एपिएफद्वारा भैरहवा पराजित

काठमाडौं : भैरहवाविरुद्धको जितको नतिजालाई निरन्तरता दिँदै सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आइतबार समूहको आफ्नो पहिलो खेलमा एपिएफले भैरहवालाई ८ विकेटले पराजित गर्‍यो । भर्खरै सम्पन्न एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफले भैरहवालाई फाइनलमा सहित दुईपटक पराजित गरेको थियो । आइतबार एपिएफलाई जित दिलाउने क्रममा ब्याटिङतर्फ ज्ञानेन्द्र मल्लले ५६ र सुभाष खकुरेलले ४६ रन बनाए भने बलिङतर्फ वसन्त रेग्मीले चार विकेट लिए । १ सय १० रनको लक्ष्य एपिएफले १४.१ ओभरमा पूरा गर्‍यो ।
आइतबारै भएका अन्य खेलमा क्षेत्र नम्बर ५ नेपालगन्ज, क्षेत्र नम्बर ६ बैतडी र क्षेत्र नम्बर १ विराटनगरले पनि जित हात पारे । नेपालगन्जले क्षेत्र नम्बर ७ जनकपुरधामलाई २३ रनले पराजित गर्‍यो भने क्षेत्र नम्बर ८ पोखराविरुद्ध बैतडी ६ विकेटले विजयी भयो । विराटनगरले भने क्षेत्र नम्बर २ वीरगन्जविरुद्धको खेलमा ५ विकेटले जित हात पार्‍यो । (सौस)

प्रतिक्रिया