करण सिंह फर्केपछि सत्तारूढले भने– अब बाबुराम नै

काठमाडौं, १८ मंसिर । भारतीय कांग्रेस नेता करण सिंहको नेपाल भ्रमणपछि सत्तारूढ दल एमाओवादीले डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको नयाँ सरकार बन्ने र त्यसमा कांग्रेस र एमाले सामेल हुने वातावरण बनेको दाबी गरेको छ । एमाओवादी निर्णयलगत्तै आइतबार नै बसेको सत्तारूढ गठबन्धन बैठकले पनि सहमतिका लागि थप समय–सीमासम्म भट्टराई सरकारकै निरन्तरताका लागि प्रयास गर्ने निर्णय गरेको छ ।
एमाओवादीले वैशाखमा चुनाव गर्नेगरी सरकार गठनका लागि पहलकदमी लिने निर्णय पनि लिएको छ । यसअघि दलहरूबीच सहमति भए तत्काल सरकार छाड्ने र भट्टराईको नेतृत्व विपक्षीले स्वीकार नगरे गठबन्धकै विजय गच्छदार, नारायणकाजी श्रेष्ठ र महन्थ ठाकुरमध्येबाटै सरकारको नेतृत्व गर्ने विकल्प एमाओवादीले अगाडि सारेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षीसँग प्रधानमन्त्रीको नामसमेत मागेका थिए । तर, नेपालमा भारतीय नेता सिंहको राजनीतिक सक्रियतापछि एमाओवादी र सत्तारूढ गठबन्धनले भट्टराईकै नेतृत्वमा सरकार निर्माणको धरातल निर्माण भएको दाबी गर्दै त्यसका लागि सक्रिय हुने निर्णय लिएका छन् ।
‘हाम्रो पार्टीका उपाध्यक्ष कमरेड बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने राजनीतिक धरातल निर्माण हु‘दै गएको छ,’ पार्टी मुख्यालय कोटेश्वरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘ढिलो–चाँडो कांग्रेस र एमाले पनि सरकारमा सामेल हुने वातावरण बन्दै गएको छ ।’
आइतबारै बसेको सत्तारूढ गठबन्धनको बैठकले पनि भट्टराईकै नेतृत्वमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले दोस्रो पटकका लागि दिएको समय–सीमासम्मै भट्टराईकै पक्षमा पहलकदमी गर्ने र त्यसअवधिमा सहमति नभए अर्काे बैठकले निर्णय लिने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बताए । ‘वर्तमान सरकारको निरन्तरता दिनेगरी छलफल थाल्ने र २१ गतेसम्म त्यसका लागि पहलकदमी लिने निर्णय भएको छ,’ सिंहले सौर्यसँग भने, ‘त्यो अवधिसम्म पनि सहमति नभए २२ गते अर्काे बैठकले नयाँ निर्णय गर्नेछ ।’
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि २१ मंसिरसम्म समय–सीमा थप गरेका छन् । थप समय–सीमासम्मै भट्टराई नेतृत्वलाई निरन्तरताका लागि प्रयास गर्ने गठबन्धनको निर्णयले दलहरूबीचको दूरी थप बढेको छ ।
राष्ट्रपतिको आह्वानपछि ९ मंसिरमा शान्ति मन्त्रालयमा भएको तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा एमाओवादी अध्यक्ष दाहालले विपक्षी दललाई प्रधानमन्त्रीको उम्मेदवार तोक्न आग्रह गरेका थिए । सहमतिको सरकार गठन आह्वानको समय–सीमा थपेको दुई दिनपछि एमाओवादीले भट्टराईलाई नै अगाडि सार्ने अडान सार्वजनिक गरेको हो । विपक्षीले भने भट्टराई नेतृत्वलाई ठाडै अस्वीकार गरेका छन् । उनीहरूले भट्टराई मात्र नभई वर्तमान सत्ता गठबन्धनका कुनै पनि दलको नेतृत्वमा सरकार गठन असम्भव भएको बताएका छन् ।
सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गरेपछि आह्वानलाई असंवैधानिक भन्दै आएको एमाओवादीले राष्ट्रपति र प्रधानमन्त्रीबीच राम्रो सम्बन्ध भएको पनि दाबी गरेको छ । राष्ट्रपति सक्रिय हुन खोजेको आरोपसहित मन्त्रिपरिषद् बैठक बसेर प्रधानमन्त्रीले आह्वान असंवैधानिक भएको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । तर, आइतबार एमाओवादी प्रवक्ता सापकोटाले शीतलनिवास र सिंहदरबारबीच सुमधुर सम्बन्ध रहेको दाबी गरे । ‘विपक्षी केही दलले राष्ट्रपतिलाई उचाल्ने प्रयास गरेका हुन्,’ सापकोटाले भने, ‘तर, शीतलनिवास र सिंहदरबारबीच सुमधुर सम्बन्ध छ ।’
भारतीय नेता सिंहको राजनीतिक भेटघाट सकिएपछि आइतबार बिहान बसेको एमाओवादी केन्द्रीय सचिवालयको बैठकले वैशाखमा चुनाव गर्नेगरी सहमतिको सरकार गठन गर्न पहलकदमी लिने निर्णयसमेत गरेको छ । ‘वैशाखमा चुनाव गर्नेगरी सहमतिको सरकार गठन गर्न पहलकदमी लिने निर्णय भएको छ,’ सापकोटाले भने । राष्ट्रपतिले सहमतिमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरूलाई आह्वान गरेको दोस्रो समय–सीमा सकिन तीन दिन बाँकी रहँदा एमाओवादीले भट्टराईकै नेतृत्वमा सरकार गठनको प्रवल सम्भावना रहेको निष्कर्ष निकालेको हो ।
भट्टराईको विकल्पमा पनि नेतृत्व खोज्न सहमत भएको र चुनावलगायत विषयमा सहमतिको खाका अगाडि ल्याए कांग्रेस नेतृत्वमा पनि सरकार गठन गर्न सहमत देखिएको एमाओवादीले भारतीय नेता सिंहको नेपाल बसाइपछि भट्टराई नेतृत्वकै सरकार गठनमा जोड दिएको हो । सिंहले वैशाखमा चुनाव गर्नेगरी सहमति खोज्न र सरकार गठन गर्न दलका नेताहरूलाई सुझाव दिएका थिए । सिंहसँगको भेटलगत्तै प्रधानमन्त्रीले पनि आफ्नो नेतृत्वमै सरकार गठनको पहलस्वरूप भेटघाट अघि बढाएका छन् । शनिबारै प्रधानमन्त्री एमाले वरिष्ठ नेता केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका थिए ।
ओलीसँगको भेटमा पनि भट्टराईले वैशाखभित्र चुनाव गर्नेगरी सहमति जुटाइदिन आग्रह गरेका थिए । ओलीले भने सरकारको नेतृत्वबाहेक अरू कुरामा सहमति गरौँ भनेर अल्मलिनुको औचित्य नभएको जवाफ दिएका थिए ।

प्रतिक्रिया