स्वास्थ्यकर्मी र औषधिको अभाव

जाजरकोट, ३ पुस । जाजरकोटका स्वास्थ्य संस्था स्वास्थ्यकर्मी र औषधिविहीन भएका छन् ।

भौगोलिक विकटताका कारण पदपूर्ति भएका स्वास्थ्यकर्मी सरुवा भएर सुगम जिल्लामा बस्न थालेपछि जिल्लाका स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन भएका हुन् । त्यस्तै, चालु आर्थिक वर्षको बजेटको अख्तियारी अहिलेसम्म नआएकाले औषधिको अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । स्वास्थ्य कार्यालय मातहतका ४५ स्वास्थ्यकर्मीको दरबन्दी लामो समयदेखि रिक्त छ । कार्यालयका अनुसार स्वास्थ्य सहायक ९, अहेव ६, स्टाफ नर्स २, अनमी १३, ग्रामीण स्वास्थ्य कार्यकर्ता १२, रेडियोग्राफर १ र मेडिकल अधिकृत २ गरी ४५ स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन ।
२१ उपस्वास्थ्यचौकी, ११ स्वास्थ्यचौकी, २ प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल भएको जाजरकोटमा स्वास्थ्य संस्था नाम मात्रका छन् । संस्थामा पर्याप्त मात्रमा औषधि र स्वास्थ्यकर्मीको अभावले नाम मात्रको भएको सेवाग्राहीको गुनासो छ । दरबन्दी अनुसारका स्वास्थ्यकर्मी लामो समयदेखि पदपूर्ति नहुँदा उपचारमा समस्या भएको जनस्वास्थ्य प्रमुख डा. विवेककुमार लालले बताए । ‘भौगोलिक विकटताका कारण पदपूर्ति भए पनि तत्काल सरुवा भएर सुगममा जाने गर्नाले बर्सेनि यसरी नै स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन हुने गरेका छन्,’ जनस्वास्थ्य प्रमुख लालले भने, ‘ठूलो संख्यामा स्वास्थ्यकर्मीको पद रिक्त हुँदा उपचारमा समस्या परेको छ ।’ रिक्त दरबन्दीमा पदपूर्तिका लागि सम्बन्धित निकायमा माग गरिएको डा. लालले बताए । यतिबेला स्वास्थ्य संस्थामा औषधिको समेत अभाव छ । सरकारले नि:शुल्क उपलब्ध गराउने औषधि स्वास्थ्यचौकीमा नहुँदा उपचारमा थप समस्या परेको छ । चालु आर्थिक वर्षको बजेट समयमा नआउँदा औषधिको अभाव भएको डा. लालको भनाइ छ ।
सुरक्षित मातृत्व सेवा प्रभावित
जनशक्ति अभावका कारण जिल्ला जनस्वास्थ्य मातहतका विभिन्न प्रसूति केन्द्रमा करारमा नियुक्त गरिएका १२ स्वास्थ्यकर्मीको म्याद नथपिएपछि सुरक्षित सुत्केरी सेवा प्रभावित भएको छ । बजेट नभएको भन्दै मंसिरदेखि १२ प्रसूति केन्द्रका १२ अनमीको म्याद सकिएको हो । उनीहरू सबैको कात्तिक मसान्तमा म्याद सकिएपछि सेवा प्रभावित भएको हो । उनीहरूको म्याद नथपिएपछि कतिपय स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन भएका छन् ।

प्रतिक्रिया