विदेशी नाम फेर्न कलेजको अटेरी

काठमाडौं, २ पुस । विदेशी नामबाट सञ्चालित कलेजले नाम परिवर्तन गर्न अटेर गरेका छन् । तीन महिना लामो म्याद दिइँदा पनि नाम परिवर्तनका लागि एकदमै थोरै कलेजले मात्र निवेदन दिएका छन् । निवेदन दिएका कलेजले पनि विदेशी नाम नभएको जिकिर गरेको पाइएको छ ।

नाम परिवर्तनका लागि दिइएको १ पुससम्मको म्यादमा १४ वटा कलेजले मात्र निवेदन दिएका छन् । निवेदन दिनेमा ७ ‘जिरो प्लस टु’ र ७ वटा क्याम्पस छन् । विदेशी नामका अधिकांश कलेजले विदेशी नाम ब्रान्ड बनिसकेकाले परिवर्तन गर्न नसक्ने भन्दै निवेदन नदिएका हुन् । निवेदन दिएका कलेजले पनि आºनो नाम विदेशी नभएको दाबी गरेका छन् । सरकारले आगामी शैक्षिक सत्रदेखि विदेशी नाम हटाई नेपालीपन झल्कने नाम राख्न निर्देशन दिए पनि थोरै कलेजले मात्र निवेदन दिएका हुन् । जिरो प्लस टुले उच्च माध्यमिक शिक्षा परिषद् र क्याम्पसले त्रिवि योजना महाशाखामा निवेदन दिएका छन् ।
शिक्षा परिषद्ले १० भदौ र कार्यकारी परिषद्ले ५ भदौमा विदेशी नामका कलेज तथा क्याम्पसलाई नेपाली कला, संस्कृति र धार्मिक स्थलको नाम राख्न भन्दै सूचना जारी गरेका थिए । निवेदन दिनेमा ०+२ (स्ट्यान्ड एलोन) कलेजमा पेन्टागन कलेज तीनकुने, ग्रान्ड एकेडेमी लगनखेल ललितपुर, क्यापिटल हिल एकेडेमी टेकु, अक्सफोर्ड कलेज नयाँबजार, अक्सब्रिज कलेज लगनखेल, इन्टरनेसनल कलेज खैरेनी चितवन र क्रिमसन इन्टरनेसनल कलेज शंखमूल रहेको परिषद्का सम्बन्धन महाशाखा प्रमुख देवीप्रसाद बाराकोटीले जानकारी गराए । बाराकोटीका अनुसार निवेदन दिएका केही कलेजले आºनो नाम विदेशी नभएको दाबी गरेका छन् । पेन्टागन कलेजले पेन्टागन भनेको पञ्चभुजा भएकाले विदेशी भन्न नमिल्ने भन्दै निवेदन दिएको छ भने क्यापिटल हिल एकेडेमीले विदेशी नाम हो कि होइन भनेर छुट्याउन माग गरेको छ ।
क्याम्पसतर्फ नेसनल कलेज फर बिजनेस स्टडिज ललितपुर, माउन्ट एभरेस्ट कलेज बारा सिमरा, जोनवाउल कलेज कुमारीपाटी, एसियन इन्टरनेसनल कलेज कीर्तिपुर, मनास्लु नेसनल कलेज नयाँबजार र जिलेट कलेज कालिमाटीले नाम परिवर्तनका लागि निवेदन दिएको त्रिवि योजना महाशाखा प्रमुख प्रल्हादराज पन्तले जानकारी दिए । जसमध्ये नेसनल कलेजले ओजस्वी र माउन्ट कलेजले शुभारम्भ कलेज भनेर नाम परिवर्तन गरेका छन् ।
१ सय ५८ जिरो प्लस टुमध्ये ४० वटा विदेशी नामबाट सञ्चालित छन् । जसमध्ये १९ कलेजले बीचमा इन्टरनेसनल राखेको पाइएको बाराकोटीले जानकारी दिए । ‘नाम परिवर्तनका लागि निवेदन नदिने कलेजलाई बोलाएर छलफल गर्छांै,’ उनले भने, ‘अहिल्यै पेलेर लैजाने कुरा भएन । विस्तारै आउँछन् ।’ उनले इन्टरनेसनल शब्द निर्देशिका जारी हुनेबित्तिकै हटाइने बताए ।
यस्तै, त्रिवितर्फ १ सय ५ क्याम्पस विदेशी नामबाट सञ्चालित छन् । भदौमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले विदेशी तथा अंग्रेजी नामबाट सञ्चालित क्याम्पसको नाम नेपालीपन झल्कनेगरी राख्न मंसिर मसान्तसम्म निवेदन दिन भनेको थियो । योजना महाशाखाका प्रमुख पन्तले अटेरी भएर क्याम्पसले नाम परिवर्तन गर्न नमानेको बताए । ‘यो निवेदन अत्यन्त न्यून मात्रामा हो,’ उनले भने, ‘विदेशी नाम परिवर्तन नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्छौं ।’
शिक्षा नियमावलीमा विदेशी नाम परिवर्तन गरी नेपालीकला, संस्कृति झल्कने नाम राख्ने व्यवस्था छ । विदेशी राष्ट्र, सहर, स्थान क्लब र इन्टरनेसनल नामबाट सञ्चालनमा आएका कलेजलाई नेपाली संस्कृति, नेपालीपन झल्कने नाम राख्न भनिएको छ । परिषद्का प्रवक्ता नारायण कोइरालाले विदेशी नाम भएका कलेजको नाम परिवर्तन गरेरै छाड्ने बताए । उनले विदेशी नाम परिवर्तन गर्न नचाहने कलेजसँग छलफल गरिने बताए । ‘के कारणले नाम परिवर्तन गर्न नचाहेका हुन् । हामी एकपटक बस्छाँै,’ उनले भने, ‘यदि मान्दैनन् भने उच्च शिक्षा ऐनअनुसार कारबाही गर्छौं ।’
उच्च मावि संघ हिसानका अध्यक्ष उमेश श्रेष्ठले कलेजको ब्रान्ड बनिसकेकाले नाम परिवर्तनका लागि निवेदन नदिएको बताएका छन् । धेरै वर्ष सञ्चालन भएका कलेजले एक्कासि नाम परिवर्तन गर्न असम्भव हुने अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘ब्रान्ड बनिसकेपछि अहिले आएर नाम परिवर्तन गर्ने कुरा आउँदैन,’ उनले भने, ‘कस्ता–कस्ताको नाम परिवर्तन गर्न आवश्यक छ । त्यसको अध्ययन हुनुपर्छ ।’ लिटिल एन्जल्सका सञ्चालकसमेत रहेका उनी कलेजको ब्रान्ड मेटिने भएकाले नाम परिवर्तन गर्न असम्भव हुने जिकिर गर्छन् ।
केही दिनअघि एक कार्यक्रममा कलेज सञ्चालकले शिक्षा मन्त्रालयका पदाधिकारीसमक्ष नाम परिवर्तन नगर्ने भनेका थिए । उनीहरूले शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डे, परिषद्का प्रवक्ता कोइराला र त्रिवि योजना महाशाखाका प्रमुख पन्तका अगाडि नै आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको उल्लेख गर्दै नाम परिवर्तन कुनै हालतमा नगर्ने भनेका थिए ।

प्रतिक्रिया