पब्लिक फाइनान्सका अर्का सञ्चालक पक्राउ

काठमाडौं : अदालतको विभिन्न मितिको फैसला कार्यान्वयन गर्ने सिलसिलामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पब्लिक फाइनान्स कोअपरेटिभ लिमिटेडका सञ्चालक रन्जिप भासुलाई पक्राउ गरेको छ । यसअघि ब्युरोले सरिता श्रेष्ठ, रामनारायण प्रधान, रोशन श्रेष्ठ, प्रताप केसी र रादेशकुमार प्रधानलाई पक्राउ गरी काठमाडौं अदालत बुझाइसकेको छ ।

०५५ सालमा काठमाडौंको कमलादीमा बैंकिङग कारोबार गर्न खोलिएको पब्लिक फाइनान्स को–अपरेटिभ लिमिटेडका सञ्चालक एवं अन्य पदाधिकारीले प्रचलित ब्याजदरभन्दा बढी ब्याज दिने, प्रत्येक निक्षेपकर्तालाई सुनको सिक्का दिनेजस्ता आकर्षक प्रलोभनमा पारी सर्वसाधारणलाई झुक्याई निक्षेप जम्मा गर्न लगाएका थिए । संस्थाले १२ भदौ ०६० देखि संस्था नै बन्द गरी संकलित निक्षेप र ब्याजसमेत गरी दुई करोड ६३ हजार रुपियाँ ठगी गरी फरार रहेका थिए ।
संस्थाका सञ्चालकले संस्थाको नाममा सहकारी ऐनको परिधिबाहिर गई निक्षेपकर्ताको बचत सुरक्षणविना मनपरी ढंगले कृत्रिम व्यक्ति सिर्जना गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि मात्र राखी, हातको तथा खुट्टाको किर्ते छाप लगाई ऋण प्रवाह गरेको आरोप लगाइएको छ । त्यस्तै, बचतकर्ता तथा संस्थाको नियमविपरीत विनास्वीकृति ‘अजम्बरी माया’ नामको फिल्म ४६ लाखभन्दा बढी लागतमा निर्माण गरेको तथा बिसौँ लाख पर्ने गाडी संस्थाकै नाममा खरिद गरी एक वर्ष नपुग्दै लिलाम बिक्री गरी आफन्तलाई सकार गर्न लगाई रकमको अत्यधिक दुरुपयोग गरेको आरोप लगाइएको छ । पक्राउ परेका सहकारीका सञ्चालकलाई काठमाडौं जिल्ला अदालतले ०६२ साल साउन ३२ मा १३ करोड ३७ लाख ५ सय ४७ हजार रुपियाँ बिगो र एक वर्ष कैद गर्ने फैसला गरे पनि फरार रहेका थिए । त्यस्तै भासुसहित निज व्यक्तिलाई ८१ हजार ४६ रुपियाँ जरिवाना हुनेसमेत फैसला गरेको थियो ।

प्रतिक्रिया