देशभर “साइना” र “कारबाही” भिड्दै

काठमाडौं, २९ मंसिर । गत साता प्रदर्शनमा आएका चलचित्रले आशालाग्दो व्यापारिक संकेत नदेखाए पनि आज शुक्रबार दुई चलचित्र प्रदर्शनमा आउने भएका छन् । ती हुन्– ‘कारबाही’ र ‘साइना’ । कारबाहीका निर्देशक किशोर राना हुन् भने साइना समीर मियाँको निर्देशनमा बनेको हो । पटकपटकक प्रदर्शन मिति सार्दै आएका यी दुवै चलचित्र अब भने देशैभरिबाट प्रदर्शनमा आउन लागेका हुन् ।
कारबाहीमा समाजमा विकृति र विसंगति फैलाउनेलाई मात्र हैन, निमुखा जनताको भविष्यमाथि खेलवाड गर्ने नेताहरूलाई समेत कठघरामा उभ्याएर कारबाही गर्नुपर्छ भन्ने सन्देशलाई विषयवस्तु बनाइएको छ । नारायण मैनालीले निर्माण गरेको चलचित्रमा राजेश हमाल, राज लामा, राजेन्द्र श्रेष्ठ, लोकेन्द्र सापकोटा, सुनील थापा, सम्राट् बस्नेत, दीपा थापा, महिमा सिलवाल, मेरी लिम्बू, सुभाष गजुरेल, विद्या कार्की, मिश्री थापा, सपना श्रेष्ठ, बद्री पुडासैनी, कृष्ण सिवाकोटी, नरेश पौडेल, लक्ष्मण रायमाझी, शक्ति पण्डित आदिको अभिनय रहेको छ । चलचित्रमा राहुल राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, राजेन्द्र श्रेष्ठको संगीत रहेको छ भने प्रदीप श्रेष्ठ र सुनीलकुमार मगरको संयुक्त नृत्यनिर्देशन रहेको छ । समसामयिक कथावस्तुमा चलचित्र निर्माण गरेकाले चलचित्रले सफलता हात पार्नेमा आफू ढुक्क रहेको निर्माता मैनाली बताउँछन् ।
साइना एसपी मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र हो । चलचित्र उद्योगकै कान्छा नायक प्रशान्त गिरीका साथमा खुश्बु खड्का, सलोनी गुरुङ, मदन श्रेष्ठ आदिको अभिनय यस चलचित्रमा विशेष भूमिकामा जीवन थापाले अभिनय गरेका छन् ।


माया–प्रेमका कथालाई चलचित्रको विषयवस्तु बनाइएको छ भने यसलाई सुरज प्रधानले निर्माण गरेका हुन् । पाल्पा, नारायणघाट, लुम्बिनी, काठमाडांैलगायत स्थानमा छायांकन गरिएको यस चलचित्रमा विनोद सापकोटाको छायांकन, रत्न जोशी र सुरेश चौधरीको नृत्य रहेको छ । हेर्नलायक दृश्य थुप्रै रहेको चलचित्र द्वन्द्व दृश्यभन्दा पनि स्पेसल इफेक्ट भरेर आकर्षक बनाइएको निर्देशक समीर मियाले बताए । उनले भने, ‘विभिन्न सिक्वेयन्समा स्पेसल इफेक्ट भरेर हामीले दर्शकलाई उत्कृष्ट चलचित्र दिने प्रयास गरेका छौँ ।’ त्यस्तै, चलचित्रका नायक गिरीले संख्या थोपर्नेभन्दा पनि गुणस्तरीय चलचित्रमा मात्र अभिनयमा जोड दिन थालेकाले यसमा आफूले गरेको अभिनयले दर्शकको मन जित्नसक्ने दाबी गरे ।

प्रतिक्रिया