पर्यटन विकासको महत्त्व

द्वन्द्वबाट थोरै मात्र बौरिएको नेपालमा सन् २०१२ मा पर्यटक आगमनमा वृद्धि भएको छ । सन् २०११ को भन्दा १० प्रतिशतले पर्यटक बढेपछि नेपालको पर्यटन क्षेत्रमा संलग्न व्यवसायीलाई उत्साहित बनाएको छ । प्राकृतिक रूपले सुन्दर नेपाल विश्वकै एक गन्तव्यस्थल बन्न सक्छ । हिमाल, पहाड र तराईको अनुभव थोरै समयमा गर्न सकिने नेपालजस्तो मुलुक विश्वमै सारै थोरै छन् । त्यसबाहेक नेपाल ‘ट्रेकिङ’का लागि पनि उपयुक्त रहेको प्रमाणित भएको छ । हाम्रो ग्रामीण क्षेत्रको समाजको रहनसहन र बसोबासले पनि पर्यटकलाई आकर्षित गर्न सक्छ । अर्थात् प्रचार–प्रसार र पर्यटकका लागि उचित व्यवस्था मिलाउने हो भने नेपाल भित्रिने पर्यटकको संख्या ह्वात्तै बढ्न सक्छ । लुम्बिनी, जनकपुर, पोखरा, चितवन, इलाम, पाल्पा, काठमाडौं, ललितपुर, भक्तपुर, मनाङ, मुस्ताङ र सोलुजस्ता क्षेत्रमा प्रशस्त पर्यटक भित्र्याउन सक्ने सम्भावनाहरू छन् । ती स्थानमा पर्यटकलाई लोभ्याउन सक्ने प्राकृतिक सम्पदाहरू छन् । तर, ती स्थानहरूको प्रचार–प्रसार हुन सक्नुपर्छ । सञ्चारका विभिन्न माध्यममा व्यवस्थित तरिकाले पर्यटकलाई आकर्षित गर्न सक्ने प्रचार सामाग्री राखिनुपर्छ । यसले पर्यटकका दृष्टिमा सकारात्मक धारणा बनाउने र आफ्नो गन्तव्यमा नेपाललाई राख्ने सम्भावना बढाउँछ ।
नेपालमा पर्यटन क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने सोच धेरै वर्षअगाडि भित्रिए पनि तदनुरूप काम हुन सकेन । भौतिक पूर्वाधारहरू तयार गरिएनन् र पर्यटकको बसाइ लम्ब्याउने योजनाहरू पनि बनाइएन । जसले गर्दा विश्वमा एक अर्ब पर्यटक आवातजावात गर्दा नेपालमा पाँच लाख ९८ हजार दुई सय चार पर्यटक मात्र भित्रिए । यो खासै सुखद संख्या होइन । पर्यटकको नजरभन्दा नेपाल धेरै टाढा छ भन्ने यसले स्पष्ट गरेको छ । पर्यटकीय हिसाबले अति उत्तम भए पनि हामीले प्रचार–प्रसार गर्न र पर्यटकलाई विश्वास दिलाउन नसकेको अवस्था विद्यमान छ । नेपाल पर्यटन वर्ष २०११ र लुम्बिनी भ्रमण वर्ष २०१२ को लक्ष्य पूरा भएन । यसले के स्पष्ट गरेको छ भने यहाँ पर्यटक भित्र्याउने सवालमा थुप्रै कमीकमजोरी छन् । जुन कमीकमजोरी नसच्चिएसम्म पर्यटकको संख्या बढाउन सकिँदैन । विश्व प्रसिद्ध हिमाल र सम्पदाहरू हुँदाहँुदै पनि पर्यटकलाई आकर्षित गर्न नसक्नु सम्बन्धित निकायको ठूलो कमजोरी हो । नेपालका हकमा पर्यटन व्यवसाय आर्थिक विकासको मेरुदण्ड हो । यस क्षेत्रको विकासले हाम्रो पलायन भइरहेको युवा वर्गलाई रोक्ने र पर्यटन व्यवसाय गर्न प्रोत्साहित गर्ने छ । ग्रमीण क्षेत्रको विकासमा पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । यसका लागि सरकारले दूरगामी योजनाहरू लागू गर्न जरुरी छ ।
माओवादी द्वन्द्व सुरु भएपछि नेपालको पर्यटन क्षेत्र उठ्नै नसक्ने गरी थला पर्‍यो । राजनीतिक, सामाजिक, न्यायिक र आर्थिक क्षेत्र तहसनहस बनाइयो । यसले पर्यटन व्यवसायलाई पछाडि धकेलिदियो । पर्यटकका लागि माओवादी द्वन्द्व हाउगुजीका रूपमा स्थापित गरियो । पर्यटकसँग चन्दा असुली, चन्दा नदिए ज्यान मार्ने र गोरो छाला देख्नेबित्तिकै साम्राज्यवादी अमेरिकाको दलाल घोषणा गर्ने कार्यहरू माओवादीले गरे । त्यसताका अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रतिबन्ध लगायो । पछि उक्त प्रतिबन्ध हटाएर पनि त्यसको तुष अहिले पनि रहिरहेको छ । अहिले उक्त माओवादी पार्टी भारत र अमेरिकाकै सल्लाहमा नेपालमा सरकार चलाइरहेको छ । तापनि त्यसताकाको डर र त्रास पर्यटकको मनबाट हटेको पाइँदैन । नेपाल भ्रमणमा आउन चाहनेहरूको मनबाट डर त्रास हटाउँदै यहाँ आउन प्रेरित गर्न सरकार नै अग्रसर हुनुपर्ने देखिन्छ । साथै पर्यटन विकासका लागि राजनीतिक स्थिरता, शान्ति सुरक्षा, उपयुक्त व्यवस्थापन र सहज वातावरणको आवश्यकता पर्छ । यो वातावरण तयार गर्ने दायित्व पनि सरकारको हो । आर्थिक क्षेत्रलाई सम्पन्न बनाउने हो भने पर्यटन विकासका क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्छ । यसपछि मात्र नेपालमा लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । अन्यथा कल्पनाको आधारमा गन्तव्य वर्ष र भ्रमण वर्ष घोषणा गरेर मात्र पर्यटक बढाउन सकिँदैन । पर्यटकका लागि उपयुक्त वातावरण र व्यवस्थापन हुनैपर्छ । अन्यथा नेपालमा पर्यटक आकर्षित हुन गाह्रो हुन्छ ।

प्रतिक्रिया