भट्टराईद्वारा पार्टी बैठक बहिस्कार

काठमाडौं, ५ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईले अस्वीकार गरे पनि दलहरूबीच भएको अनौपचारिक सहमति अनुरूप अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । व्यवसायी अजय सुमार्गीको नयाँ बानेश्वरस्थित घरमा बुधबार दिउसो भएको तीन दलका शीर्ष नेताहरूको गोप्य बैठकमा दाहालले राजनीतिक निकास र नयाँ सरकारका विषयमा प्याकेजमै भएको सहमति मान्न आफू दृढ रहेको बताए ।

केही दिनअघि दाहालसहित तीन दलका नेताहरूले भट्टराई सरकारको बहिर्गमन र नयाँ निर्वाचनसहित राजनीतिक निकासबारे प्याकेजमै सहमति गरी गतिरोध हटाउने र बैशाखमा नयाँ चुनाव गर्ने भनी गरेको अनौपचारिक सहमतिप्रति प्रधानमन्त्री भट्टराईले आपत्ति जनाउँदै आएका छन् । दाहालसहित तीन दलका नेताबीच संवैधानिक बाधा–अड्काउ फुकाएर चुनाव घोषणा, प्रधानमन्त्रीको बहिर्गमन र नयाँ प्रधानमन्त्रीको नाम एकैदिन सिफरिस समझदारी बनेको थियो । तर, प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रिया टुंग्याएर आफ्नै नेतृत्वको सरकारलाई केही समय सहमतिको स्वरुप दिनु पर्ने अडान राखेका छन् ।

सुमार्गीको घरमा भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीले अप्ठ्यारो सिर्जना गरेर चुनौती दिए पनि आफु सहमतिप्रति प्रतिवद्ध रहेको वताएका थिए । ‘सहमतिको प्रयत्नस्वरुप अनौपचारिक बैठक भएको हो’ एमाले अध्यक्ष झलनाथ खनालले बुधवार सौर्यसँग भने, ‘प्रधानमन्त्री र मधेसी मोर्चा सहमति कार्यान्वयनमा अवरोधक बनेर देखापरे पनि प्रचण्डजी सहमतिकै पक्षमा दृढ देखिनुभएको छ ।’ बैठकमा दलहरुवीच भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री असहयोगी भएको भन्दै उनलाई मनाउने उपायका विषयमा दलका नेताहरुवीच छलफल भएको थियो ।
स्रोतका अनुसार शीर्ष नेताहरुको बैठकमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीले दलहरुवीच राजनीतिक निकासवारे सहमति गरेर अघि बढ्ने दृढ निर्णय गरेको जनाउँदै यसअघि भएको सहमतिवाट पछि नहट्ने जनाएका थिए । ‘सहमति कार्यान्वयन गर्ने र संविधानसभाले यसअघि गरेका कामको जगमा टेकेर निकासमा पुग्न दृढतापूर्वक कदम चाल्ने निर्णय नै गरेका छौं’ दाहालको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘दलहरु मिलेरै मुलुकका चुनौतीको सामना गर्नु पर्छ र बैशाखमा चुनाव गर्नेगरी भएका सहमतिलाई कार्यान्वयन गर्नु पर्छ ।’ दाहाल निवास लाजिम्पाटमा बुधवार बिहान भएको पदाधिकारी बैठकको निर्णयवारे पनि उनले कांग्रेस र एमालेलाई जानकारी गराएका थिए । मुद्दामा सहमति भए ब्यक्तिका पछि लागेर सहमति प्रक्रियालाई रोक्न नहुने एमाओवादीको निश्कर्ष छ ।
शीतलनिवासमा तीन दल
प्रमुख तीन दलका शीर्ष नेताहरु सहमति प्रक्रियामा भएको प्रगतिवारे राष्ट्रपतिलाई ब्रिफिङ गर्न साँझ शीतलनिवास पुगेका थिए । राष्ट्रपतिलाई भेट्न एमाओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष खनाल पुगेका थिए । स्रोतका अनुसार राष्ट्रपतिसँगको भेटमा पनि तीन प्रमुख दलका नेताहरुले दलीय सहमति कार्यान्वयनमा प्रधानमन्त्री वाधक बन्न खोजेको गुनासो गरे । सहमतिका लागि भएका प्रयास र त्यसमा उत्पन्न भएका ब्यवधानवारे उनीहरुले राष्ट्रपतिलाई अवगत गराएका थिए ।
‘प्रमुख दलका नेताहरुले सहमति प्रक्रियामा भएको प्रग्ति विवरण राष्ट्रपतिलाई सुनाउनु भयो,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सौर्यसँग भने, ‘नेताहरुले सहमति निर्माणमा भएका अप्ठ्याराहरु र उहाँहरुले तयार गर्नु भएका योजनाहरु पनि प्रस्तुत गर्नु भएको छ ।’ राष्टपति यादवलाई उनीहरुले तोकिएको पाँचौं समयसीमा भित्र निकासमा पुगिछाड्ने प्रतिवद्धता पनि जनाएका थिए । ‘दलहरुवीचको संवाद सकारात्मक रुपवाटै अघि बढिरहेको छ, तोकिएको समय भित्रै सहमतिमा पुग्छौं भन्नु भएको छ’ दाहालले भने, ‘सहमतिमा भएको सकारात्मक विकासप्रति राष्ट्रपतिले खुशी ब्यक्त गर्नु भएको छ ।’
स्रोतका अनुसार राष्ट्रपतिसँग भएको भेटमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी भित्रको अप्ठ्यारोका विषयमा पनि कुरा राखेका थिए । केही दिनअघि नै सहमतिमा पुगिसकिएको तर, त्यसको कार्यान्वयनका लागि पार्टी भित्र केही समस्या आएको दाहालले वताएका थिए । आइतवार एमाओवादी अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलावीच राजनीतिक निकास र प्रधानमन्त्रीको नाम सिफरिस गर्ने वारे अनौपचारिक सहमति भएको थियो । प्रधानमन्त्रीको बहिर्गमन कि राजनीतिक सहमति पहिले भन्ने विवादमा अल्झिएका प्रमुख दलले दुवै पक्षको जित हुनेगरी एकै पटक प्याकेजमै समाधान खोज्ने अनौपचारिक सहमति गरेका थिए । तर, प्रधानमन्त्री भट्टराईले त्यसलाई अस्वीकार गरेपछि सहमतिले औपचारिकता लिनेमा प्रश्न उठेको थियो ।

प्रतिक्रिया