चिनियाँ समुद्रमा हस्तक्षेप गर्न तयार : भारत

नयाँदिल्ली : चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रबीच विवादित ‘साउथ चाइना सी’मा आफ्ना स्वार्थ रक्षा गर्न आफू प्रतिबद्ध रहेको भारतीय सेनाले जनाएको छ । समुद्रमा चिनियाँ नौसेनाले हासिल गरेको तीव्र सैनिकीकरण भारतका लागि चासोको विषय रहेको उल्लेख गर्दै भारतीय नौसेनाले आवश्यक परे सैन्य हस्तक्षेप गरेर भए पनि आफ्ना आर्थिक चासोको सुरक्षा गर्ने चेतावनी दिएको छ ।
सोमबार राजधानी नयाँदिल्लीमा सञ्चारकमीसँग कुरा गर्दै भारतीय नौसेना प्रमुख एडमिरल डिके जोसीले यस्तो भनाइ राखेका हुन् । विवादित ‘साउथ चाइना सी’मा भारतीय संलग्नताको चीनले विरोध गर्दै आएकाले सेनाप्रमुख जोसीको यस्तो कडा भनाइले चीन र भारतबीच विवाद निम्त्याउने अनुमान गरिएको छ ।
‘हाम्रो राष्ट्रिय चासो आबद्ध भएका ठाउँमा यसको सुरक्षाका लागि हस्तक्षेप गर्न पनि हामी पछि पर्दैनौँ,’ विवादित समुद्रमा सैन्य बल पठाउन सकिने संकेत गर्दै जोसीले भने । तर, उक्त समुद्री क्षेत्रमा भारतको नौसैनिक उपस्थिति तीव्र नहुने उनले बताए । यद्यपि, खुला नौपरिवाहन र ‘साउथ चाइना सी’मा रहेका प्राकृतिक स्रोतसाधनको उपयोग भारतको स्वार्थअन्तर्गत रहने उनले प्रस्ट पारे ।
स्मरण रहोस्, गत वर्ष भारतले भियतनामसँग मिलेर ‘साउथ चाइना सी’मा तेल उत्खनन परियोजना सञ्चालन गर्ने निधो गरेपछि चीन चिढिएको थियो । चिनियाँ संवेदनशीलतालाई बेवास्ता गर्दै परियोजना अघि बढाए गैरसैनिक बल पठाएर परियोजना अवरुद्ध गर्ने चेतावनी चीनले आफ्नो मुखपत्रमार्फत दिएपछि भारत पछि हटेको थियो । त्यसपछिका दिनमा भारत र चीनबीच ‘साउथ चाइना सी’सम्बन्धी विवाद साम्य हुँदै गएकामा नौसेनाप्रमुख जोसीको भनाइले विवाद पुन: चुलिने जोखिम बढेको छ । ‘त्यहाँको जलक्षेत्रमा हामी सधैँ बसिरहनुपर्छ भन्ने छैन । तर, जब हाम्रो राष्ट्रिय स्वार्थ त्यहाँ गासिन पुग्छ तब त्यहाँ पुगेर हामीले यसका लागि माहोल तयार पार्नुपर्ने हुन्छ,’ जोसीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।

युद्ध तत्परताको अनुगमन
यसअघि भारतीय सेना प्रमुख विक्रम सिंहले चीनसँगको सीमावर्ती क्षेत्र र उत्तरपूर्वी भारतमा तैनाथ भारतीय सैनिकको सामरिक तत्परतासम्बन्धी अनुगमन गरेका थिए । भारतीय सेनाको पूर्वी आर्मी कमान्डर लेफ्टिनेन्ट जनरल दलवीर सिंह सुहागले आइतबार मुलुकको पूर्वीक्षेत्रमा तैनाथ सैनिकको परिचालकीय तत्परतासम्बन्धमा सेनाप्रमुख सिंहलाई ‘ब्रिफिङ’ गरेको भारतीय रक्ष मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भारतीय सेनाको पूर्वीकमान्डले कोलकातादेखि चीनसँगको भारतको विवादास्पद सीमा क्षेत्र अरुणाचल प्रदेशसम्मको प्रतिरक्षासम्बन्धी मामिला हेर्ने गरेको छ ।
विगत केही समययता भारतले पूर्वीमोर्चामा सैन्य सतर्कता बढाइरहेका बेला सेनाप्रमुख सिंहले गरेको अनुगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ । केही दिनअघि चीनले जारी गर्ने राहदानीमा अंकित चीनको नक्सामा अरुणाचल प्रदेशलाई चिनियाँ भूमिका रूपमा देखाइएको थियो । त्यसलगत्तै भारतीय विदेश मन्त्रालयले चिनियाँ कदमको भत्र्सना गर्दै पश्चिम मोर्चामा रहेको चीन र भारतबीचको विवादित क्षेत्र अक्साइ चीनलाई भारतीय भूमिका रूपमा चित्रण गरिएको नक्सा आफ्नो राहदानीमा राख्ने चेतावनी दिएको थियो । त्यसलगत्तै भारतीय सेनाप्रमुखले चीनसँगको सीमा क्षेत्रमा तैनाथ भारतीय सैनिकको सामरिक तत्परताको स्थलगत अनुगमन गरेका हुन् ।
हाल चीनसँगको सीमा क्षेत्रमा तैनाथ सैनिकको संख्यामा भारतले बढोत्तरी गरिरहेको छ । साथै, ब्राह्मोस सुपरसोनिक क्रुज मिसाइलजस्तो अत्याधुनिक क्षेप्यास्त्र तैनाथ गरी सो क्षेत्रको प्रतिरक्षात्मक क्षमता सुधार्ने दिशामा भारतले काम गरिररहेको छ । (एजेन्सी)

प्रतिक्रिया