घर भत्काउनु अगावै सोचौँ

जनसंख्याको वृद्धिसँगै सहरी क्षेत्रमा मानव चाप ह्वात्तै बढेको छ । द्वन्द्वकालमा सुरक्षा खोज्दै आएका र कामको खोजीमा सहर पसेकाहरूले पनि सदरमुकाम छाड्न चाहेनन् । राजधानीलगायत उपत्यकाका अन्य सहरमा अव्यवस्थित बसोबास बढ्दै गयो । जसले गर्दा मापदण्डविपरीत संरचनाहरू थपिदै गए । अहिले अनुमान गर्दा राजधानी काठमाडौंमा मात्र एकतिहाइभन्दा बढी घर मापदण्डविपरीत निर्माण भएको पाइएको छ । संरचना निर्माण गर्दा ठूलो लगानी भए पनि यसले सहरलाई कुरूप बनाउँदै विभिन्न खाले समस्या निम्त्याउँछ । यस्ता संरचनाहरू निर्माण गर्नुभन्दा अगावै सम्बन्धित पक्षलाई जानकारी दिनु पर्ने थियो । तर, सचेतनामूलक कार्यक्रम गरिएन । जसले गर्दा अव्यवस्थित र मापदण्डविपरीत घरहरू निर्माण भए । राजधानी सहरमा बनेका मापदण्डविपरीतका घर भत्काउने सरकारले अन्तिम तयारी गरेको विषय भर्खर खुल्न आएको छ । सरकारले गर्न लागेको यो राम्रो काम हँुदा हुँदै पनि सर्वसाधारण घरधनीले निकै ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउँछ । कतिपय सुकुम्बासी बन्ने र सर्वस्व गुमाउने अवस्थामा पुग्न सक्छन् । यसतर्फ सरकार सचेत हुन जरुरी छ ।
सरकारले सहरी विकास महाशाखा र काठमाडौं महानगरपालिकाको सहयोगमा मापदण्डविपरीत बनेका घर भत्काउने योजना बनाए पनि त्यो योजना पूरा हुनेमा भने शंका गर्ने ठाउँ छ । किनकि अधिकांश घर नक्सा पास गराएरै निर्माण गरिएका छन् । कर्मचारीको मिलेमतोमा नियमविपरीत नक्सा पास गर्ने र अतिरिक्त आम्दानी गर्ने कर्मचारीलाई के कस्तो कारबाही गर्ने भन्ने पनि प्रश्न उठ्छ । यसले अरू जटिलता निम्त्याउँदैन भन्न सकिँदैन । जे होस् सहर सुन्दर, शान्त र सफा बनाउन पनि मापदण्ड लागू गर्नुपर्छ । यसमा कसैको दुईमत रहँदैन । तर, सर्वसाधारणको घर भत्काउनुभन्दा अघि सम्बन्धित निकायले गम्भीरतापूर्वक सोचेर ‘सर्प पनि मर्ने, लाठी पनि नभाँचिने’ नीति अवलम्बन गर्न जरुरी छ । सरकारी तथ्यांकअनुसार नक्सा पास नभएका र मापदण्ड मिचेर बनाइएका घर काठमाडौंमा एक तिहाइभन्दा बढी छन् । धेरै घरको छत वा बार्दली भत्काउनुपर्ने अनुमान पनि सम्बन्धित पक्षले गरेको छ । एक दुई तलाको नक्सा पास गरेर धेरै तला बनाइएका, विश्वसम्पदा सूचीमा परेका तथा सम्पदा छोपिने गरी निर्माण गरिएका संरचना पनि सरकारले भत्काउने सूचीमा राखेको पाइएको छ । यो काम असल नियतले गर्न खोजिएको भए पनि सम्पन्न हुन सक्ने देखिँदैन । अत्यधिक जनसंख्याको चाप भोगिरहेको काठमाडौं सहर नै मापदण्डविपरीतको संरचनाले भरिएको पाइन्छ । यो सामान्य विषय होइन । तसर्थ कार्य थालनी गर्नुभन्दा अगावै विभिन्न विषयका जटिल पक्षहरू केलाउन जरुरी छ ।
सहर सुन्दर, शान्त र सफा हुन सहरमा बसोवास गर्ने प्रत्येक नागरिक सचेत हुन जरुरी छ । धेरैजसो घर चेतनाको अभाव वा बाध्यताको दबाबमा निर्माण भएका छन् । द्वन्द्वका कारण आफ्नो सर्वस्व लगाएर सानो घर निर्माण गरेर पनि गुजारा गरिरहेका छन् । यदि, त्यो घर पनि भत्काइ दिने हो भने उनीहरूलाई ठूलो आघात पुग्छ । यसतर्फ पनि सरकारले ध्यान दिनै पर्छ । यसबाहेक सहरी क्षेत्रमा भइ रहेको जनसंख्याको चाप रोक्न ग्रामीण क्षेत्रमा रोजगारी र शान्ति सुरक्षाको ग्यारेन्टी सरकारले गर्नुपर्छ । यसले ग्रामीण क्षेत्रका जनतालाई सहर पस्नबाट रोक्नेछ । नेपाली जनताको सहर पस्नुपर्ने बाध्यतालाई रोक्ने उपायहरू अवलम्बन नगरी घर भत्काउने सरकारी योजना सफल हुन सक्दैन । राम्रो कामको थालनी गर्नुअगावै सबै पक्ष र विषयमा सोच्नुपर्छ ।

प्रतिक्रिया