दलसम्बद्ध शिक्षकविरुद्ध उजुरी

काठमाडौं, २२ पुस । राजनीतिक पार्टीको पदाधिकारीमा रहेका स्थायी शिक्षकविरुद्ध शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयमा उजुरी परेको छ । जनउद्धार मावि सीतापाइलाका स्थायी शिक्षक कृष्णप्रसाद पाण्डे र नुवाकोटस्थित मंगला प्रस्तावित मावि आरूखर्कका शिक्षक युद्धकुमार पण्डितविरुद्ध उजुरी परेको हो ।

शिक्षक भएकाले राजनीतिक दलको कुनै पनि पदमा बस्न नपाउने भन्दै रेशम नेपालले उनीहरूविरुद्ध उजुरी हालेका हुन् । पाण्डे र पण्डित राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएर नुवाकोट क्षेत्र नम्बर २ को क्रमश: अध्यक्ष र सदस्य भएका थिए । राजनीतिक दलको ठूलै पदमा बसे पनि यसभन्दा अगाडि शिक्षा विभागमा उजुरी परेको थिएन । उजुरी नपरेका कारण अहिलेसम्म विभागले पनि कुनै शिक्षकलाई कारबाही गर्न सकेको छैन । शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले उजुरीका आधारमा शिक्षकलाई कारबाही हुने बताए ।
शिक्षा नियमावलीको परिच्छेद २२ (१३३) मा शिक्षक कुनै पनि राजनीतिक दलको कार्यकर्ता हुन नहुने उल्लेख गरिएको छ । यदि, शिक्षक राजनीतिक दलको पदमा बसे राजीनामा दिनुपर्ने हुन्छ । थुप्रै शिक्षक राजनीतिक दलको पदमा बसे पनि उनीहरूले राजीनामा दिने गरेका छैनन् । एमाओवादी, कांग्रेस र एमालेका विभिन्न कमिटीमा शिक्षक बस्दै आएका छन् । तर, तिनीहरूको कुनै पनि निकायमा उजुरी नपर्दा मन्त्रालयले कारबाही गर्न सकेको छैन ।

प्रतिक्रिया