‘म गठबन्धन भन्दा बाहिर जान्न’

काठमाडौं, २१ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई राजनीतिक निकास दिन प्याकेजमै सहमति गर्नुपर्ने पक्षमा आफू रहेको जानकारी गराएका छन् । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमा दाहालले कांग्रेसलाई यथाअवस्थामा सत्ता हस्तान्तरण गर्न नसकिने जनाएका हुन् । ‘मैले संविधानका आधारभूत विषयलाई प्याकेजमै सहमति गर्न कांग्रेससँग भनेको छु,’ दाहाललाई उदृत गर्दै स्रोतले भन्यो, ‘यथास्थितिमा कांग्रेसले सत्ता पाउँदैन ।’ उनले गठबन्धनका सदस्यहरुलाई सहमतिका लागि आफूले पहल गरिरहेको समेत जानकारी गराए । गठबन्धन सदस्य रुक्मीणि चौधरीले संविधानका आधारभूत विषयमा सहमति गर्नुपर्ने निर्णय गरेको जानकारी दिईन । ‘यथाअवस्थामा प्रधानमन्त्रीले पद छाड्न नहुँने निर्णय भएको छ,’ उनले भनिन्, ‘एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चासँगको छलफलमा प्याकेजमै सहमति खोज्ने निर्णय भएको छ ।’

प्रतिक्रिया