काठमाडौं, २३ पुस । रेफ्रिविरुद्ध हातपात, खेलाडी र अफिसियविरुद्ध प्रतिबन्धलगायतका कारणले चर्चा र विवादमा तानिएको रानी पोखरी कर्नर टिम(आरसिटी) आइतबार शीर्षस्थानको थ्री–स्टारलाई १–० ले पराजित गरी लगातार तीन हारको पराजय श्रृंखला टुंग्याएर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी होडमा फर्किएको छ ।
डिफेन्डर एनटोलोमार्फत ६०औँ मिनेटमा आरसिटीले निर्णायक गोल गरेको हो । वन भर्सेस वनमा रहेका फर्वार्ड अमर डंगोललाई थ्री–स्टारका गोलकिपर किरण चेम्जोङले लडाएपछि बदलामा आरसिटीलाई रेफ्री श्रवण लामाले पेनाल्टीको अवसर दिएका थिए ।
आठौँ चरणमा बाँसवारीद्धारा पराजित भए सँगै अपराजित यात्रामा पूर्णविराम लागेको आरसिटीले अघिल्लो खेलमा पुलिसलाई १–० ले नतिजा सुम्पनु अघि नेपाल आर्मीविरुद्ध खेलिएको खेलमा नाटकीयरूपमा २–१ ले हार बेहोरेको थियो । उक्त खेलमा भएको विवादका कारण आरसिटीले टोलीका सबैभन्दा प्रभावशाली खेलाडी ओलावालेलाई एक वर्षका लागि गुमाएको थियो भने आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)ले उसका नियमित प्रशिक्षक मधु कार्कीलाई तीन खेलका लागि गुमाएको थियो ।
जितपछि आरसिटी १२ खेलबाट २३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ । पहिलो चरणमा सरस्वतीसँग पराजित भए यता कुनै खेलमा हार नबेहोरेको थ्री–स्टार १२ खेलबाट २६ अंकमै कायम रहे पनि शीर्षस्थानमा कायम रहेको छ । यद्यपि उसले अग्रता फराकिलो बनाउने अवसर लगातार दोस्रो खेलमा गुमायो ।
डिफेन्डर सञ्जीब बुढाथोकी र मिडफिल्डर युगल किशोर राई चोटबाट फर्किएपछि आरसिटीले सुरुआतदेखी नै बलियो चुनौती दिएको थियो । डिफेन्समा कमजोर देखिएको आरसिटीले पहिलो हाफमा राम्रा दुई अवसर खेर फाल्यो । दोस्रो हाफमा तीन वटा राम्रा अवसर पाए पनि कमजोर फिनिसिङका कारण थ्री–स्टार ती सबैमा चुक्यो । थ्री–स्टारका सन्तोष शाहुखल र विजय गुरुङको फिनिसिङ कमजोर रह्यो । दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी योगेश गुरुङले एकैपटक दुई वटा पहेँलो कार्ड पाएपछि थ्री– स्टार केही मिनेट १० खेलाडीमा सीमित बन्यो । यस कार्डको विषयमा रेफ्री निर्णयलाई लिएर थ्री–स्टारका पदाधिकारी र समर्थक आक्रोशित बनेका थिए ।
आइतबार नै भएको अर्को खेलमा नेपाल पुलिसले हिमालयन शेर्पालाई १–० ले पराजित गर्यो । पुलिसको जितमा भोला सिलवालले २८औँ मिनेटमा हेडमार्फत आकर्षक निर्णायक गोल गरे । योगेश श्रेष्ठको क्रसमा सेकेन्डबारमा रहेका भोलाले डाइभ गरी हेडमार्फत गोल गरेका हुन् । जितपछि १२ खेलबाट १९ अंक जोडेको पुलिस पाँचौ स्थानमा उक्लिएको छ । १२ खेलबाट १३ अंक जोडेको हिमालयन भने रेलिगेसन संघर्षको चटारोमा परेको छ । हिमालयन १२औँ स्थानमा छ ।
प्रतिक्रिया