मिडिया क्याम्पिङ मिथ्या आरोप

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिडियाप्रति नकारात्मक धारणा बनाएका छन् । आफूविरुद्ध मिडिया क्याम्पिङ गरेको आरोप पनि लगाएका छन् । हुन पनि आज भोलि सबै सञ्चारमाध्यम प्रधानमन्त्री भट्टराईका विरुद्धमा खनिएका छन् । सबैले एकै स्वरमा सहमतिको बाधकको रूपमा भट्टराईलाई नै औँल्याएका छन् । अहिले नेपाली जनता, प्रतिपक्ष दल, बौद्धिक जगत्, नागरिक समाज, आमसञ्चारमाध्यम र स्वयं उनकै पार्टीका नेतासमेत प्रधानमन्त्रीको व्यवहार प्रति सकारात्मक छैनन् । उनी निर्लज्जतापूर्वक कुर्सीमा टाँसिएको आरोप सबै क्षेत्रबाट लगाइएको छ । रेडियो, टेलिभिजन, पत्र–पत्रिका, लेखरचना र कार्टुनहरूमा समेत सहमतिका बाधकका रूपमा प्रधानमन्त्रीलाई नै देखाइएको छ । यसले एउटा बौद्धिक व्यक्तित्व, मुलुकको प्रधानमन्त्री र अहिलेसम्म प्रशंसा गरिएको व्यक्तिलाई ननिको लाग्नु स्वभाविकै हो । तर, प्रधानमन्त्रीले ती सञ्चारहरू झुठ र कपोलकल्पित हुन् भन्न भने सकेका छैनन । आफूले बोलेका कुरा पत्रकारले बङ्ग्याएको आरोप पनि उनले लगाएका छैनन् । यसले के स्पष्ट गर्छ भने उनको इच्छा सञ्चारमाध्यमले आफ्नो समर्थन गरुन् भन्ने मात्र हो । यस आग्रहलाई अन्यथा लिनु पनि हुँदैन । अब रह्यो कुरा प्रधानमन्त्रीले आफैँ आफ्नो कामको मूल्यांकन गर्ने । यसले मात्र उनी सहमतिको बाधक हुन वा होइनन् भन्ने स्पष्ट पार्छ । यो नै उनी जस्ता विद्वान्का लागि उपयुक्त कसी पनि हो ।
कसैले पनि जोगी हुनका लागि राजनीति गरेको हँुदैन । डा. भट्टराईले पनि जोगी हुन राजनीति गरेको होइन । तर, सत्ता प्राप्तिपछि जुन प्रकारले कुर्सी मोहको पासोमा भट्टराई परे त्यसको कल्पना कसैले गरेको थिएन । बाबुरामप्रति सबैको सद्भाव र शुभकामना थियो । अहिले त्यो अवस्था छैन । उनले जतिसुकै सफाइ दिए पनि जनताले सहमतिको बाधकका रूपमा उनैलाई चिनेका छन् । अहिले पनि आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्दैन, आफूले पद त्याग नगरे वैशाखमा चुनाव हुँदैन र चुनाव नभएमा लोकतन्त्र धरापमा पर्न सक्ने देख्दादेख्दै ढिपी कसेर आफैँ चुनाव गराउँछु भन्नु सहमतिको बाधक बन्नु नै हो । यिनै विषय मिडिया समाचार बन्ने गरेका छन् । वास्तवमा भट्टराईसँग व्यक्तिगत रूपमा सबै मिडिया सकारात्मक छन् । तर, वर्तमान संकटपूर्ण अवस्थाबाट राष्ट्रलाई मुक्त गर्ने सवालमा भट्टराई नै बाधक बनेका विषयलाई भने मिडियाहरूले पत्याएनन् । अर्थात् अहिले मधेसकेन्द्रित सत्तारूढ घटकबाहेक अरू कसैको समर्थन भट्टराईको पक्षमा छैन । विद्वान् प्रधानमन्त्रीले यही विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ ।
प्रधानमन्त्रीले कुर्सीलाई अत्यधिक महत्त्व दिएका छन् । यस कुराको पुष्टि उनले यही सरकारले वैशाखमा चुनाव गराउने भनेर दिएको अभिव्यक्ति नै हो । आफू गान्धी दर्शनबाट प्रभावित नभएको र माक्र्सवादी दर्शनले जस्तालाई तस्तै व्यवहार गर्न सिकाएको बताएर प्रधानमन्त्रीको पदीय गरिमा नै बिर्सिने काम गरे । उनको यो अभिव्यक्ति राष्ट्र र जनताप्रति लक्षित हो भने त्यो साह्रै दु:खद विषय हो । यदि, मिडियाप्रतिकै आक्रोशको अभिव्यक्ति हो भने त्यो पनि ठीक होइन । प्रतिपक्षी हो भने त्यो पनि ठीक होइन । प्रतिपक्षीसँगको आक्रोश हो भने सहमतिको बाधक बन्न दिएको अभिव्यक्ति ठानिने छ । बाबुराम भट्टराई अहिले लडाकुको कमान्डर बन्दै हतियार बोकेर जंगलमा हिँडिरहेको व्यक्ति हो । मुलुकको प्रधानमन्त्री हो । उनी सबैका प्रधानमन्त्री हुन् र त्यो गरिमामय पद हो । ‘जस्तालाई तस्तै व्यवहार गर्ने’ धम्की र ‘मेरो विरुद्ध मिडिया क्याम्पिङ भएको छ भन्नु भन्दा सहमतिका लागि कुर्सी त्याग गर्न सकेको उनको महानता झल्किनेछ । आफू पद छाड्दै नछाड्ने तर आफू सहमतिको बाधक होइन भन्दा कसैले पत्याउँदैन । तसर्थ, मिडियालाई दोष दिनुभन्दा पद त्याग्नै राष्ट्रका लागि डा. भट्टराईले ऐतिहासिक काम ठहरिनेछ ।

प्रतिक्रिया