सिफारिसभन्दा बढी तोकियो पुस्तकको मूल्य

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकको मूल्य बढाएको छ । केन्द्रले पाठ्यपुस्तक मूल्य निर्धारण समितिले सिफारिस गरेभन्दा ५ प्रतिशत बढी मूल्य बढाएको हो ।
समितिद्वारा प्रस्तावित मूल्यमा पुनरावलोकन गर्दै ५ प्रतिशत बढाइएको केन्द्रका महानिर्देशक दिवाकर ढुंगेलले बताए । महानिर्देशक ढुंगेलका अनुसार प्रस्तावअनुरूप मूल्य तोक्दा घाटा हुने भएकाले ५ प्रतिशत थपिएको हो । नयाँ मूल्यअनुसार प्रतिपेज सादा ९४ रुपियाँ ५ पैसा, डवल कलर एक रुपियाँ १० पैसा र मल्टिकलर एक रुपियाँ ३१ पैसा हुनेछ ।  पाँच हजारभन्दा कम पुस्तक छाप्ने निजी प्रकाशन गृहलाई यो नियम लागू हुनेछ । जनक शिक्षा सामग्री केन्द्रको प्रतिपेज सादा ३५ पैसा, डबल ४० र मल्टिकलर ४५ पैसा मूल्य तोकिएको छ भने पाँच हजारभन्दा बढी छाप्ने प्रकाशनलाई सादा प्रतिपेज ९९ रुपियाँ २५ पैसा, डबल ९९ रुपियाँ ७५ र मल्टिकलर एक रुपियाँ १५ पैसा रहनेछ भने शिक्षा केन्द्रको प्रतिपेज ३२ पैसा, डबल ३६ पैसा र मल्टिकलर ४५ पैसा छ । सामग्री केन्द्रले पहिले प्रतिपेज सादा २७ पैसा र  डबल कलर २६ पैसामा छाप्दै आएको थियो ।
मूल्य बढे पनि अभिभावकलाई असर नपर्ने महानिर्देशक ढुंगेलले बताए । कागज र मसीको मूल्य बढेकाले पुस्तकको भाउ बढाइएको उनको भनाइ छ । केन्द्रका उपनिर्देशक गणेश भट्टराईले मूल्य बढे पनि निश्चित मूल्य तोकेको हुनाले प्रकाशन गृहले मनपरी गर्न नपाउने दाबी गरे ।  उनले पहिलोपटक तोकिएको मूल्यमा केन्द्रको प्रकाशन शैली पुस्तकअनुसार पुस्तक छाप्नुपर्ने व्यवस्था गरिएको बताए । केन्द्रले हेरेका प्रकाशन गृहलाई मूल्य सूची राष्ट्रिय पत्रिकामा प्रकाशन गर्नसमेत भनेको छ । (सौस)

प्रतिक्रिया