालीन समयमा टुक्रा–टुक्रामा विभाजित स–साना राज्यहरूलाई मिलाएर उनले एउटै राष्ट्र नबनाएको भए सायद विश्व मानचित्रमा नेपाल रहने थिएन । आपसमा नमिल्ने स–साना राष्ट्रहरू कुनै पनि समय अर्काको अधीनमा जान सक्ने बुझेका गोर्खाका दूरदर्शी राजा पृथ्वीनारायण शाहले ठूलै कष्ट उठाएर नेपाल राष्ट्रनिर्माण गरेका हुन् । बाइसे, चौबीसे राज्यहरूलाई एकताको सूत्रमा बाँधेर उनले ती राज्यभित्र रहेका धर्म, संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्नसमेत हौसला प्रदान गरेका थिए । ‘एकता नै राष्ट्रनिर्माणको बलियो आधार हो’ भन्ने बुझेका पृथ्वीनारायण शाहले ‘जनता बलिया भए मात्र राष्ट्र बलियो हुन्छ’ भन्ने भावनाको विकास गराए । जसले नेपाल सधँै स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र अक्षुण्ण रहन सक्यो । यसको सम्पूर्ण श्रेय पृथ्वीनारायणमा नै जान्छ । कसैले उनको इतिहास मेट्न खोजेर मेटिँदैन । तसर्थ, राष्ट्रिय एकताको यस महान् अवसरमा उनीप्रति हामीले स–सम्मान कृतज्ञता प्रकट गर्नै पर्छ । राष्ट्रियता, राष्ट्रियअखण्डता र अक्षुण्ण सार्वभौमसत्ताका लागि जनतालाई राष्ट्रिय एकता दिवसले एकै सूत्रमा बाँध्ने महत्त्वका रूपमा बुझाउन जरुरी छ ।
०६२ सालसम्म नेपाली जनताले पुस २७ गतेलाई पृथ्वीजयन्ती र एकता दिवसका रूपमा मनाउँदै आएका थिए । तर, त्यस पछिका उरन्ठेउला शासकहरूले उनको इतिहास र योगदान मेट्ने दुष्प्रयास गरे । त्यसलाई जनताले भने ठाडै अस्वीकार गरेको पाइन्छ । अर्थात्, अहिले सरकारीस्तरबाट एकता दिवस नमनाए पनि जनस्तरबाट भव्यतापूर्वक यो दिवस मनाउने गरिएको छ । पृथ्वीनारायणकै कारण अहिले हामी नेपालीको चिनारीसहित स्वतन्त्र राष्ट्रको नागरिक भएर बाँच्न पाएका छौँ । राष्ट्रप्रति थोरै चिन्ता गर्ने नेपालीले पृथ्वीनारायणले गरेका महान् कार्यप्रति आत्मगौरव गरेको पाइन्छ । तर, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्थिरता नचाहनेहरू भने राष्ट्रनिर्माता पृथ्वीनारायणलाई विस्तारवादी, सामन्त र परपीडकका रूपमा परिभाषित गर्न खोज्दै छन् । उनको दिव्य उपदेशप्रति बेवास्ता गर्दै नकारात्मक धारणा बनाएका त्यस्ता व्यक्तिको निहित उद्देश्य भने नेपाललाई कमजोर बनाउने पाइन्छ । अब, यस्ता राष्ट्रविरोधी कर्म गर्न छाडेर पृथ्वीनारायणलाई राष्ट्रनिर्माता, पुस २७ गतेलाई पृथ्वीजयन्ती र एकता दिवस साथै उनको दिव्य उपदेशलाई राष्ट्रनिर्माणको मार्ग चित्रको रूपमा स्थापित गर्नुपर्छ । यसले मात्र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न मद्दत गर्नेछ ।
अहिले मुलुकबाट नैतिकता हराएको छ । राजनीतिलाई नाफाको व्यवसाय बनाइएको छ । राष्ट्रियता कमजोर पार्दै विदेशीको चलखेललाई मुलुकभित्र प्रश्रय दिइएको छ । धार्मिक, सामाजिक, आर्थिक, लैंगिक र जातीय विखण्डन गर्दै समाजलाई भाँड्न खोजिएको छ । पृथ्वीनारायणको दिव्य उपदेशमा जति कुरा गर्नु हुँदैन भनिएको थियो त्यो सबै अहिले गरिँदै छ । जसले गर्दा राष्ट्र कमजोर बन्दै छ भने समाजमा मनोमालिन्य फस्टाउँदै छ । पृथ्वीनारायणका दूरदर्शी अभिव्यक्तिप्रति ध्यान नदिने, उनको सालिक तोडफोड गर्ने र महान् योगदानलाई भुलेर एकता दिवस नै नमनाउने जस्ता गैरजिम्मेवार कार्य राज्यले गर्‍यो । तर, इतिहास मेटेर मेटिँदैन, योगदान पुरेर पुरिँदैन र सालिकमाथि तोडफोड गर्दैमा उनले गरेको महान् साथै गौरवशाली कार्य ओझेलमा पर्दैन । तसर्थ, वर्तमान सरकारले नेपाली जनता र राष्ट्रका लागि एकता दिवस पुस २७ गते बिदा घोषणा गर्ने र राज्यका तर्फबाट यो महान् दिवस मनाउने कार्यलाई निरन्तरता दिनुपर्छ । यसले मात्र आम नेपालीलाई एकसूत्रमा बाँध्ने र राष्ट्रको उन्नतिमा लाग्ने प्रेरणा दिन सक्छ ।

प्रतिक्रिया