अन्तिम भन्दै दलहरुले फेरि पाँच दिन थपाए

काठमाडौं, २२ पुस । राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका नेताहरूको आग्रहमा सहमतीय सरकार गठनका लागि फेरि म्याद थपेका छन् । सातौँपटक थपिएको समय–सीमा सकिएको भोलिपल्ट शनिबार प्रमुख दलका नेताहरूले अब थपिएको म्याद अन्तिम हुने बताएपछि राष्ट्रपति यादवले २५ पुससम्मका लागि सहमतीय प्रधानमन्त्रीको उपयुक्त नाम सिफारिस गर्न म्याद थपेका हुन् ।

आठौँपटक म्याद थप्नुअघि निकासबारे छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूलाई राष्ट्रपतिले शीतलनिवास बोलाएका थिए । राष्ट्रपतिसँगको छलफलमा नेताहरूले निर्वाचन आयोगले नै २५ पुससम्म सहमति नभए वैशाखमा चुनाव गर्न नसकिने जनाएकाले यसलाई अन्तिम म्यादका रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाए ।
पटक–पटक दिएको समयभित्र सहमति नभएकाले निकासका उपायबारे राष्ट्रपतिले दलका नेताहरूसँग सुझाव मागेका थिए । नेताहरूले अब थपिएको समयलाई अन्तिम बनाउने प्रतिबद्धता जनाएका थिए । ‘दलका नेताहरूको प्रस्तुति नै यो अन्तिमपटक हो भन्ने थियो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सौर्यसँग भने, ‘निर्वाचन आयोगले २५ गतेसम्म सहमति नभए चुनाव गर्न सकिँदैन भनेको छ, हामी जसरी पनि निकासमा पुग्छौँ भन्ने जिम्मेवार दलका नेताहरूको माग र बुझाइका आधारमा राष्ट्रपतिज्यूले म्याद थप्नुभएको हो ।’
म्याद थप्नुअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारलगायत नेताहरूसँगको छलफलमा राष्ट्रपति यादवले सहमतीय प्रधानमन्त्री चयनका लागि डेढ महिनासम्मको प्रयास पनि असफल भएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले निर्वाचन आयोग पदाधिकारीविहीन हुने र मुलुकमा संवैधानिक रिक्ततासमेत उत्पन्न हुने भएकाले नयाँ निर्वाचन सुनिश्चितताका लागि छिटो सहमति गर्न आग्रह गरे । चालु प्रक्रियाबाट सहमति हुन नसके आफूले चाल्नुपर्ने कदमबारे पनि राष्ट्रपतिले नेताहरूसँग सुझाव मागेका थिए ।
‘२५ गतसम्म सहमति नभए वैशाखमा निर्वाचन गर्न नसकिने निर्वाचन आयोगको जानकारीलाई पनि ख्याल गर्दै अब पटक–पटक अब म्याद थपिरहन उपयुक्त छैन, पुस २५ भित्रै सहमतिमा पुगिसक्नुपर्छ भन्ने कुरा भएको छ,’ राष्ट्रपतिसँगको भेटपछि एमाओवादी नेता अमिक शेरचनले सञ्चारकर्मीसँग भने, ‘नेताहरूले जसरी पनि पुस २५ भित्र सहमति गरिसक्छौँ भन्नुभएको छ ।’
दलहरूको सहमतिविना आफूले केही गर्न नसक्ने जनाउँदै राष्ट्रपतिले जारी प्रक्रिया वा अर्काे जुनसुकै प्रक्रिया अपनाउन पनि दलहरूबीच सहमति र सिफारिस जरुरी रहेको स्मरण गराएका थिए । उनले २५ पुससम्म सहमति नभए वैशाखमा चुनाव गर्न नसकिनेमा गम्भीर हुन दलका नेताहरूको ध्यानाकर्षण गराए । ‘सहमति नभए पनि के गर्ने भन्ने निर्णयमा पुग्ने राजनीतिक दलहरू नै हुन्, उहाँहरूले नै निकास सुझाउनुपर्ने हो,’ दाहालले सौर्यसँग भने, ‘राष्ट्रपतिज्यूले जिम्मेवार राजनीतिक दलका नेताहरूकै सहमतिमा अघि बढ्ने हो, निकास दिने दलहरूले नै हो ।’
वैशाखमा निर्वाचन सुनिश्चित गर्न २५ पुसभित्र सहमतिमा पुग्नै पर्ने नेताहरूले बताएका छन् । ‘पुस २५ गतेभित्र सहमतिमा पुग्न नसके वैशाखमा चुनाव गराउन सकिँदैन’ मधेसी मोर्चाका अध्यक्ष गच्छदारले भने, ‘दलहरूबीच सहमतिको विकल्प छैन, जसरी पनि सहमतिमा पुग्नुपर्छ ।’ राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुरूप दलहरूबीच सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न ८ मंसिरमा पहिलोपटक आह्वान गरेका थिए ।

प्रतिक्रिया