दैलेखमा झण्डै दुई सय कर्मचारी छड्केमा

दैलेख, ३ पुस । दैलेख जिल्लाका सरकारी कार्यालयमा आज भएको निरीक्षणमा १ सय ५७ कर्मचारी छड्केमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालयले गरेको छड्के निरीक्षणमा अधिकांश कार्यालयका कर्मचारी कार्यालय समयमा उपस्थित थिएनन् । कार्यालयका प्र्रमुख सहित १ सय ५७ कर्मचारी कार्यालयमा कुनै जानकारी विना बाहिर गएको प्रशासनले जनाएको छ । छड्के पर्नेमा सेकेण्डकलास अधिकृत समेत छन् ।
जनताको स्वास्थ्यसँग प्र्रत्यक्ष सरोकार राख्ने जिल्ला स्वास्थ्य कार्यालयमा ५७ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेका छन् ।
कर्मचारीहरु कार्यालयमा उपस्थित नभएको जनगुनासो धेरै आएपछि १८ वटा सरकारी कार्यालयमा छड्के जाँच गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
शिक्षा कार्यालयमा ४ अधिकृत सहित ११, विद्युत प्राधिकरणमा १ अधिकृत सहित ११, जिल्ला विकास समितिमा ३ अधिकृत सहित ७ कर्मचारी, जिल्ला प्राविधिक कार्यालयमा १ अधिकृत सहित १५, नारायण नगरपालिकामा १ अधिकृत सहित ३ जना कर्मचारी छड्केमा परेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले कार्यालयमा फेला नपरेका कर्मचारीको हाजिरमा रातो साईन गरेको उल्लेख गरे ।
छड्केका क्रममा कुनै जानकारी विना कार्यालयमा नभएका कर्मचारीलाई कारबाही गर्न सम्बन्धित कार्यालयमा पत्राचार गरेको उनको भनाई छ ।
छड्के निरीक्षणमा प्रमुख जिल्ला अधिकारी ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भक्तबहादुर कार्कीसहितको टोली गएको थियो ।

प्रतिक्रिया