नेता तामाङको अन्त्येष्टि

काठमाडौं, १८ मंसिर । कांग्रेस नेता भीमबहादुर तामाङको आइतबार अन्तिम संस्कार गरिएको छ । शनिबार निधन भएका सादगी नेता तामाङको आइतबार बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिएको हो । सिद्धान्तनिष्ठ, इमानदार र त्यागी नेताका रूपमा चिनिएका तामाङलाई सरकारी सम्मानस्वरूप सलामी अर्पण गरिएको थियो ।
शनिबार बिहान ७८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएका तामाङको पार्थिव शरीर ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । मर्निङवाकबाट फर्किएपछि अकस्मात् बिरामी परेका तामाङको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लैजाँदै गर्दा निधन भएको थियो । शनिबार उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लगिएको थियो ।
आइतबार उनको शवयात्रा निकाल्नुअघि कांग्रेस सभापति सुशील कोइरालाले तामाङलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । पार्टी कार्यालयबाट शवयात्रासहित तामाङको पार्थिव शरीर स्वयम्भू पुर्‍याइएको थियो । उनको शवयात्रामा सयौँ सर्वसाधारण तथा कार्यकर्ता सहभागी भएका थिए । नेता तामाङलाई छोरा दीपकले दागबत्ती दिएका थिए ।
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सानेपा पुगेर नेता तामाङलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । अध्यक्ष दाहालले शोकपुस्तिकामा नेता तामाङको सरल र आदर्शवादी व्यक्तित्वका विषयमा लेखेका थिए । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिव देव गुरुङलगायतले पनि तामाङलाई श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया