बंगलादेशमा आमहडताल

ढाका : बंगलादेशमा मंगलबार भएको आम हडताल नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको छ । बंगलादेशको जहात–इ–इस्लाम पार्टीले देशव्यापी हड्ताल आह्वान गरेको थियो ।
सो दलले देशका उद्योगधन्दा, कलकारखानासहित सम्पूर्ण देश बन्द आह्वान गरेपछि दलका कार्यकर्ता बल प्रयोग गरेर बन्द गराउन सडकमा निस्किएका थिए । सोही क्रममा प्रहरीसँग उनीहरूको झडप भएपछि एक प्रदर्शनकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण थालेपछि प्रहरीले गोली प्रहार गरेको बताइएको छ । तर, प्रदर्शनकारीले भने आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी एक्कासी गोली प्रहार गरेको आरोप लगाएका छन् ।
सन् १९७१ मा भएको बंगलादेश स्वतन्त्रता संग्राममा संलग्न आफ्ना नेताहरूलाई वर्तमान सरकारले युद्धअपराधको आरोपमा कारबाही थालेको भन्दै त्यसको विरोधमा सो दलले हड्ताल आह्वान गरेको हो । बिहानैदेखि बन्द गराउन हिँडेका दलका कार्यकर्ताहरूसँग उत्तरी बंगलादेशको सहर चिरिबन्दरमा प्रहरीको झडप भएको हो । झडपका क्रममा एक १८ वर्षीय युवकलाई टाउकामा गोली लागेको थियो । उपचारका लागि अस्पताल पुर्‍याइएको उनलाई चिकित्सकले मृत घोषित गरेपछि आन्दोलनकारीहरू झनै आक्रोशित बनेका थिए ।
राजधानी ढाकामा पनि सरकारविरुद्ध हिंसात्मक प्रदर्शन हुनसक्ने सम्भावनालाई ध्यानमा राखी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । राजधानी ढाकामा पनि ठूलो संख्यामा भेला भएर प्रदर्शनकारीहरूले प्रदर्शन थालिसकेका छन् । उनीहरूले ढाकामा दुईवटा यात्रुबाहक बसमा आगजनी गरेको बताइएको छ । (एएफपी)

प्रतिक्रिया