भट्टराईको विकल्प दाहाल : सत्तारुढ मोर्चा

काठमाडौं, ११ पुस । सत्तारुढ गठबन्धनले नयाँ प्रधानमन्त्रीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अगाडि सार्ने संकेत गरेको छ । गठबन्धन सचिवालयको मंगलबार बसेको बैठकले सरकार गठनमा यसअघि अघिसारेका तीन विकल्पमा पुन: जोड दिँदै दाहाललाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सार्ने संकेत गरेको हो ।

नयाँ निर्वाचन र राजनीतिक निकासबारे दाहालसहित प्रमुख दलका शीर्ष नेताबीच सहमति गरी कांग्रेस सभापति सुशील कोइरालालाई नयाँ प्रधानमन्त्रीमा अघि सार्ने अनौपचारिक सहमति भए पनि मोर्चाभित्र त्यसबारे विवाद उत्पन्न भएपछि मंगलबार मोर्चा सचिवालयको बैठक बसेको थियो । राजनीतिक मुद्दामा सहमति भइसकेको र प्रधानमन्त्री हुने व्यक्तिमा विवाद नगर्ने मोर्चाका समेत अध्यक्ष दाहालले बताउँदै आएका बेला प्रधानमन्त्री बाबुराम भट्टराई र मोर्चाका अन्य दलले त्यसप्रति आपत्ति जनाउँदै आएका थिए ।
प्रतिपक्षी दल कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग गरेको अनौपचारिक सहमतिप्रति भट्टराई र मोर्चा आबद्ध दलले आपत्ति जनाएपछि एमाओवादी अध्यक्ष दाहाल मोर्चाभित्रबाटै प्रधानमन्त्रीको उम्मेदवार खोज्न सहमत भएका हुन् । विपक्षी दलहरूसँग अनौपचारिक सहमति हुनुअघि पनि दाहालले मोर्चाका तर्फबाट नारायणकाजी श्रेष्ठ, महन्थ ठाकुर र विजयकुमार गच्छदारको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।
‘गठबन्धनका तर्फबाट पहिले पनि केही नाम प्रधानमन्त्री हुने व्यक्तिका रूपमा दिइएको थियो,’ दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले सौर्यसँग भने, ‘मोर्चाबाटै भावी सरकारको नेतृत्व हुने टुंगो लागोस्, मोर्चाले दुई घन्टामा प्रधानमन्त्रीको नाम दिन्छ । त्यो प्रचण्डको पनि हुनसक्छ, अरूको पनि हुनसक्छ ।’
दाहालले पार्टी र सत्तारुढ मोर्चाको संस्थागत निर्णयविनै कांग्रेस सभापति कोइरालालाई समर्थन जनाएकाले भट्टराई पक्ष र मोर्चाले दाहालकै नाम अघि सारेको स्रोतको दाबी छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सत्तारुढ मोर्चाले अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नसक्ने बताए ।
‘बाबुरामजीलाई दलितजस्तो व्यवहार गरेर निकास निस्कन सक्दैन । हामीसँग बाबुरामजीको विकल्प छैन भन्ने कुरा होइन,’ मंगलबार रिपोर्टर्स क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘कांग्रेसले निषेधको राजनीति गर्ने हो भने सत्तारुढ गठबन्धनबाटै विकल्प आउँछ, यदि निकास चाहेकै हो भने गठबन्धनले प्रचण्डजीको नाम प्रधानमन्त्रीमा अघि सार्छ ।’
नयाँ सरकार गठनका विषयमा निर्णय लिन मंगलबार मोर्चा सचिवालयको बैठक बसेको थियो । बैठकले भट्टराई नेतृत्वको वर्तमान सरकारलाई नै केही समयका लागि सहमतिको स्वरूप प्रदान गर्ने, सत्तारुढ मोर्चाभित्रबाटै प्रधानमन्त्रीको उम्मेदवार खडा गरी उसैको नाममा सहमति खोज्ने र स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर दलहरूको सक्रिय सहभागिताको मन्त्रिपरिषद् बनाउने तीनवटा विकल्प अघि सारेको छ । यस्तै, नयाँ निर्वाचनको मिति तोक्न बाधाअड्काउ फुकाउमार्फत नभई संसद् पुन:स्थापनामार्फत संविधान संशोधन गर्नुपर्ने निर्णय गठबन्धनले गरेको छ ।
‘केही दिनका लागि मात्रै भए पनि वर्तमान सरकारलाई नै सहमतिको स्वरूप दिने, त्यो नभए सत्तारुढ गठबन्धनबाटै प्रधानमन्त्रीको उम्मेदवार खडा गरेर त्यसका नाममा सहमति जुटाउने र त्यो पनि नभए स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेर राजनीतिक दलहरूको सक्रिय सहभागितामा मन्त्रिपरिषद् बनाउने तीनवटा विकल्प अघि सारेको छ,’ पासवानले सौर्यसँग भने । पासवानले नयाँ निर्वाचनका लागि संवैधानिक अवरोध हटाउन बाधाअड्काउ फुकाउने धारा प्रयोग नगरी संसद्को पुन:स्थापना गर्नुपर्ने निर्णय गठबन्धनले गरेको पनि बताए । सचिवालयले तयार पारेका सरकार गठनका तीन विकल्पबारे मोर्चाको पूर्णबैठक बसेर अन्तिम निर्णय लिइने पासवानले बताए । ‘सचिवालयले तयार गरेका विकल्पबारे मोर्चाको पूर्णबैठक बसेर भोलि नै निर्णय लिइनेछ,’ पासवानले भने ।

प्रतिक्रिया