रंग‍-विविध

घरमा मलाई साहिँला दाइ भन्छन्

सौर्य अनलाइन २०६९ पुष १२ गते ४:०४ मा प्रकाशित

परिवारकी साहिली छोरी म । छोरी भए पनि परिवारका सबैले मलाई छोरा सरह नै लिन्छन् । बुबाले बोलाउँदा साहिला छोरा भनेर बोलाउनु हुन्छ भने भाइबहिनीले साहिलो दाई । मलाई जन्म दिने आमा धेरै अगाडि बित्नु भयो । लगभग २२/२३ वर्ष भयो होला । आमा नभएकोले पनि मलाई परिवारका अन्य सदस्यले छोरा सरह गरेका हुन् । आमाको मृत्यु भए पनि उहाँको चाहना म ठूलो मान्छे होस्, धेरै चर्चा कमाओस् भन्ने थियो । त्यो चाहना पूरा कलाकारिताबाट गर्न सक्छु जस्तो लागेर म कलाकारितामा नै लागेँ । मेरो घरमा आमा नभए पनि बुबा भने हुनुहुन्छ । उहाँ अहिले वृद्ध हुनुभएको छ । घर भित्रको मेरो मुख्य जिम्मेवारी भनेको नै उहाँको स्याहारसुसार गर्नु हो । आमा नभएकोले बुबालाई नै आमाबुबा दुवै ठानेर आफूले गर्नु पर्ने कतव्र्य गरिरहेको छु ।
म अविवाहित भएर पनि होला, मेरो बुबाको सबै भन्दा ठूलो चिन्ता मेरा विवाहको छ । घरमा बुबाले सधैँ मेरो विवाह गरेर मर्ने चाहना भएको सुनाइरहनु हुन्छ । विवाहकै कुरा गर्दा भर्खरको एउटा घटना मलाई याद आयो । त्यो घटना डिसेम्बर २१ सँग सम्बन्धित छ । डिसेम्बर २१ मा पृथ्वी ध्वस्त हुने हल्लाले मेरो बुबालाई पनि त्रसित बनाएछ । त्यसैले उहाँले अचानक मलाई विराटनगर घरमा बोलाएर विवाहको कुरा गर्नुभयो । उहाँलाई मेरो चिन्ता छ भने म पनि कार्यक्रमको सिलसिलामा बाहिर रहनु पर्दा उहाँको चिन्ता गर्छु । कामकै सिलसिलामा बाहिर रहनु पर्दा दु:ख पनि लाग्छ मलाई । कहिलेकाहीँ कलाकारिता नगरेर घरमा नै बसेर बुबाको सेवा गर्ने सोच मनमा पलाउँछ । तर, घरभित्रको कर्तव्यले त्यसो गर्न दिँदैन । घर भित्र म दुई भाईको दिदी पनि हो । आमाको मृत्यु भए पछि बुबाले कान्छी ल्याउनुभयो । त्यो बेला देखि मैले ती भाइहरूको पनि स्याहारसुसार गर्ने गरेको छु ।
परिवारका सबै सदस्य मेरो निर्णय बेगर कुनै काम गर्दैनन् । यो हिसाबले पनि म परिवारको मुली भएको छु । घरभित्रको सबै जिम्मा पनि मेरै हो भने अर्काे दायित्व पनि छ त्यो के हो भने परिवारका सदस्यलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्नु । यी कर्तव्यले पनि मलाई परिवारका अन्य सदस्यभन्दा जिम्मेवार बनाएको छ । त्यसैले म भन्दा साना सदस्यले मलाई साहिली दिदी नभनेर साहिलादाइ भन्छन् ।
म छोरी मान्छे भए पनि चुलो–चौकोका काममा भने अलि पछि छु । किचेनमा गरिने काम मलाई त्यति आउँदैन । आममहिलामा किचेनमा बसेर मीठा परिकार बनाउने सीप हुन्छ । तर, यो सीप ममा छैन । घरभित्र मैले गर्नु पर्ने दायित्व मध्ये घरमा चाहिने सामान सपिङ गर्नु पनि हो । सपिङ गर्न मलाई मन पनि पर्छ । घरभित्र रहेर काम गर्नु भन्दा पनि व्यावहारिक काम आफूलाई मनपर्ने भएकोले परिवारलाई परिकार बनाएर खुवाउने तथा परिकार बनाउन सहयोग गर्ने मैले कहिल्यै गरिन । तर, कहिलेकाहीँ बाध्य भएको बेला काँक्रो, आलु र चाउचाउको परिकार बनाउने गरको छु ।
मेरो ठूलो भाइ बेलायतमा अध्ययन गरिरहेको छ । ऊ उता भए पनि मैले ऊ प्रति गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेको छु । अहिले ऊ तीस बर्षको भइसकेको छ तैपनि मलाई सानै छ जस्तो लागिरहन्छ । त्यसैले भाइको विवाह गर्नुपर्ने कर्तव्य मैले निर्बाह गर्न बाँकी छ । मलाई भाइहरूको चिन्ता भए जस्तै भाइहरूलाई पनि मेरो एक कुराको चिन्ता छ । त्यो हो विवाहको । त्यसैले विदेशमा भएको भाइले पनि मलाई विवाह कहिले गर्ने भनेर सोध्ने गरेको छ । यस कुरामा म केही जवाफ दिन्नँ ती कुरामा । त्यसैले उनीहरू जिस्काउँदै भन्छन् –‘दिदीले विवाह नगरे हाम्रो पालो आउँदैन । दिदीले यसै गर्ने हो भने यो जुनी यत्तिकै बित्छ । विराटनगरमा नै अध्ययन गरिरहेका कान्छो भाइ म सँग डराएर बोल्छ । उसको पढाइ लेखाइको जिम्मा पनि मेरै हो । दुई दिदी र बहिनीको भने विवाह भइसकेको छ । चाडपर्वमा उनीहरू आफ्नो परिवारसहित माइती आउँदा निर्बाह गर्नु पर्ने कर्तव्य पनि मैले निर्वाह गर्नुपर्छ । अहिले काठमाडौंकै बानेश्वरमा ठूलीदिदी र कान्छी बहिनी मसँग नै बस्छन् । उनीहरूको पनि आवश्यकता पूर्ती गर्ने जिम्मा मेरो नै हो ।
प्रस्तुति : विशाल राई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय