बार एसोसिएसनमा चुनावी माहोल

काठमाडौं, २२ पुस । सधैँभरि मुद्दाका वादी, प्रतिवादी र कानुन व्यवसायीको बाक्लो उपस्थिति हुने सर्वाेच्च अदालत यतिबेला सुनसान छ । २० मंसिरमा एकैपटक पाँच अस्थायी न्यायाधीशले अवकाश पाएपछि सर्वाेच्च अदालतभित्रका ११ इजलासमध्ये दैनिक मुस्किलले तीन इजलास मात्र सञ्चालन हुने गरेका छन् ।

दैनिक डेढ सयभन्दा बढी मुद्दाका पेसी चढे पनि न्यायाधीशको अभावमा सुनुवाई हुन नसक्दा सयभन्दा बढी मुद्दाहरू स्थगित हुने गरेका छन् । तर, सर्वाेच्च अदालतसँगै जोडिएर रहेको नेपाल बार एसोसिएसनमा भने यतिबेला निकै चहलपहल छ । यसको कारण हो २८ पुसमा हुने नेपाल बारको चुनाव । चुनावमा आफ्ना पक्षलाई जिताउन र भोट माग्न दैनिक सयौँको संख्यामा कानुन व्यवसायीहरू बार एसोसिएसन आउने गरेका छन् । सधैँभरि आफ्नो पक्षलाई जिताउन र विपक्षीलाई हराउन लागिपर्ने कानुन व्यवसायी यतिबेला आफ्नै निर्वाचनमा जुटेपछि सर्वाेच्च अदालतदेखि बार एसोसिएसनसम्म चुनावी माहोल छ ।
नेपाल बारको तीन वर्षे कार्यकालका लागि प्रगतिशील, डेमोक्रयाटिक र मधेसी प्यानल चुनावी मैदानमा उत्रेका छन् । ‘तीन समूह चुनावी प्रतिस्पर्धामा उत्रिए पनि प्रगतिशील र डेमोक्रयाटिक समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ’ कानुन व्यवसायी सुवास आचार्यले भने । नेपाल वारको निर्वाचनमा प्रगतिशील पक्षको नेतृत्व गर्दै हरिकृष्ण कार्की र डेमोक्रयाटिक पक्षको नेतृत्व गर्दै शेरबहादुर केसी चुनावी मैदानमा उत्रेका छन् । दुवै पक्ष देशव्यापी चुनावी प्रचार अभियान सकेर राजधानीमा केन्द्रित भएका छन् ।
प्रगतिशील समूहबाट अध्यक्षका लागि उम्मेदवारी दिएका हरिकृष्ण कार्कीले सबै जिल्लाका कानुन व्यवसायीसँग भेटेपछि राजधानी केन्द्रित चुनावी अभियानमा लागेको बताए । सो पक्षको महासचिवका लागि दिनमणि पोखरेल चुनावी मैदानमा छन् ।
डेमोक्रयाटिक समूह पनि देशव्यापी प्रचार सकेर राजधानी आइपुगेको छ । ‘राजधानी फर्केपछि हामी घरदैलो अभियानमा केन्द्रित छाँै’ डेमोक्रयाटिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर केसीले भने । डेमोक्रयाटिक प्यानलको तर्फबाट महासचिव पदका लागि सुनीलकुमार पोखरेल चुनावी मैदानमा छन् ।
नेपाल बार एसोसिएसनमा आठ हजार दुई सय ९५ मतदाता छन् । तीमध्ये काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र करिब तीन हजार सात सय मतदाता रहेको बताइएको छ । प्रारम्भिक सर्वेक्षणअनुसार राजधानीमा प्रगतिशील पक्ष बलियो देखिन्छ भने राजधानी बाहिर डेमोक्रयाटिक प्यानल बलियो देखिएको छ । आफूहरू राजधानी भित्र र बाहिर दुवै ठाउँमा सक्रिय रहेको कार्कीले बताए भने केसीले आफ्नो पक्ष राजधानीमा केन्द्रित भई घरदैलो कार्यक्रम सञ्चालन गरेको बताए । २८ मंसिरमा देशका ३३ स्थानबाट कानुन व्यवसायीले मतदान गर्नेछन् ।
नेपाल बारको चुनावमा आफ्नो पक्षलाई जिताउन कानुन व्यवसायी, वरिष्ठ अधिवक्तादेखि पूर्व सभासद्हरू पनि सक्रिय छन् । प्रगतिशील पक्षलाई जिताउन वरिष्ठ अधिवक्ता शंम्भु थापा, नेपाल बारका पूर्वमहासचिव रमण श्रेष्ठ, पूर्वसभासद् तथा अधिवक्ता अग्नि खरेल लागिपरेका छन् भने डेमोक्रयाटिक समूहलाई जिताउन वरिष्ठ अधिवक्ता हरिहर दाहाल, पूर्वसभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लागि परेका छन् ।
यसअघिका निर्वाचनभन्दा यसपटकको निर्वाचनमा दुवै पक्ष ‘भद्र चुनावी अभियानमा’ छन् । ‘पहिले एक अर्काको खेदो खनेर भोट तान्ने प्रवृत्ति थियो अहिले त्यस्तो छैन,’ प्रगतिशील पक्षबाट अध्यक्षका उम्मेदवार कार्कीले भने ।

प्रतिक्रिया