भुट्टोकी भतिजी राजनीतिमा

इस्लामावाद : पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यापछि उनको नाममा राजनीति गरेर भुट्टोपति असिफ अलि जर्दारी मुलुकको राष्ट्रपति बनेका थिए । जर्दारीको सिको गर्दै लेखक तथा सामाजिक अभियान्तासमेत रहेकी भुट्टोकी भतिजी फातिमा भुट्टोले पनि अब राजनीति गर्ने भएकी छिन् ।
आगामी आमनिर्वाचनमा फातिमाले पन्जाब प्रान्तबाट उम्मेद्वारी दिने तय भएको उनकी सौतेनी आमाले पुष्टि गरेकी छिन् । बेनजिरका भाइ मुर्तदा भुट्टोकी ३४ वर्षीय छोरी फातिमाले यसअघि राजनीति गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै
आएकी थिइन् ।
पाकिस्तानी अखबारले फातिमाकी सौतेनी आमा घिन्वा भुट्टोलाई उद्धृत गर्दै प्रकाशन गरेको समाचारअनुसार उनले पन्जाबको राहिम यार खान जिल्लास्थित लियाकतपुर सहरबाट उम्मेद्वारी दिनेछिन् । पाकिस्तान पिपल्स पार्टी (साहेद भुट्टो समूह)की प्रमुखसमेत रहेकी घिन्वाले आइतबार आयोजित एक कार्यक्रममा फातिमाले उम्मेद्वारी दिने तय भएको घोषणा गरेकी हुन् ।
फातिमाको उम्मेद्वारीसम्बन्धी समाचारमा अधिकांश सञ्चारमाध्यमले बेनजिर भुट्टो र जुल्फिकार अलि भुट्टोजस्ता पाकिस्तानका पूर्वराजनेताको प्रसंग जोडेका भए पनि उनी पाकिस्तानी राजनीतिमा विद्यमान भुट्टो–जर्दारी परिवारवादकी विरोधी हुन् । साथै, उनी सत्तारुढ पाकिस्तान पिपल्स पार्टीकी कटु आलोचकसमेत हुन् । हत्या गरिएका आफ्ना पिताबारे उनले लेखेको ‘सङ अफ ब्लड एन्ड स्वर्ड’ नामक किताबले उनलाई पाकिस्तानमा विवादित बनाएको थियो । (एजेन्सी)

प्रतिक्रिया