सेनाका कर्णेल बेलायतमा पक्राउ

काठमाडौं, २०  पुस । सुडान मिसनको नेतृत्व गरिरहेका नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ परेका छन् । सशस्त्र द्वन्द्वकालमा नेपालमा मानवअधिकार उल्लंघन गरेको भन्दै लन्डन मेट्रो प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीमाथि कपिलवस्तुको गोरुसिंगेमा एक व्यक्तिमाथि चरम यातना दिएको आरोप छ । लामा ६ महिनाअघि संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत सुडानमा खटिएका थिए । केही दिनअघि लन्डनमा बस्दै आएकी श्रीमतीलाई भेट्न उनी त्यहाँ पुगेका थिए । सेनाका प्रवक्ता सहायक रथी सुरेश शर्माले पनि कर्णेल लामा पक्राउ परेकोबारे अनौपचारिक रूपमा थाहा पाएको बताए । उनले भने, ‘हामीले भर्खरै समाचारमार्फत कर्णेल लामा पक्राउ परेको जानकारी पाएका छौँ तर आधिकारिक रूपमा पुष्टि भएको छैन । त्यसबारे बेलायतस्थित नेपाली राजदुतावासमार्फत जानकारी लिने प्रयास गरिराखेको छौँ ।’
प्रवक्ता शर्माले केही दिनअघि लामा कार्यालयबाट बिदा लिई बेलायत गएको पुष्टि भइसकेको बताए । तर, पक्राउ पर्नुको कारण खुल्न नसकेको उनको भनाइ छ । उनले भने, ‘पक्राउ परेको खबर पाउनासाथै हामीले मिसनमा  बुझ्यौँ । उनी छुट्टी लिएर बेलायत पुगेका रहेछन् ।  त्यहाँ उनलाई किन पक्राउ गरियो बुझ्न सकिएको छैन ।’
माओवादी जनयुद्धताका कर्णेल लामा कपिलबस्तुको गोरुसिंगेमा दुई वर्ष गणपतिका रूपमा कार्यरत थिए । उनी त्यहाँ रहँदा  माओवादी जनयुद्ध उत्कर्षमा पुगेको थियो । त्यही बेला उनले एक कैदीलाई यातना दिएको स्रोतको दाबी छ । त्यसअघि भने उनी बझाङमा गुल्मपति थिए । लामाकी श्रीमती नेपाली मूलकी बेलायती नागरिक हुन् । नर्सका रूपमा उनी विगत १२ वर्षदेखि बेलायतमा कार्यरत छिन् । उनको लन्डनमा घरसमेत छ ।  द्वन्द्वकालका मानवअधिकार हननका घटनविरुद्ध क्रियाशील एडभोकेसी फोरमको पहलमा लामालाई पक्राउ गरिएको हो । यातना पीडितले बेलायती प्रहरीमा प्रारम्भिक जाहेरी दिएका थिए ।
लन्डन महानगरीय प्रहरीले एउटा संक्षिप्त विज्ञप्ति जारी गरी युद्ध अपराधसम्बन्धी उजुरीका आधारमा एक नेपालीलाई पक्राउ गरिएको जनाएको छ । विज्ञप्तिमा उनलाई ससेक्सको एउटा पुलिस स्टेशनमा उनलाई हिरासतमा राखिएको उल्लेख छ । लामाको पहिचान भने त्यहाँको प्रहरीले खुलाएको छैन ।
प्रहरीले कर्णेल लामालाई स्थानीय समयअनुसार बिहान ७:१९ मा पक्राउ गरेको हो । उनको वासस्थानमा प्रहरीले खानतलासी लिइरहेको बिबिसीले जनाएको छ ।  उनलाई क्रिमिनल जस्टिस एक्ट–१९८८ को धारा ३४ अन्तर्गत पक्राउ गरिएको र महानगरीय प्रहरीको प्रतिआतंकवाद कमान्डले अनुसन्धान गरिरहेको बिबिसीको समाचारमा उल्लेख छ । बिरलै प्रयोग हुने युद्ध अपराध र मानवअधिकार उलंघन ऐन १९८८ लाई विश्वव्यापी शक्तिका रूपमा लिने गरिन्छ । यसले बेलायतलाई अन्य देशमा भएका मानवअधिकार उलंघनका दोषीलाई पनि समातेर मुद्दा चलाउने अधिकार बेलायतलाई दिएको छ । यद्यपि, प्रहरीलाई पर्याप्त प्रमाण जुटाउन धौ–धौ पर्ने भएकाले यस्तो अनुसन्धान विरलै मात्र अदालतसम्म पुग्ने गरेको बताइन्छ । सबै प्रमाण पुर्‍याएपछि महान्यायाधिवक्ताले मुद्दाको लागि स्वीकृति दिनुपर्ने प्रावधान छ ।
उक्त कानुन अन्तर्गत एउटा मात्रै सफल मुद्दा सन् २००५ मा एक पूर्व अफगानी सैनिकमाथी थियो । उनले २० वर्षको जेल सजाय पाएका थिए ।

प्रतिक्रिया