म्याद थप –४

काठमाडौं, २९  मंसिर । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनका लागि पाँच दिनको समयावधि थप गरेका छन् । प्रमुख चार दलको आग्रहअनुसार राष्ट्रपति यादवले बिहीबार चौथोपटक म्याद थप गरेका हुन् ।
तेस्रोपटक थपिएको समयावधि बुधबार सकिएपछि
राष्ट्रपति यादवले बिहीबार बिहान एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूसित छलफल गरेका थिए । उनीहरूको आग्रहअनुसार म्याद थप गरिएको हो । तेस्रोपटक थपिएको ६ दिनको समय प्रमुख दलहरूले एकपटक पनि औपचारिक छलफल नगरी बिताएका थिए ।
राष्ट्रपति यादवले चौथोपटक थपिएको समयलाई अन्तिम र निर्णायक बनाउन दलहरूलाई आग्रह गरेका छन् । ‘अब यसलाई अन्तिम बनाउनुहोस्, आगामी ५ दिनमा राष्ट्रिय सहमतिको सरकार गठनबारे सहमतिमा पुग्नुहोस्,’ स्रोतका अनुसार राष्ट्रपति यादवले नेताहरूलाई भनेका थिए ।
छलफलका क्रममा राष्ट्रपति यादवले पछिल्लो समय दलहरूबीच भएको वार्ता र सहमतिका प्रयासबारे जिज्ञासा राखेका थिए । सहमतिका लागि पटक–पटक म्याद थपिँदा पनि उपलब्धि नभएकोमा उनले असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।
राष्ट्रपतिसितको छलफलबाट बाहिरिँदै गर्दा नेताहरूले पनि सहमति जुटाउने प्रतिबद्धता गरेका छन् । उनीहरूले प्याकेजमै सहमति हुने विश्वास व्यक्त गरे । ‘थपिएको समयभित्र सहमति जुट्छ, सबैले त्यसमा गम्भीर भएर लाग्नुपर्छ,’ शीतल निवासबाट बाहिरिँदै गर्दा कांग्रेस सभापति सुशील कोइरालाले भने ।
एमाले अध्यक्ष झलनाथ खनालले पनि थपिएको पाँच दिनमा दलहरूबीच सहमति जुट्ने विश्वास व्यक्त गरे । ‘राष्ट्रपतिले थप्नुभएको पाँच दिनको अविधिमा जसरी पनि सहमति जुटाउनुपर्छ,’ छलफलबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष झलनाथ खनालले भने । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राष्ट्रपतिले दिनुभएको समय–सीमाभित्र प्याकेजमै सहमति हुने बताए ।
बुधबार बिहान मात्रै प्रमुख सत्ताधारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति यादवलाई भेटेर केही दिनका लागि समय थप्न आग्रह गरेका थिए । राष्ट्रपतिले भने अरू दलको पनि कुरा सुन्ने र त्यसपछि निर्णय लिने बताएका थिए । त्यसलगत्तै उनले बिहीबार बिहान अन्य दलका नेतालाई समेत शीतलनिवास बोलाएका हुन् ।
यसअघि राष्ट्रपति यादवले ८ मंसिरमा १४ मंसिरको समय–सीमा तोक्दै सहमतिका लागि पहिलो आह्वान गरेका थिए । त्यस अवधिमा सत्ता र प्रतिपक्षमा रहेका दलहरूबीच राष्ट्रपतिको आह्वान संवैधानिक कि असंवैधानिक भन्ने विवादमै बितेको थियो । दलहरू सहमतिमै प्रधानमन्त्री चयन गर्न वैशाखमा नयाँ चुनाव गर्नेमा सैद्धान्तिक सहमतिपछि उनीहरूले राष्ट्रपतिलाई दोस्रोपटक समय–सीमा थप्न आग्रह गरेका थिए ।
राष्ट्रपति यादवले १४ मंसिरमा दोस्रोपटक २१ मंसिरसम्म समय–सीमा थपेका थिए । दोस्रो अवधिमा पनि दलहरू सहमति जुटाउन असफल भएपछि प्रमुख चार दलको बैठकले तेस्रोपटक म्याद थप्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णयअनुरूप २२ मंसिरमा राष्ट्रपति यादवले तेस्रोपटक ६ दिनका लागि म्याद थपेका थिए । संसद् नभएको अवस्थामा अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतिका लागि गरिएको राष्ट्रपतिको आह्वान पटक–पटक असफल भए के गर्ने भन्ने विषयमा संविधानमा प्रस्ट उल्लेख गरिएको छैन ।

प्रतिक्रिया