अफवाहको पछि नकुदौँ

सञ्चारका आधुनिक माध्यमहरूसित परिचय नै नगरीकन बसिरहेको भए बेग्लै कुरा, अन्यथा यदि तपाईंले पत्रपत्रिका, रेडियो, टेलिभिजन र इमेल वा फेसबुकजस्ता अत्याधुनिक सामाजिक सञ्जालसित साइनो गाँस्नुभएको छ भने पक्कै पनि सुन्नुभएकै हुनुपर्छ हिजोआजको चर्चित विश्वप्रसंग, अर्थात्– यही आउँदो डिसेम्बर २१ अर्थात् पुस ६ गते शुक्रबार संसार ध्वस्त हुँदै छ † सुनिएअनुसार त्यही एक दिनमै प्रकृतिको यो सुन्दर रचना, यो अप्रतिम मानवसमाज, यो मनमोहक प्राणीजगत्, यो हरियाली, हेरिरहुँ लाग्ने यी जलाशय र समुद्र अनि नदीनालाहरू, आकाश छुन मस्तक उचालिरहेका ती श्वेत धवलक्रिट र पहाडहरू, प्रकृतिलाई चुनौती दिँदै मानवले विकास गरेका आधुनिक जीवनका तमाम सुखवैभव, वृद्धवृद्धासित रहेका अनुभवका खजाना र अबोध शिशुहरूको तोतेबोली अनि युवायुवतीहरूको प्रेमिल आल्हाद आदि पलभरमै मटियामेट भएर जानेछन् † पृथ्वी फेरि एकपटक त्यहीँ पुग्नेछ, जहाँ उसको अस्तित्व करोडौं वर्षपहिले थियो– फगत धूलिसात र जहाँ ढुंगा, माटो र जलबाहेक थियो त केवल अथाह गर्मी मात्र †
हल्लाका कुराहरू त अहिले मात्र होइन, केही वर्षको अन्तरालमा नियमित रूपमा आउने गरेकै छन् । हल्लाको खेतीले राम्रो बजार पाउने गरेको पनि छ । सन् २००० तिर मध्यपूर्वबाट तेस्रो विश्वयुद्ध हुने चर्को ‘नोम्सट्रयाडम भविष्यवाणी’ ले विश्व तातेको थियो । त्यहीताका तालिबानी आतंकवादीले न्युयोर्कका ‘जुम्ल्याहा भवन’ ध्वस्त पारेपछि अमेरिकी राष्ट्रपति जर्ज बुस प्रशासनले नेटोको सहयोगमा इराकविरुद्ध पूर्ण क्षमतासाथ आक्रमण गरेको थियो, जुन कुराले उल्लिखित भविष्यवाणीको कुरालाई केही मलजल गरेको थियो । तर, भविष्यवाणीअनुरूप केही भएन, तेस्रो विश्वयुद्धको कतै केही नामनिशान सुनिएन । घटना र समयले प्रस्ट पार्‍यो– हल्ला र अफवाह सत्य हुँदैनन् । त्यसैकारण ती हल्ला मात्र हुन्छन् ।
केही वर्षपहिले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भारतसमेत कतिपय ठाउँमा अकस्मात् समुद्री आँधी ‘सुनामी’ आयो र हजारौँ मानिसलाई कालकलवित बनाएर गयो । जापानमा पनि त्यस्तै सुनामी र भुइँचालो नै आएर अरू हजारौँ मानिसले प्राण गुमाए । यो सन्दर्भमा कुनै हल्ला चलेको थिएन । तर, अहिले के समयले साँच्चै समाप्तिको त्यो बाटो समातेकै हो त ? एउटा जिज्ञासा, एउटा प्रश्न र एउटा आशंका सबैतिर छाएको छ । सत्य–तथ्य जे–जस्तो होला तर मानवीय प्रवृत्ति नै के हो भने ऊ हम्मेसी आफ्नो, परिवार र नाता–कुटुम्बको सुरक्षा चाहन्छ । यही भएर पनि हो, विश्व समाप्त हुने अफवाहपूर्ण हल्लाले मानवमनमा अभूतपूर्व त्रासको भावलहरी उत्पन्न गरिदिएको छ । तर, यस अफवाहको धरातल हेर्नेतिर कति मानिसको ध्यान तानिएको होला ? यो चर्चाको जग हेर्नेतिर कतिजनाले समय खर्चेका होलान् ? सायद यसको मन्थन रमाइलै हुन्छ । अमेरिकाका दुई प्राचीनतम सभ्यता –माया र होपी– का पात्रोहरूमा विश्व २१ डिसेम्बर २०१२ मा समाप्त हुने प्रक्षेपण गरिएको मानिएको छ किनभने ती पात्रोमा त्यसपछिको मिति नै छैन । संयोग, यो समय आउनुभन्दा शताब्दियौं अगाडि नै माया सभ्यताका हर्ताकर्ताहरू सबै आफैँ बिलाएर गए, होपी सभ्यताका पोषकहरू गोरा साम्राज्यवादीहरूले उपनिवेश कायम गरेलगत्तै क्रमश: लुप्त हुँदै गए । यसको अर्थ, जुन सभ्यता असमयमा आफैँ हराएर गयो र आफ्नो विनाश आफैँले देख्न सकेनक, त्यसले कसरी सारा संसारको समाप्ति मिति यही एक दिन भनेर निक्र्योल गर्न सक्यो ?
स्वभाववश, मानिसहरू २१ डिसेम्बरका लागि भनेर मनमौजी ढंगले योजनाहरू बुनिरहेका छन् । घरबाट बाहिर ननिस्कने, बच्चाहरूलाई स्कुल नपठाउने, परिवारका सबैजना एकैठाउँ भेला भएर बसिरहने, रमाइलो गर्दै र टिभी हेर्दै अनि साथीहरूसित बसेर दिन बिताउने मनभोग पाकिरहेका छन् । अमेरिकाजस्तो मुलुकमा मानिसहरूले हतियार जम्मा गर्ने र बंकर खन्ने गर्न थालेपछि पहिले अन्तरिक्ष विज्ञानसम्बन्धी संस्था नासाले र पछि स्वयं अमेरिकी सरकारले नै वेबसाइटमा सूचना जारी गर्दै नागरिकहरूलाई नआत्तिन र २१ डिसेम्बरमा विश्वको अस्तित्व समाप्त हुनेछैन भनेर आश्वस्त पार्न खोजेको छ । रुसमा संकटकालीन मामिलासम्बन्धी मन्त्रीले प्रेसविज्ञप्ति जारी गर्दै संसार २१ डिसेम्बरमा समाप्त हुनेछैन भन्ने कुरा आफूलाई पूर्ण विश्वास र ठोस जानकारी भएको सार्वजनिक गरेका छन् । पछि ती मन्त्रीलाई रुसका प्रमुख चिकित्सक, चर्चका शीर्ष पदाधिकारी र सांसदहरूले समर्थन गर्दै वक्तव्य जारी गरेका छन् । अझ एक सांसदले २१ डिसेम्बरमा पृथ्वी ध्वस्त भएन भने २२ डिसेम्बरका दिन अहिले यो अफवाह फिँजाउने व्यक्ति र संस्थाहरूलाई कडा कारबाही गर्नुपर्ने प्रस्ताव गरेका छन् । फ्रान्समा मानिसहरू भागेर ‘बुगाराक’ भन्ने पहाड चढ्न जाने तयारीमा रहेको थाहा पाएपछि सरकारले त्यो पहाडवरिपरि जानै प्रतिबन्ध लगाइदिएको छ । फ्रान्सेलीलाई के विश्वास छ भने पृथ्वी ध्वस्त नै हुन लागे पनि पहाडलाई केही हुँदैन †
वैज्ञानिकहरू भन्छन्, पृथ्वी समाप्त हुने हल्ला विगतमा पनि धेरैपटक आए र त्यसै बिलाएर गए । पृथ्वी उस्तै छ । बरु अहिले यो जाडो याममा पृथ्वी, सूर्य र अन्य केही ग्रह एउटै समानान्तर रेखामा आउनसक्ने स्थिति भने अवश्य छ । यो अवस्थाले भू–उपग्रह र तिनको परिभ्रमणलाई प्रभाव पार्ने, कताकतै भुइँचालो जाने र कमोबेस ज्वालामुखी विस्फोट हुनसक्ने सम्भावनालाई भने नकार्न सकिँदैन । तर, हल्ला त आखिर हल्लै न हो । यो सबै हल्लाको एउटै जवाफ हो– समुद्रमा आगो लाग्यो भने त्यहाँ भएका माछा कहाँ जालान् ? रूखमा चढेर ज्यान जोगाउनेछन् † पृथ्वीको समाप्तिबारे यस्तै तर्कवितर्क र छलफल गर्दै समय बिताए बरु केही बुद्धिविलास हुनेछ ।

प्रतिक्रिया