बधाई पुष्पा बस्नेतलाई

दुई वर्षको अन्तरालमा फेरि एउटी नेपाली चेलीले मुलुकलाई विश्वसामु चिनाएकी छन् । भर्खर २८ वर्ष उमेर पुगेकी पुष्पा बस्नेतले विश्वमै प्रतिष्ठित मानिने ‘सिएनएन हिरो अफ द इअर २०१२’ उपाधि जितेकी छन् । अमेरिकी टेलिभिजन च्यानल सिएनएनले पछिल्ला केही वर्षदेखि प्रदान गर्न थालेको यो पुरस्कार पाएकी पुष्पा मुलुकभित्र जेलमा रहेका बालबालिकाको स्याहारमा सक्रिय छन् । दुई वर्षअघि २०१० मा चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय ‘माइती नेपाल’ की स्वप्नद्रष्टा अनुराधा कोइराला सिएनएन हिरो भएकी थिइन् । ‘सिएनएन हिरो’ अभियान थालनी भएको यो छैटौं वर्ष हो । यो अवधिमा विश्वभरिबाट १ सय ८० भन्दा बढी ‘नायक’ सिएनएनमा दर्ता भइसकेका छन् । यी ‘असाधारणहरू’को छनोट सिएनएन हिरो वेबसाइटमार्फत ४५ हजार उम्मेदवारमध्येबाट भएको हो । ६ वर्षको छोटो अवधिमा दुई जना नेपालीले यो प्रतिष्ठित उपाधि प्राप्त गर्नु आमनेपालीकै लागि गौरवको विषय हो ।
अमेरिकी महानगर लस एन्जेलसको आलिसान स्थल स्राइन अडिटोरियममा आयोजित भव्य कार्यक्रममा पुष्पाले यो पुरस्कार प्राप्त गरेकी हुन् । उनले यो पुरस्कार पछिल्ला नौ महिनादेखि सिएनएन डट कममा गरिएको अनलाइन भोटिङबाट प्राप्त सबैभन्दा बढी मतका आधारमा पाएकी हुन् । यस क्रममा उनी विश्वभरिबाट छनोटमा परेका अन्य नौ जना ‘असाधारण व्यक्तित्व’ लाई उछिन्न सफल रहिन् । उपाधिसँगै पुष्पालाई २ लाख ५० हजार अमेरिकी डलर र अर्को ५० हजार डलर आफ्नो अभियानका लागि भनेर समग्रमा करिब २ करोड ६४ लाख रुपैयाँ प्राप्त भयो ।
कारागारमा थुनिएकाहरूका केटाकेटीलाई शिक्षा, भोजन, स्वास्थ्यसुविधा र सहज सामाजिक जीवन जिउने अवसर उपलब्ध गराउने लक्ष्यसहित पुष्पाले आफू २१ वर्षकै छँदा सन् २००५ देखि ‘अर्ली चाइल्डहुड डेवलपमेन्ट सेन्टर’ सञ्चालन गर्न थालेकी हुन् । पछि उनले ‘बटरफ्लाई होम’ नामक संस्था पनि खोलिन् । यो एक गैरनाफामुखी सेवामूलक संस्था हो । उनी यो संस्थामार्फत बन्दीका बालबच्चालाई ‘डे केयर’ सुविधा र आवासीय सुविधासमेत उपलब्ध गराउने गर्छिन् । एकपटक जेलमा बन्दी महिला भेट्न गएका बेला त्यहाँ थुनुवाका बच्चाहरूको बेहाल देखेर नवयुवती पुष्पा द्रवित हुन पुगेकी थिइन् र त्यसपछि नै उनले निकट साथी र परिचितहरूबाट करिब ७० हजार रुपैयाँ सहयोग संकलन गरिन् । त्यसैबाट स्याहार केन्द्रको जग ठड्याइन् । युवापनको त्यो सेवाकारी जोस र होस त्यसपछि कहिल्यै पछाडि फर्किएन । अहिले पनि उनी थुनुवाका करिब डेढ सय बालबालिकालाई अनुकरणीय स्याहार उपलब्ध गराइरहेकी छन् । यही मानवसेवी भावनालाई कदर गर्दै यसअघि दक्षिण कोरियाले उनलाई ‘एल्गा युथ अवार्ड २०१२’ प्रदान गरेको थियो । यो पुरस्कार पाउनेमा उनी पहिलो गैरकोरियाली व्यक्ति पनि हुन् ।
नि:सन्देह पुष्पाले प्राप्त गरेको ‘सिएनएन हिरो’ उपाधि ले उनको मात्र होइन, समस्त नेपालीकै गौरव वृद्धि भएको छ । गहिरिएर हेर्दा यो उनको सेवाको कदर मात्र नभएर उनको नाममा अहोरात्र सिएनएन डटकम अनलाइनमा ‘क्लिक’ गर्ने तमाम नेपालीहरूप्रतिको पनि सम्मान हो । यो स्तरको उपाधि पाउनु एकातिर सम्मान, यश र धन प्राप्ति हो भने अर्कातिर गर्दै आइरहेको कार्यको निरन्तरतामा अझ गहन जिम्मेवारी थपिनु पनि हो । मुलुकको दारुण राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक स्थितिबीच पनि समाज र मानवसेवामा आफूलाई दत्तचित्त बनाउन सक्नु प्रशंसनीय हो । चौतर्फी रूपमा अक्षमताका लागि आलोचनाको तारो बन्दै आइरहेका देशका राजनीतिकर्मीहरूले यस्तो सामाजिक चेतबाट केही शिक्षा लिन सके देश र देशवासीको भलो हुने थियो ।
समाजसेवा र राजनीतिमा लाग्नेहरूले फलको इच्छा गर्नु हुँदैन । ‘कर्म गर्दै जाऊ, फलको इच्छा नगर’ भनिएजस्तै हो यो क्षेत्र । कर्म गर्दै जाने हो भने कुनै एक दिन त्यसको फल अवश्य प्राप्त हुन्छ । पहिले अनुराधा कोइराला र अहिले पुष्पा बस्नेत सिएनएन हिरो घोषित हुनुले यही सन्देशलाई साबित गर्दछ । उनलाई हाम्रो बधाई ।

प्रतिक्रिया