गठबन्धन भट्टराईकै पक्षमा

काठमाडौं : सत्तारूढ मोर्चा ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै सहमतीय स्वरूप दिनुपर्ने अडान दोहोर्‍याएको छ ।
प्रमुख दल एमाओवादी, कांग्रेस र एमालेका नेताहरू सहमतिको सरकार गठनका लागि सक्रिय रहेका बेला बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले यही सरकारलाई सहमतीय स्वरूप दिनुपर्ने अडान लिएको हो । भट्टराईको नाममा सहमति जुट्न नसके गठबन्धनबाटै प्रधानमन्त्री उम्मेदवार खोज्ने निर्णय बैठकले गरेको छ ।
गठबन्धन भट्टराई सरकारलाई नै सहमतीय स्वरूप दिनुपर्ने यसअघिकै निर्णयमा अडिग रहेको जानकारी प्रवक्ता प्रेमबहादुर सिंहले दिए । ‘कथंकदाचित अहिलेको सरकारले राष्ट्रिय स्वरूप नपाए गठबन्धनबाटै सरकारको नेतृत्व हुनुपर्ने पुरानो निर्णयमा अडिग रहने बैठकको निष्कर्ष हो,’ प्रवक्ता सिंहले भने । दलहरूबीच छलफल चलिरहेकाले थप रणनीति तय गर्न शनिबार गठबन्धनको बैठक बस्ने जानकारी सिंहले दिए । सहमतिको आधार तयार नभई प्रधानमन्त्री डा. भट्टराईले राजीनामा दिन नहुने निष्कर्ष पनि बैठकले निकालेको उनको भनाइ थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी उक्त बैठकमा प्रधानमन्त्रीले चुनावको टुंगो लगाउने, संवैधानिक अंगमा पदाधिकारीको पूर्णता, चुनावमा जाने कानुनी बाटो खोल्ने र अघिल्लो संविधानसभाका सहमतिलाई मान्ने भए मात्रै कांग्रेसलाई चुनावी सरकारको नेतृत्व दिन सकिने बताएका थिए । स्रोतका अनुसार सत्ता साझेदार दल संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले पनि प्रधानमन्त्रीको अडानमा समर्थन जनाएका थिए । मधेसी मोर्चा र अन्य दलका नेताले दलीय सहमति जुटिसकेको प्रसंग बाहिर आएको भन्दै प्रस्ट पार्न एमाओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
एमाओवादी, मधेसी मोर्चा र अन्य दलको आन्तरिक छलफलपछि प्रधानमन्त्री निवासमै बस्ने गरी शनिबार बिहान गठबन्धनको संयुक्त बैठक डाकिएको एमाओवादी प्रवक्ता अग्नि सापकोटाले बताए । (सौस)

प्रतिक्रिया