लिउको रिहाइका लागि आग्रह

बेइजिङ : नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जिया बाओको रिहाइका लागि चीनका लेखक तथा अधिकारवादीहरूले आग्रह गरेका छन् । चीनका वरिष्ठ लेखक, अधिकारवादी एवं वकिलहरूले विगतका केही वर्षयता जेलजीवन बिताइरहेका लिउको रिहाइका लागि बिहीबार आग्रह गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा हालै नियुक्त भएका सी जिनपिङलाई खुला पत्र लेखेर उनीहरूले यस्तो आग्रह गरेका हुन् । लेखक तथा अधिकारवादीहरूले पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।
पत्रमा विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने लिउका लागि आग्रह गरिएका चिनियाँ लेखक मो यानले जानकारी दिए । ‘केही वर्षयता जेलमा राखिएका लिउविरुद्ध लगाइएको आरोप गलत रहेकाले उहाँलाई विनासर्त रिहाइ गरिनुपर्छ ।’ साथै, चिनियाँ जेलमा रहेका अरू पनि राजनीतिक बन्दीलाई रिहा गर्न पत्रमा माग गरिएको छ । चीन सरकारले हालैका दिनमा राजनीतिक सुधारका काम अघि सारेको भन्दै यसको प्रारम्भिक चरणका रूपमा लिउसहित राजबन्दीको रिहाइ गर्न माग गरिएको छ । पत्रमा चीनले विश्वमा शक्तिशाली राष्ट्रका रूपमा आफ्नो स्थान बनाइराख्नका लागि जेलमा रहेका राजनीतिक बन्दीहरूको रिहाइ आवश्यक रहेको बताइएको छ । ‘अहिलेको युगमा पनि राजनीतिक सुधारको माग गरेकै आधारमा नागरिकलाई जेल सजाय दिनेजस्ता कार्यले विश्वको ठूलो एवं शक्तिशाली देश चीनलाई फाइदा गर्दैन,’ पत्रमा भनिएको छ । (एएफपी)

प्रतिक्रिया