पदलोलुप प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद नछाड्ने निर्णय गरेर आफ्नै पार्टीका अध्यक्ष साथै सहयोद्धाहरूलाई समेत चकित बनाए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आठबुँदे अवधारणा पत्रमा प्रतिपक्षी दलहरूले सहमति जनाइसक्दा पनि बाबुरामले पद नत्याग्ने हठ जाहेर गरेपछि सहमति गर्न गाह्रो हुने भएको छ । धेरै अघिदेखि सहमतिका लागि भट्टराईले तयार गरेका बुँदाहरूमै कांग्रेस, एमालेलगायत दलले सहमति जनाएपछि भट्टराई फेरि आफ्नै सरकारलाई सहमतिको राष्ट्रिय सरकार गठन गर्नुपर्ने जिद्दी गर्दै छन् । ‘आफू सहमतिको बाधक नरहेको’ बताउने प्रधानमन्त्रीले कुर्सीबाहेक अरू विषयमा सहमति हुनसक्ने आशय व्यक्त गरेर राजनीतिक संकट अझ लम्ब्याउने खेलमा लागेको अवस्था छ । आफ्नै पार्टी अध्यक्ष र सबै सहयोद्धाले समेत साथ छाड्दै गए पनि पद नछाड्ने बालहठका पछाडि बाबुरामलाई विदेशी आशीर्वादबाहेक अरूको समर्थन देखिँदैन । बारम्बार पत्रकार सम्मेलन गरेर सञ्चारमाध्यमले प्रचार गरेजस्तो आफू हँुदै नभएको र आफू सहमतिका लागि आतुर रहेको बताए पनि अन्तिममा यही सरकारमा सबै आउनुपर्ने धारणा राखेर प्रधानमन्त्रीले सहमति हुन नदिएको कसैबाट लुकेको छैन । वास्तवमा वर्तमान अवस्थामा प्रधानमन्त्री नै राष्ट्र, जनता र सहमतिका विपक्षमा उभिएका छन् । तसर्थ अहिले सहमति उट्पट्याङ नाटक बन्न पुगेको छ ।
आफ्नै पार्टी, प्रतिपक्षी, बौद्धिक जगत्, पत्रकार, कानुन व्यवसायी, सर्वसाधारण, उद्योगपतिलगायत सबै क्षेत्रले प्रधानमन्त्रीले पद त्याग गर्ने अपेक्षा गरेका थिए । तर, त्यस अपेक्षाविपरीत बाबुरामले पद नत्याग्ने स्पष्ट पारे । राजनीतिक संकट र संवैधानिक गतिरोधको पक्षमा देखिएका बाबुरामलाई दक्षिणको आशीर्वाद रहेसम्म कसैले हटाउन नसक्ने विचार पनि बाहिर आएका छन् । र, कतिपयले बाबुरामले पद त्यागेमा दक्षिणी चाहना पूरा नहुने भएकाले उनले राजीनामा नदिने ठोकुवासमेत गरेका छन् । बिप्पादेखि ओरालो लागेको बाबुरामको दौड अहिले अन्तिम बिन्दुमा पुगेको छ । यही अवस्थामा उनी आफूलाई प्रधानमन्त्री बनाउने र टिकाइराख्ने शक्तिसँग गरेको बोलकबोल पूरा गर्न लागेका छन् । त्यो पूरा गरेपछि सायद भट्टराईले राजीनामा दिनेछन् । उनी त्यही काम पूरा गर्न कांग्रेस र एमालेलाई समेत यही सकारमा समावेश गराउन चाहन्छन् । आफ्नो मुलुकको समस्या समाधान गर्ने भन्दा पनि अर्कैको अभीष्ट पूरा गर्न आतुर देखिन्छन् । यही नै सहमतिको बाधक तत्त्व हो ।
एमाओवादी अध्यक्ष दाहालले कांग्रेस र एमालेसँग गरेको आठबुँदे सहमतिलाई भट्टराईले अस्वीकार मात्र गरेनन् सहमति हुन्छ भने आफ्नै नेतृत्वमा हुन्छ अन्यथा यसको आवश्यकता नभएको समेत स्पष्ट पारे । उनी सन्निपातको मदौरोजस्तो सहमतिका लागि बर्बराउँछन् र व्यवहार भने त्यसको विपरीत गर्छन् । यसले के स्पष्ट गर्छ भने उनलाई मुलुकभित्रबाट नभए पनि बाहिरबाट दह्रो समर्थन छ । यस विषयमा नेकपा–माओवादी प्रवक्ता पम्फा भुसालको प्रेस विज्ञप्तिले पनि प्रस्ट पारेको छ । प्रधानमन्त्रीलाई उनकै पार्टीभित्र भारतपरस्त भनेर औँल्याउने गरिएको छ । र, उनको व्यवहारले पनि त्यसको पुष्टि गरेको छ । बाबुरामसँग रिमोर्ट कन्ट्रोलबाट सञ्चालित कठपुतली प्रधानमन्त्री भनेर आरोप लगाउनेहरूलाई खण्डन गर्ने शब्द पनि छैन । अहिले उनी पदमा अडिएर रहने र ‘केही काम’ फत्ते गरेपछि मात्र पद छाड्ने मनस्थितिमा रहेको हुनुपर्छ । भट्टराई राजनीतिक र संवैधानिक संकटप्रति संवेदनशील हुन सक्थे भने यो मुलुक निर्वाचनमा गइसकेको हुने थियो । उनी संकटबाट मुलुकको रक्षा गर्न निर्वाचन गर्ने पक्षमा पनि छैनन् । तसर्थ, बाबुराम हटाउन आन्दोलनलाई अगाडि बढाउनेबाहेक नेपाली जनतासँग अन्य विकल्प देखिँदैन । किनकि समस्या समाधानको बाधक नै प्रधानमन्त्री हुन् ।

प्रतिक्रिया