दक्षिण अफ्रिकाको विशाल लक्ष्य

पर्थ : दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको तेस्रो, अन्तिम एवं निर्णायक टेस्टमा जितका लागि ६ सय ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलको तेस्रो दिन लक्ष्य पछ्याएको अस्ट्रेलियाले दिनको समाप्तिसम्म विनाविकेट क्षति ४० रन जोडेको छ । डेभिड वार्नर २९ र एड कोवान नौ रनमा खेलिरहेका छन् । यसअघि दक्षिण अफ्रिकाले हासिम अमला र एबडी भिलियर्सको शतकीय इनिङपछि दोस्रो इनिङमा सबै विकेट गुमाएर ५ सय ६९ रन जोड्यो । अमला १ सय ९६ र भिलियर्स १ सय ६९ रनमा आउट भए । त्यस्तै, अमला र भिलियर्सबीच चौथो विकेटका लागि १ सय ५१ रनको साझेदारी भयो । १८औँ टेस्ट शतक बनाउँदै सानदार प्रदर्शन गर्ने क्रममा अमलाले  मिचेल जोनसोनद्वारा क्याच एन्ड बोल्ड हुनुअघि २ सय २१ बलको सामना गर्दै २१ चौका प्रहार गरेका थिए ।
यता मिचेल स्टार्कको बलमा विकेटकिपर वाडेद्वारा समातिनुअघि भिलियर्सले १ सय ८४ बल खेल्ने क्रममा २१ चौका र तीन छक्का प्रहार गरे । भिलियर्सले १४औँ टेस्ट शतक बनाएका हुन् । २३०–२ को स्थितिबाट तेस्रो दिनको खेल थालेको पाहुना टोली दक्षिण अफ्रिकाले ज्याक कालिसलाई ३७ रनमा गुमायो भने डिन एल्गार, रोविन पिटरसन र मर्न मर्केल शून्य रनमा आउट भए । बलिङतर्फ अस्ट्रेलियाका स्टार्कले ६ विकेट लिए भने जोनसनको नाममा चार विकेट रह्यो । अमलाले दोस्रो विकेटका लागि ग्राह्म स्मिथसँग १ सय ७८ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियालाई पहिलो इनिङमा १ सय ६३ रनमा समेट्दै दक्षिण अफ्रिकाले ६२ रनको अग्रता लिएको थियो । टेस्ट म्याचको चौथो इनिङमा हालसम्म बनेको सबैभन्दा उच्च योगफल ६ सय ५४ रन हो । सन् १९३९ मा इंग्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध २१८.२ ओभरमा उक्त योगफल तयार गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया