कुर्सी मोहको पराकाष्ठा

नेपाली राजनीतिको दुर्भाग्य नै मान्नुपर्छ सहमति हुन सकेन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको जिद्दीका कारण सहमति हुन नसक्नु अर्काे दुखद पक्ष हो । सहमतिका लागि राजनीतिक वृत्तमा कोलाहल मच्चिएको छ । दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल, सुशील कोइराला र झलनाथ खनाललगायत सहमतीय राष्ट्रिय सरकार गठन गर्न लचकताका साथ प्रस्तुत भइरहेको अवस्था छ । तर, प्रधानमन्त्री भने पद त्याग्नुभन्दा मुलुकको दुर्दशाको संवाहक बन्न कस्सिएका छन् । उनी अहिले भाषण र छलफलमा आफू सहमतिको बाधक नभएको बताउँदै हुन लागेको सहमति भाँड्न प्रयत्नरत रहेको पाइन्छ । जसले गर्दा उनकै पार्टी एमाओवादी अध्यक्ष दाहालसमेत आजित भएका छन् । अहिले भट्टराई र दाहालबीच एक खालको द्वन्द्व सिर्जना भएको अवस्था छ । मुलुकका लागि यो राम्रो पक्ष होइन । अनेक बहानाबाजी गरेर कुर्सी नछाड्ने भट्टराईको व्यवहारले मुलुकमा दुर्घटना निम्त्याउन सक्छ । यो दुर्घटना रोक्ने दायित्व अहिले अध्यक्ष दाहालको काँधमा आइपुगेको छ । बाबुरामलाई लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिविपरीत जान नदिन दाहालले नै ठोस निर्णय गरेर मुलुकलाई निकास दिनुपर्छ । योभन्दा अन्य उयाय अरू देखिँदैन ।
अध्यक्ष दाहालले प्रधानमन्त्री भट्टराईले अस्वीकार गरे पनि दलहरूबीच भएको अनौपचारिक सहमतिअनुरूप अघि बढ्ने प्रतिबद्धता जनाएर सबैमा सहमतिको आस जगाएका छन् । उनले राजनीतिक निकास र नयाँ सरकारका विषयमा प्याकेजमा भएको सहमति मान्न आफू दृढ रहेको बताएर सहमति हुनेतर्फ संकेत गरेका छन् । यो नै सहमतिका लागि राम्रो संकेत हो । अहिले सहमतिको बाधकका रूपमा प्रधानमन्त्री एक्लै उभिएका देखिन्छन् । देशभित्र उनको पक्षमा कोही छैन । तर, भनिँदै छ– विदेशी प्रभुको आशीर्वाद उनीसँग छ र त्यही आशीर्वाद पाएका कारण सत्ताको आयु अनन्त कालसम्म लम्ब्याउने लोभ उनमा जागृत भएको हो । उनी अहिले पनि शीर्ष नेताहरूबीच भएको सहमतिविरुद्ध अभिव्यक्ति दिँदै अझ केही दिनका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनुपर्ने तर्क गर्दै छन् । जसले गर्दा सहमतिको बाधक प्रधानमन्त्री भट्टराई नै हुन् भन्ने स्पष्ट भएको छ । उनले आफूमात्र संघीयताको हिमायती भएको र प्रचण्डले आफूलाई सत्ताच्युत गराएर संघीयताविरोधी कोइरालालाई प्रधानमन्त्री बनाउन खोजेको आरोप पनि लगाएका छन् । कुनै पनि हालतमा सत्ता नछाड्ने मनस्थिति बनाएका भट्टराई आफ्नै पार्टी अध्यक्ष दाहालले बोलाएको पार्टी पदाधिकारीको बैठक बहिष्कार गरेर आफ्नो अराजनीतिक छविको ‘बालहठ’समेत प्रस्तुत गरिरहेका छन् । उनको यही व्यवहार सहमतिको बाधक बनेको छ ।
एउटा उचाइ प्राप्त गरिसकेका बौद्धिक व्यक्तित्व डा. भट्टराईमा यो हदसम्मको सत्ता लोभ चुलिनु आपैँmमा अनौठो मानिएको छ । उनी किन यति ढिट र असहयोगी बन्दै छन् । यो खोजीको विषय हुन सक्छ । तर, यसका पछाडि विदेशी शक्तिको राम्रै समर्थन रहेकोलाई भने बिर्सन मिल्दैन । उनी नेपाली जनता, राष्ट्र र दलका शीर्ष नेताहरूप्रतिको दायित्व पूरा गर्नेभन्दा पनि अरूकै इच्छाबमोजिम चल्न बाध्य भएको पाइन्छ । यो प्रवृत्तिले मुलुकलाई अझ अप्ठ्यारोतिर धकेल्दै छ । राष्ट्रपतिको आग्रह, दलका शीर्ष नेताहरूको अनुरोध, जनचाहना र राष्ट्रको आवश्यकताविपरीत प्रधानमन्त्री चल्नु राम्रो होइन । सत्तामोहको पराकाष्ठाले भट्टराईलाई त केही नहोला तर राष्ट्रलाई भने घाटा पुर्‍याउँछ । तसर्थ, प्रधानमन्त्री डा. भट्टराईलाई पदच्युत गरेर राजनीतिक र संवैधानिक संकट हटाउन अब ढिला गर्नु हुन्न । यसतर्फ सबैले सोच्नु जरुरी छ । किनकि, एक व्यक्तिका कारण सबैले दु:ख पाउनु हुँदैन । तसर्थ, प्रधानमन्त्रीकै पार्टीका अध्यक्ष दाहालले बाबुरामलाई सत्ताच्युत गरेर सहमतिको राष्ट्रिय सरकार गठन गर्ने अभिभारा लिएर अगाडि बढ्नुपर्छ । यसले मात्र मुलुकलाई निकास दिनेछ ।

प्रतिक्रिया