आतंकको मारमा निकुञ्ज प्रमुख

जंगली हात्ती ध्रुवे अहिले चर्चाको शिखरमा छ । आमसञ्चारमाध्यममा ध्रुवेको पक्ष र विपक्षमा खबरहरू छाएका छन् । राजनीतिक र संवैधानिक संकटका हिमायती प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग तुलना गर्नेहरू पनि देखिए । तर, मानिस र जंगली जनावर एकै होइन भनेर व्याख्या गर्ने चासो देखाएनन् । यसलाई दुर्भाग्य नै मान्नुपर्छ । ध्रुवेको उद्दण्ड कारण चितवन, बारा, पर्सालगायत जिल्लाका १५ व्यक्तिले ज्यान गुमाउनु पर्‍यो । अहिले आएर चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत झमकबहादुर कार्कीलाई त्यही धु्रवे हात्तीको निहुँमा हटाएर उनको स्थानमा अर्कै व्यक्तिलाई पठाएको खबर आएको छ । धु्रवेले आतंक मच्चाइरहेको अवस्थामा कानुनसम्बन्धी तीनमहिने तालिमका लागि सरकारले काठमाडौं बोलाएको थियो । तर, उक्त कुरा बिर्सिएर धु्रवेलाई आतंक मच्चाउन लगाएर उनी यता आएको जस्तो गरी कार्कीलाई हटाइएको छ । वास्तवमा यो वनमन्त्रालयको अर्को आतंक हो । ध्रुवेको आतंक जनावरको आतंक भएको हुँदा त्यसलाई रोक्न सकिन्छ । तर, त्यही निहुँमा मन्त्रालयले गरेको आतंक भने अनौठो छ । यस्ताखाले आतंकले कर्मचारीको मनोबल तोड्ने काम गर्छ । हात्तीले मच्चाएको आतंकमा मानवीय आतंक मिसिनु हुँदैन, रोकिनुपर्छ ।
चितवन राष्ट्रिय निकुञ्ज वनका कर्मचारीका लागि आकर्षण ठाउँ मानिन्छ । यो ठाउँमा जान थुप्रै व्यक्ति लालायित हुन्छन् । अहिले धु्रवेको निहुँमा कार्कीलाई बलीको बोको बनाउने काम भएको वन मन्त्रालयकै कर्मचारी बताउँछन् । वास्तवमा अहिले कार्कीलाई सरुवा गर्नुपर्ने कुनै कारण छैन । किनभने, कार्कीका कारणले ध्रुवेले आतंक मच्चाएको होइन । यसतर्फ सम्बन्धित पक्षले गम्भीरतापूर्वक सोच्न जरुरी छ । एकातिर जंगली जनावर धु्रवेलाई मृत्युदण्ड दिनुपर्ने आग्रह र अर्कातिर त्यही निहुँमा निकुञ्जका प्रमुख फेर्ने प्रपञ्च आफैँमा विरोधाभाष छ । ऊ मृत्युदण्डको हकदार हुन सक्छ । तर, ध्रुवेलाई मार्दैमा समस्यासमाधान हुने देखिँदैन । यसर्थ, धु्रवेलाई मार्नुपर्ने विचार र निकुञ्जका प्रमुख हटाउने कार्य दुवै गलत छन् । चितवनको चिनारी नै गैँडा र हात्ती हो । गैँडा र हात्तीको महत्त्व चितवनका हकमा विशिष्ट प्रकारको छ । तिनै जनावरका कारण सौराहा लगायतका क्षेत्रमा पर्यटक जाने गरेका हुन् ।
यिनै पर्यटकले गर्दा स्थानीय जनतालाई रोजगारी मिलेको छ, आर्थिक लाभ भएको छ । यो विषय स्थानीयवासी र सरकारले समेत बिर्सन मिल्दैन । धु्रवेलगायत अन्य जनावरको आतंक रोक्न विशेष खालको कार्यक्रम ल्याउन जरुरी छ । जनावर मारेर आतंक रोकिँदैन ।
अहिले आएर धु्रवेको आतंक र कार्कीको सरुवा विशेष चर्चाको विषय बनेका छन् । कार्कीको सरुवा फिर्ता गर्दा गल्ती सचिन्छ भने धु्रवेको आतंक रोक्न दीर्घकालीन सोचको जरुरत पर्छ । मानवीय अतिक्रमणले गर्दा जंगली जनावरको वासस्थान खुम्चिँदै गएको छ । आहार–विहारको क्षेत्र साँघुरिएपछि जनावरहरू आक्रामक बन्नु स्वाभाविक हो । यो अवस्थामा जनावरहरूका लागि उचित व्यवस्था गर्ने दायित्व सरकारको हो । धु्रवेलाई अपराध कर्ममा लाग्न नदिन विशेष खालको व्यवस्था गर्नसक्नुपर्छ । यो एउटा वार्डेनले गरेर हुने कुरा होइन । प्रजननका समयमा हात्ती मात्तिने गर्छन् । उनीहरूलाई त्यसबेला विचरणको फराकिलो क्षेत्र र पोथी हात्तीको जरुरत पर्छ । बास, गाँस र सहवासको उचित व्यवस्था भए हात्तीले नोक्सान गर्दैन । आतंक मच्चाउने हात्तीलाई आतंक मच्चाउनबाट रोक्न सकिन्छ । तर, त्यसका लागि उसलाई आवश्यक पर्ने सबैवस्तु उपलब्ध गरी दिनुपर्छ । धु्रवेलाई मृत्युदण्ड दिनुभन्दा बन्दी बनाएर राख्ने र निकुञ्जका प्रमुख कार्कीलाई उनकै स्थानमा फिर्ता गर्नु नै अहिलेका लागि उपयुक्त काम हुनेछ ।

प्रतिक्रिया