इरानद्वारा अमेरिकी ड्रोन कब्जा

तेहरान : इरानी हवाई क्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गरेको भन्दै इरानले मंगलबार एउटा अमेरिकी ड्रोन कब्जामा लिएको छ । इरानको राज्यनियन्त्रित टेलिभिजनले जनाएअनुसार पर्सिया खाडीमाथिको इरानी आकाशमा प्रवेश गरेपछि अमेरिकी चालविहीन विमानलाई इरानी सेनाले नियन्त्रणमा लिएको हो ।
इरानका नौसैनिक प्रमुख जनरल अली फादभीका अनुसार उक्त ड्रोन अमेरिकी विमानबाहक जाहज (समुद्री बेडा)बाट उडेर इरानी हवाईक्षेत्रमा घुसपैठ गरेको हो । यद्यपि, उनले ड्रोन कब्जामा लिइएको समयलगायत अन्य विवरण भने खुलाएनन् । यदि, उनको भनाइ साँचो हो भने विगत दुई वर्षयता इरानले कब्जामा लिएको यो तेस्रो ड्रोन हो ।
अमेरिकाले इरानी हवाईक्षेत्रको सार्वभौमिकता उल्लंघन गरेको आरोप इरानले लगाउँदै आएको छ । गत महिना राष्ट्रसंघका लागि इरानी राजदुत मोहम्मद खाजेइले राष्ट्रसंघ महासचिव बान कि मुनलाई चिठ्ठी लेखेर इरानी हवाई क्षेत्रमा प्रवेश गरी अमेरिकाले गैरकानुनी र शान्ति भड्काउने काम गरिरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए । (एजेन्सी)

प्रतिक्रिया