जोर्डनका राजा प्यालेस्टाइनमा

रामल्लाह : जोर्डनका राजा अब्दुल्लाह द्वितीय प्यालेस्टाइन पुगेका छन् । प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले राष्ट्रसंघमार्फत प्यालेस्टाइनी राज्यका पक्षमा अन्तर्राष्ट्रिय जनमत जुटाउन सफल भएपछि यसप्रति ऐक्यबद्धता जनाउन उनी बिहीबार प्यालेस्टाइन पुगेका हुन् ।
गत साता राष्ट्रसंघमा भएको निर्वाचनमा राष्ट्रसंघका अधिकांश सदस्यराष्ट्रले प्यालेस्टाइनलाई राज्यको हैसियत दिने प्रस्तावको पक्षमा मतदान गरेका थिए । साथै, विवादित पश्चिम किनार, गाजा र पूर्वी जेरुसेलममा प्यालेस्टाइनको सार्वभौमिकता सुनिश्चित गरिएको थियो । ती क्षेत्रलाई इजरायली सेनाले सन् १९६७ यता कब्जामा लिएको छ ।
राष्ट्रसंघको निर्णयपछि रुष्ट भएको इजरायलले राष्ट्रसंघको निर्णय आफूलाई अमान्य भएको जनाएको थियो । त्यसलगत्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले जेरुसेलम र माले अदुमिमबीच रहेका प्यालेस्टाइनका विभिन्न ठाउँमा यहुदीहरूका लागि आवासीय इकाइ निर्माण गर्ने घोषणा भएको थियो । इजरायली घोषणाको विश्वव्यापी निन्दा भइरहेका बेला प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउन जोर्डनी राजा प्यालेस्टाइन पुगेका हुन् ।
यो राजा अब्दुल्लाहको तेस्रो प्यालेस्टाइन भ्रमण हो । हेलिकोप्टरमा पुगेका उनीप्रति प्यालेस्टाइनी सरकारले सैन्य सम्मान अर्पण गरेको थियो । इजरायलसँग शान्ति सन्धि गर्ने दुई अरब राष्ट्रमध्ये जार्डन एक भएकाले प्यालेस्टाइनका पक्षमा राजा अब्दुल्लाहले देखाएको ऐक्यबद्धतालाई अर्थपूर्ण रूपमा लिइएको छ ।
इजरायल र प्यालेस्टाइनबीच अस्तित्वको लडाइँ जारी छ । मध्यपूर्वमा इजरायलको अस्तित्व स्विकारे प्यालेस्टाइनको अस्तित्व समाप्त हुने र प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए इजरायलको अस्तित्व संकटमा पर्ने जोखिम रहेको विश्लेषण गरिन्छ । प्यालेस्टाइनलगायत अरब जगतका जनताले इजरायलले प्यालेस्टाइनी भूमि कब्जा गरेर प्यालेस्टाइनीलाई धपाएको आरोप लगाउँदै आएका छन् । तर, इजरायलले भने यस्तो आरोप अस्वीकार गर्दै अहिले इजरायल रहेको क्षेत्र हजारौँ वर्षदेखि यहुदीहरूकै भूमि रहेको दाबी गर्दै आएको छ । (एजेन्सी)

प्रतिक्रिया