हात्तीदौडमा ‘बहादुरगज’को रोमाञ्चक चुनौती

चितवन, १३  पुस । पर्यटकीय स्थल सौराहामा नवौँ अन्तर्राष्ट्रिय हात्तीदौड प्रतियोगिताको उपाधिका लागि चार घरेलु र दुई विदेशी गरी ६ टोली मैदानमा उत्रिएका छन् । चितवन हात्ती महोसत्वअन्तर्गत बिहीबार भएको सेमिफाइनलबाट ती टोली अगाडि बढेका हुन् । कुल २४ प्रतियोगीको सहभागिता रहेको भए पनि प्रतियोगिताको पहिलो दिन १२ टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । दौडमा दोस्रो चरणमा निर्धारित ३०० मिटर दूरी १ मिनेट ११ सेकेन्डमा पार गदै फेरि एकपटक गत सालको उपाधि विजेता  हात्ती ‘बहादुरगज’ मैदानमा छ ।
‘हामीले सोचेका पनि थिएनौँ,’ प्रतियोगिताका संयोजक ज्ञानेन्द्रकुमार विष्टले भने, ‘धेरै वर्षदेखि प्रतियोगितामा  हात्ती प्रायोजन गरेको होटल बाराहीको प्रतिनिधित्व गर्दै आएको बहादुरगज फेरि आयो । यसले खेलमा निकै रौनक आउनेछ ।’ उता निकुञ्जको ध्रुवे हात्तीको चर्चा सँगै निकुञ्जले नै पालेको बहादुरगजको चर्चा हुने निश्चित छ, संयोजक विष्टको भनाइ थियो ।
बेलायतको कोल्ड फिडको प्रतिनिधित्व गरेको सुरजकली, नेपालको हेराल्ड ट्राभलको प्रतिनिधित्व गरेको विजुलीकली, चितवन राष्ट्रिय निकुञ्जको  प्रतिनिधित्व गरेको एकताकली, बेलायतको हिमालयन इन्काउन्टरको  प्रतिनिधित्व गरेको व्युटीकली र नेपालकै हिमालयन डिस्टिलरीको प्रतिनिधित्व गरेको रानीमायाकली  अगाडि रहेको नतिजा प्रकाशन व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।
यसैगरी, टाँगा दौडतर्फ टाइगर इन्काउन्टरको प्रतिनिधित्व गरेको चाँदनी घोडा, होटल वाइल्ड लाइफ क्यामको प्रतिनिधित्व गरेको लब्ली घोडा , होटल रेन फरेस्टको प्रतिनिधित्व गरेको एन्जल घोडा, हाली लजको प्रतिनिधित्व गरेको लुना घोडा, न्यु थारु कल्चर प्रोग्रामको प्रतिनिधित्व गरेको रेश्मा घोडा र होटल ग्रिन मेन्सनको प्रतिनिधित्व गरेको बसन्ती घोडा फाइनलका लागि भिड्दै छन् ।
यसरी नै गाडा दौडतर्फ होटल रेन फरेस्टको प्रतिनिधित्व गरेका लक्ष्मण भण्डारी, होटल ग्रिन मेन्सनको तर्फबाट जमुना चौधरी, कालिका एफ.एमको तर्फबाट डिमरा महतो ,वाइल्ड रक्स सर्भिसको तर्फबाट पशुपति चौधरी, नेचर सफारी रिसोर्टका तर्फबाट भगवती महतो र चितवनको स्थानीय लोकप्रिय क्रिस्टल टेलिभिजनको प्रतिनिधित्व गरेका लापल तामाङ फाइनलमा प्रवेश गरेका छन् ।
छावा फुटबलमा किस्टको बलियो दाबी
चितवन हात्ती महोत्सव अन्तर्गत बाघमरा मध्यवर्ती सामुदायिक वनको
खुल्ला मैदानमा जारी  हात्तीका छावाबीचको रोमाञ्चकारी  फुटवल प्रतियोगितामा किष्ट बैंक फाइनलमा प्रवेश गरेको छ ।  गत सालको विजेता लायन्स क्लब अफ इन्टरनेसनलविरुद्ध  बिहीबार भएको सेमिफाइनलमा अघिल्लो वर्षको हारको बदला लिँदै लोकतन्त्रकलीले खेलको अन्तिम समयमा गरेको गोलले पुन: एकपटक उपाधिका लागि किष्ट बंैकलाई फाइनल खेलमा प्रवेश गराएको हो ।  किष्ट बैंक दुईका विरुद्ध तीन गोलले विजयी भएको हो ।
खेलको पहिलो हाफमा गुलाफकलीले गरेको आत्मघाती गोलका कारण हाम्रो आशा मरेको थियो, किष्ट बैंकका सौराहा शाखा प्रमुख सञ्जय अधिकारीले भने । दोस्रो हाफमा भने आफ्नो खराब प्रदर्शनलाई सुधार्दै किष्टतर्फबाट खेलेको लोकतन्त्रकलीको दुई गोल र सरस्वतीकलीको कर्नर किकले किष्ट विजयी भएको हो । किष्ट बैंकले अब गौरीशंकर डेभलपमेन्ट बैंकविरुद्ध उपाधि भिडन्त गर्नेछ  । गौरीशंकरले बुधबार रोटरी क्लव अफ इन्टरनेसनललाई पराजित
गरेको थियो ।

प्रतिक्रिया