तातेको गङनम स्टाइल

तपाईंसँग फेसबुक या ट्विटर एकाउन्ट छ भने सायद ‘गङनम स्टाइल’का बारेमा थाहा पाउनुभएकै होला । अझ यू ट्युब भिजिट गर्नेले त गङनम स्टाइलको भिडियो हेरेकै हुनुपर्दछ । यद्यपि, सामाजिक सञ्जाल नहुनेका लागि भने ‘भाइरल भिडियो’का रूपमा हिट भइरहेको ‘गङनम स्टाइल’ नौलो लाग्न सक्छ । विश्व संगीत बजारमा चर्चाको शिखरमा पुगेको सो भिडियो पृथक् शैलीको लाग्छ ।
‘गङनम स्टाइल’ एक नृत्य–गीत हो, जसको लेखन र प्रस्तुति कोरियन कलाकार पार्क जइ सुङ (मनोचिकित्सक) ले गरेका हुन् । गङनम स्टाइल कोरियाको एउटा चर्चा बटुल्दो र त्यहाँको प्रचलित शब्द हो, जसले दक्षिण कोरियाको सिओलस्थित गङनम जिल्लाका धनाढ्य व्यक्तिहरू बस्ने क्षेत्रलाई संकेत गर्दछ । अगस्ट २०१२ मा यस गीतको म्युजिक भिडियोले ‘भाइरल’ को रूप लियो । र, एकाएक सामाजिक सञ्जालदेखि इन्टरनेट जालोमा यसको सेयरिङ ह्वात्तै बढ्यो । त्यसबाहेक यस गीतले एउटा ठूलै सांस्कृतिक जालो फैलायो । लोकप्रियतासँगै विभिन्न टेलिभिजन कार्यक्रम, सांस्कृतिक कार्यक्रम, खेलकुद समारोह, प्रविधिजगत् आदिसँग सहकार्य गर्ने अवसर पायो । अब ‘गङनम स्टाइल’ साजिद नादियवाला निर्देशित हिन्दी फिल्म ‘किक’ मा फिचर हुने लगभग पक्का नै भएको छ ।
विश्वका प्रसिद्ध राजनीतिक हस्तीहरूसँग पनि यस म्युजिक भिडियोले कुनै न कुनै रूपमा साइनो गाँस्न पुग्यो । सन् २०१२ अक्टोबर ३ मा युएस डिर्पाटमेन्टको ब्रिफिङ कार्यक्रममा प्रवक्ता भिक्टोरिया नुलान्डलाई प्रश्न सोधियो, ‘के तपाईंले गङनम स्टाइल सङ हेर्नुभएको छ ?’ त्यसबेला उनले भनेकी थिइन्, ‘मैले सुनेको त छैन, तर मेरी छोरीले सुनेको हुनुपर्छ, उनी कोरियन पप मन पराउँछिन् पनि, र म पनि त्यस भिडियो हेर्ने योजनामा छु ।’  त्यसको केही हप्तालगत्तै उनले त्यस भिडियो हेरेर प्रतिक्रिया दिएकी छिन्, ‘भिडियो अति नै फ्यान्ट्यास्टिक रहेछ ।’ त्यस्तै, अक्टोबर ९ मा लन्डनका मेयर बोरिस जोनसनले पनि भिडियोबारे सकारात्मक जवाफ दिएका थिए । अक्टोबर १७ मा अस्ट्रेलियाको प्रतिनिधिसभाका सदस्य जर्ज क्रिस्टिन्सले ‘गङनम स्टाइल’मा आफूलाई प्रस्तुत नै गरे । न्युज एजेन्सी एएफपीसँगको कुराकानीमा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले आफूले त्यस भिडियो धेरै पटक हेरेको प्रतिक्रिया दिए । उनले त्यस गीतलाई विश्वशान्तिका लागि दबाबको रूपमा लिए । अमेरिकी तल्लो सदनका जोन लिइविस भोट माग्ने क्रममा हालै ‘गङनम स्टाइल’ मा नाचेका थिए । विभिन्न देशका नेता तथा राजनीतिज्ञहरूका लागि यस म्युजिक भिडियोमा सहभागी भएर जनसमर्थन बटुल्नु सामान्य हुन थालिसकेको छ ।
जुलाई १५, २०१२ मा रिलिज भएको यस गीतले विश्वबजारमा ठूलै धमाका ल्यायो । डिसेम्बर १, २०१२ सम्म आइपुग्दा सो म्युजिक भिडियो यू ट्युबमा हेर्नेको संख्या ८६१ मिलियन लाघेको छ । र, यो भिडियो नै यू ट्युबमा सबैभन्दा बढी पटक हेरिएको भिडियो बन्न सफल भएको छ । त्यसबाहेक यस भिडियोले यू ट्युबमा सर्वाधिक संख्यामा ‘लाइक’ पाएर विश्व कीर्तिमान नै कायम गरेको छ ।
‘गङनम स्टाइल’ गीतको नृत्यलाई हँसिमजाक गर्ने ठाउँमा सबैले उपयोग गर्ने गर्दछन् । भिडियोमा देखाइएको ‘गङनम स्टाइल’को पृथक खाले डान्सले पनि सबैको ध्यान तान्दछ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले पनि सो ‘स्टाइल’मा हात र कम्मर हल्लाइसकेका छन् । अहिले त सो स्टाइल युवादेखि प्रौढसम्म लोकप्रिय भइसकेको छ ।
गीत सर्जकले ‘गङनम’लाई महिलासँग तुलना गरेका छन् । उनले भनेका छन् की, ‘तिनीहरू दिउँसोमा महान् छन् र रातमा क्रेजी हुन्छन् ।’ गीतको शब्दले भनेको छ कि, ‘म ती महिलाहरूका लागि उचित व्यक्ति हुँ, जसले ती सबै मन पराउँछ ।’  गीतका बारेमा सर्जक मनोचिकित्सक भन्छन्–
‘उत्कृष्ट गर्लफ्रेन्ड त्यो हो जसले कतिबेला आफूलाई बदल्ने र कतिबेला आफूलाई वाइल्ड राख्ने भन्ने बारेमा थाहा पाउँछे ।’ अर्थात् उक्त गीतले जुनसुकै काम पछाडि त्यसको वास्तविक अर्थ हुने कुरा प्रष्ट्याउन खोजेको छ ।
हाल नेपालमा पनि यो गीतको बोल धेरैको मुखमा झुन्डिएको सुन्न पाइन्छ । केही समय अघि मात्र ‘ह्वाई दिस कोलाबरी डी’ ले बजार बेस्सरी तताएको थियो । ‘गङनम स्टाइल’ हिजोआज मंसिरले निम्त्याएका विभिन्न पार्टी, पिकनिक र भोजहरूमा पनि निकै सुन्न पाइन्छ । – सरोज (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया