‘स्वतन्त्र’ प्रधानमन्त्रीमा आ–आफ्नै भनाई

काठमाडौं, २० पुस । एमाओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराई र सभापति सुशील कोइरालाको नेतृत्वमा सहमति बन्ने निश्चित भएकाले आफूहरुले स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव अघि सारेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले पनि सुशीलजीको नेतृत्व हुन दिँदैन ।’
स्वतन्त्र ब्यक्तिको नेतृत्वको प्रस्ताव एमाओवादीको पनि चाहना नभएको स्पष्ट पार्दै उनले पुस–२५ गतेभित्र सहमति नभए बैशाख जेठमा निर्वाचन हुन नसक्ने बताए ।
कांग्रेस नेता मनमोहन भट्टराईले सुशील कोइरालाको नेतृत्वको विकल्प नदिने स्पष्ट पारे । उनले लोकतन्त्रमा दलको नेतृत्वको विकल्प नहुने स्प्ष्ट पार्दै स्वतन्त्र ब्यक्ति कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
एमालेका नेता भीम रावलले सुशील कोइरालाको नाम मागेर अहिले हुँदैन भन्नु एमाओवादीको राजनीतिक बेमानी भएको बताए ।
तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनारले कांग्रेस नेतृत्वमा सहमतिको चुनावी सरकार गठन हुने सम्भावना अन्त्य भईसकेको बताए । उनले अब स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सहमतिको सरकार बनाएर निर्वाचनमा जानु पर्ने उल्लेख गरे ।

प्रतिक्रिया