चितवनवासीको पीडा

चितवन, बारा र पर्सामा गरी एक दर्जन मानिस मार्ने हिंस्रक जंगली हात्ती ‘ध्रुवे’लाई मार्ने निर्णय भयो । धुव्रे हत्यारो सावित भयो । उसले धेरै जनधनको क्षति पुर्‍यायो । त्यस हिंस्रक हात्तीले जसको परिवार मार्‍यो त्यो परिवारको बिचल्ली बनायो र अपूरणीय क्षति पुर्‍यायो । वास्तवमा त्यो बज्रपात बेहोर्न बाध्य परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराएर उनीहरूको जीवनयापनका लागि सरकारले उचित व्यवस्था गरी दिनुपर्छ । मानवीय क्षति भनेको अपूरणीय क्षति हो । यो भन्दा ठूलो क्षति अरू केही हुन सक्दैन । यही ध्रुवे हात्तीको उद्दण्डताका कारण चितवनवासीले ठूलो पीडा भोग्नुपरेको छ । धु्रवेले मानवीय क्षति पुर्‍याएपछि गत मंगलबारदेखि चितवन तनावग्रस्त बनेको थियो । धु्रवेलाई मार्नुपर्ने, मृतकका परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र नारायणगढ–माडी सडक चौडा बनाउनु पर्नेलगायत माग राखेर चितवनमा आन्दोलन भइरहेको थियो । मृतकको लास उठाइएको छैन । त्यहाँको आन्दोलन उत्तेजक र अराजक बन्दै गएपछि प्रशासनले बल प्रयोग गर्नुपर्‍यो । निकुञ्ज प्रशासनले आफ्नो मागलाई बेवास्ता गरेको भन्दै आन्दोलनकारी तोडफोड र आगजनीमा उत्रिए । पक्कै पनि पीडाले मानिसलाई आक्रोशित बनाएको छ । तर, आक्रोशले समाधान होइन, समस्या निम्त्याउँछ । यसतर्फ भने चितवनवासी सतर्क रहन जरुरी छ ।
अहिले हात्ती मार्न एक ट्रक सेना परिचालन गरियो । उद्दण्ड धु्रवेलाई मार्नै पर्ने माग बलवान् बन्दै गएको छ । तर, त्यो जंगली हात्ती मार्दैमा माडीवासीको समस्या समाधान हुने भने देखिँदैन । किनभने त्यही जंगलबाट अर्को धु्रवे जन्मिन सक्छ । त्यो भन्दा ठूलो आतंक मचाउन सक्छ र समस्या फेरि पनि उस्तै रहन सक्छ । तसर्थ, हात्ती मारेर समस्याबाट मुक्ति पाइन्छ भन्ने सोच उपयुक्त नहुन सक्छ । हात्तीको उचित व्यवस्थापन गरेर मात्र चितवनवासीले आफूलाई सुरक्षित पार्नेतर्फ सोच्नुपर्ने देखिन्छ । चितवनको चिनारी नै गैँडा र हात्ती हुन् । यसको आहार–विहार र उचित व्यवस्थापन नहुने हो भने त्यहाँ जंगली जनावर नरहन सक्छन् । त्यसबखत सौराहालगायत क्षेत्रको अस्तित्व मेटिन सक्छ । आर्थिक उपार्जनका क्षेत्र खुम्चिन सक्छन् । यसतर्फ पनि माडीलगायत चितवनवासीले गम्भीरतापूर्वक सोच्नुपर्छ । धु्रवे उद्दण्ड बनेकै हो र यसले अपूरणीय क्षति पुर्‍याएकै हो । कुनै पनि हालतमा यसले छुट दिने खालको काम गरेको छैन । यो अक्षम्य अपराध गर्ने अपराधी नै हो । तर, यो जनावर हो र मानिसले जस्तो सोच्न सक्दैन । यसकारण धु्रवेको संरक्षण र व्यवस्थापन गर्ने दायित्व पनि मानिसको हुन आउँछ । यसतर्फ भने चितवनवासीले सोच्नुपर्छ । हाम्रो मुलुकमा मानिस र जनावर एउटै साँगुरो क्षेत्रमा बसोवास गरेको पाइन्छ । विश्वका कुनै पनि मुलुकमा यति नजिक मानिस र जनावर बसोवास गरेको क्षेत्र छैन । जनावरको क्षेत्रलाई मानवीय अतिक्रमणले नराम्रोसँग प्रभावित पारेको छ । घनाजंगल नजिक मानववस्ती विकास भएका छन् । यसलाई पहिलादेखि नै राज्यले रोक्नु पथ्र्याे, रोकेन । यहीँ कमजोरी रह्यो । जनावरका लागि सीमित क्षेत्र बाँकी छ । जहाँ उसलाई खान, बस्न र विचरण गर्न गाह्रो हुँदै गएको छ । यसैले गर्दा जनावरहरू नजिकैको बस्तीमा पसेर मानवीय क्षति पुर्‍याउँदै छन् । वास्तवमा जनावरको उचित व्यवस्थापन भएन भने समस्या उत्पन्न हुन्छ । यो व्यवस्थापन गर्ने दायित्व सरकारको हो । केही वर्षदेखि नै यस क्षेत्रमा हात्तीले यस्तै आतंक मच्चाउँदै आएका थिए । जब जंगली जनावरले मानवीय क्षति पुर्‍याउँछ तब मात्र आन्दोलन गर्ने र सरकारले पनि त्यसैबेला मात्र तदारुकता देखाउने प्रवृत्ति बढ्दै गएको छ । जनावरबाट स्थानीयलाई मुक्ति दिन अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने कुनै निकाय छैन । हात्ती, गैँडा, बाघजस्ता जनावर संरक्षण र व्यवस्थापन सम्बन्धमा सरकारले झारा टार्ने काम मात्र गरेको छ । अहिले धु्रवेलाई मृत्युदण्ड दिँदैमा चितवनवासीको त्रास सदाकोलागि हट्ने पनि होइन । तसर्थ, सरकारले जनावरबाट मानवीय क्षति हुन नदिन दीर्घकालीन योजना लागू गर्दै जनावरको संरक्षणमा पनि उचित ध्यान दिनुपर्छ । यसले मात्र चितवनवासीलाई जनावरको आक्रमणबाट सधँैका लागि मुक्त गर्नेछ ।

प्रतिक्रिया