यथास्थितिमा नछाड्न भट्टराईलाई सुझाव

काठमाडौं, ५ पुस । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले प्रधानमन्त्री बाबुराम भट्टराईलाई यथाअवस्थामा पद नछाड्न सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकले सहमतिका लागि पुनः प्रयास गर्न सुझाव नेतृत्वलाई सुझाव दिएको हो । संविधान, निर्वाचन र अन्य विषयलाई बैठकले प्याकेजमा सहमति गर्न भनेको छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै प्रवक्ता प्रेमबहादुर सिंहले सहमतिका लागि प्रयास गर्न पुनः सुझाव दिएको बताए । उनले भने, ‘यथाअवस्थामा पद नत्याग्न प्रधानमन्त्रीलाई सुझाव दिएका छौं ।’
प्रधानमन्त्री भट्टराई समर्थक दलहरुले यथाअवस्थामा पद छाड्न नहुँने सुझाव दिएको स्रोतको भनाई छ । यद्यपि गठबन्धनका संयोजक समेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निकटका दल र नेताले सहमतिमा मुलुकलाई राजनीतिक निकास दिन सुझाव दिए ।
बैठकमा दुई पक्षबीच आ–आफ्ना अडान कायम भए पछि सहमतिमा मुलुकले निकास पाउनेमा आशा टुटेको एक नेताले जनाए ।
प्रधानमन्त्री भट्टराईलाई हटाएर कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउने विषयमा परामर्श भईरहेका बेला पुनः गठबन्धनले यथाअवस्थामा पद नछाड्न भनेको छ ।
यसैबीच, प्रधानमन्त्री भट्टराईले अध्यक्ष दाहालसँग उनकै निवास लाजिम्पाटमा पुगेर परामर्श गरेका छन् । भेटमा सहमतिको सरकार बनाउन एमाओवादी सक्रिय रहेको भन्ने समाचारहरुका बारेमा जानकारी लिएको स्रोतले जनाएको छ ।
पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक मंगलबार बहिष्कार गरेका भट्टराई आज विहानै लाजिम्पाट पुगेर दाहालसँग समग्र विषयमा छलफल गरेका हुन् ।

प्रतिक्रिया